हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा – Nepal Press

हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

काठमाडौं । विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटमा शुक्रबार नेपालले अस्ट्रेलियाको सामना गर्दैछ । समूह ‘बी’ मा यसअघिका सबै खेलमा सतप्रतिशत जित निकालेको अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा निश्चित छ ।

कोरोना भाइरसका कारण प्रभावित बनेको छनोटका खेलहरू अहिले सेन्ट्रल भेन्यू कुवेतको जाबेर अल-अहमद रंगशालामा भइरहेका छन् । जसअनुसार नेपालले भोलि नेपाली समयअनुसार ९:४५ बजे फिफा बरियताको ४१औं स्थानको अस्ट्रेलियाको सामना गर्दैछ ।

यसअघिको खेलमा नेपाल जोर्डनसँग ३-० को नतिजामा पराजित भएको थियो भने अस्ट्रेलियाले चाइनिज ताइपेइविरुद्ध ५-१ को शानदार जित हासिल गरेको थियो । उत्कृष्ट फर्ममा रहेको र विश्वकप खेलिसकेको अस्ट्रेलियाविरुद्ध फिफा बरियताको १७१औं स्थानमा भएको नेपालले नतिजा भन्दा पनि प्रदर्शनका लागि खेल्ने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

संयुक्त छनोटको अन्तिम खेलअघिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालले नतिजाभन्दा पनि राम्रो फुटबल खेल्ने आफ्नो टोलीको लक्ष्य हुने बताए ।

‘नतिजाभन्दा पनि राम्रो खेल खेल्ने नेपालको लक्ष्य छ,’ उनले भने, ‘नेपालले पहिले लामो पासकमा फुटबल खेल्थ्यो, अहिले त्यसमा परिवर्तन भएको छ । हामीले शैलीमा फेरबदल गरेका थियौं, त्यो प्रदर्शनमा देखिँदैछ ।’

खेलमा नतिजा पनि महत्त्वपूर्ण हुने बताउँदै प्रशिक्षक अल्मुताइरीले नेपाली समर्थकलाई खुशी पार्न सकेको र आगामी दिनमा अझै सकारात्मक नतिजा ल्याउनेछौं

यसअघि जोर्डनविरुद्धको खेलमा रेफ्रीको निर्णय चित्तबुझ्दो नभएको बताउँदै अब्दुल्लाहले भने, ‘गोलरक्षकलाई रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो ।’

केही समयअघि प्रशिक्षक अल्मुताइरीले युरोपेली फुटबलबाट प्रेरित भएको संकेत दिँदै दी वर्ल्ड गेमसँग भनेका थिए- ‘यदि नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले पनि अस्ट्रेलियामाथि आक्रामण गर्न सक्छ ।

नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ भने एसियनकपको आशा बाँकी छ । भोलिको खेलमा पराजित भए नेपालले प्लेअफ खेल्नुपर्नेछ ।

नेपालले पहिलो लेगमा २०१९ मा अस्ट्रेलियासँग क्यानेरामा ५-० को पराजय बेहोरेको थियो । उक्त खेलमा अस्ट्रेलियाका लागि जेमी म्याक्लारेनले ह्याट्रिक तथा ह्यारी साउटरले १ गोल गरेका थिए । एक गोल नेपालकै खेलाडी दिनेश राजवंशीले आत्मघाति गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *