जोगिएला सुदूरपश्चिम सरकार ? ढुक्क छन् मुख्यमन्त्री – Nepal Press

जोगिएला सुदूरपश्चिम सरकार ? ढुक्क छन् मुख्यमन्त्री

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ताएपछि सरकारको भविष्यबारे भोलि छिनोफानो हुने भएको छ । मुख्यमन्त्री भट्ट आफूले विश्वासको मत पाउने र सरकार जोगिनेमा विश्वस्त देखिएका छन् ।

भट्टले आइतबार साँझ ५ बजेपछि प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । उनी सोमबार नै विश्वासको मत लिन चाहन्थे । तर, प्रदेशसभा नियमावलीले पत्र दर्ता भएको कम्तीमा ४८ घण्टापछि मात्रै प्रदेशमा पेस हुने व्यवस्था गरेको छ । सोमबारको कार्य व्यवस्था परामर्श समितिमा उक्त नियम नै निलम्बन गरेरसमेत विश्वासको मत लिइहाल्न खोज्दा कांग्रेसले रोकेको थियो ।

कांग्रेसको विरोधपछि मंगलबार विश्वासको मतका लागि सरकारले तयारी थालेको छ । माओवादी नेतृत्वको सरकारले विश्वासको मत लिने भएपछि अहिले कांग्रेसको पनि संसदीय दलको बैठक बसेको छ । केन्द्रको निर्देशनअनुसार सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको बैठकमा सहभागी एक सांसदले बताए ।

‘अहिलेसम्म हामी सरकारमा सहभागी छैनौँ । तर, केन्द्रमा एउटा गठबन्धन भएको छ’ उनले भने ‘त्यही गठबन्धन अनुसारको निर्देशन आए हामीले पनि समर्थन गर्न सक्छौँ ।’

उनले अहिलेसम्म यस विषयमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए ।

एमालेमा किचलो

केन्द्रले समर्थन फिर्ता लिइसकेको सरकारलाई समर्थन दिने कि नदिने भन्ने विषयमा एमालेभित्र तीव्र अन्तरविरोध देखिएको छ । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरू अहिलेसम्म समर्थन कायम राख्नुपर्छ भन्ने अडानमा छन् । संस्थान पक्षका सांसदहरू भने केन्द्रको निर्देशन मानेर समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा सभामुखबाहेक एमालेभित्र नेपाल पक्षका १४ जना र ओली पक्षका ९ जना प्रदेशसभा सदस्य छन् । नेपाल पक्षमा रहेका ३ जना प्रदेशसभा सदस्य पछिल्लो समय ओली पक्षमा लागेका छन् ।

यसअघि १२ जेठमा प्रदेश संसदीय दलले भने यही सरकारलाई निरन्तरता दिने निर्णय गरिसकेको थियो । त्यही निर्णयलाई टेकेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने गृहकार्यमा नेपाल पक्ष छ ।

‘हामीले केही दिनअघि नै सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ । त्यही निर्णय कार्यान्वयन हुन्छ’ नेपाल पक्षका एक सांसदले भने ।

ओली पक्षका सांसदहरू भने कुनै पनि अवस्थामा सरकारलाई समर्थन दिन नहुने बताउँछन् ।

‘हामीले पार्टीको निर्देशन पनि पालना गर्नुपर्छ’ ओली पक्षका सांसदले भने, ‘हामी केन्द्रमा कुरा गरिरहेका छौँ अहिले केही नभनौँ ।’

एमालेले हात झिके कांग्रेस

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २४ माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ जना सांसद छन् । अहिले एमाले र माओवादीको गठबन्धन सरकार छ ।

विश्वासको मत लिन २७ संसदको समर्थन चाहिन्छ । माधव नेपालका संसदहरूले मुख्यमन्त्रीलाई भोट दिए सरकार जोगिने अवस्था छ । तर, माधव पक्षले पार्टी केन्द्रको निर्देशन पालना गर्ने र विश्वासको मत नदिने निर्णय गरे मुख्यमन्त्री अल्पमतमा पर्ने छन्, जुन सम्भावना झिनो छ ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनेमा पूर्ण विश्वस्त रहेको माओवादीका प्रमुख सचेतक अक्कल रावलले बताए ।

‘एमालेले समर्थन गर्छ । कांग्रेस पनि छलफलमा छ’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्छ ।’

एमालेभित्र माधव नेपाल पक्ष बाहिरिए कांग्रेसले आफू सरकारमा भित्रिने आन्तरिक तयारी गरेको छ ।

१० जेठमा एमाले स्थायी कमिटीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, १२ जेठमा एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय लिएपछि केन्द्र र प्रदेशबीच नै अन्तरविरोध देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर