एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ: प्रशिक्षक अब्दुल्लाह – Nepal Press

एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ: प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एएफसी एसिया कप छनोटमा सोमबार हुने जोर्डनविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।

जोर्डन नेपालभन्दा माथिल्लो स्तरको टोली भए पनि नेपाल भोलिको खेलमा जितको अपेक्षासहित मैदानमा उत्रिने अल्मुताइरीले बताए । ‘धेरैले हामीलाई अन्डरडग्स सोचेर जोर्डनविरुद्ध सम्भावना नभएको बताइरहेका छन्,’ उनले भने ‘तर, प्रत्येक खेल ०-० मा सुरु हुन्छ र नतिजा फिल्डमा भएको प्रदर्शनमा निहीत हुन्छ । भोलिको खेलमा सुरुआतदेखि नै हाम्रो लक्ष्य जित हुनेछ ।’

नेपाली टोलीको लक्ष्य एसिया कपमा छनोट हुनु भएको बताउँदै अल्मुताइरीले त्यसका लागि नेपाललाई जोर्डनविरुद्ध जित आवश्यक रहेको बताए ।

अब्दुल्लाहले भने- जोर्डनविरुद्धको खेलका लागि हामीले चाइनिज ताइपेइविरुद्धको खेल जस्तै तयारी गरेका छौं । ।

अल्मुताइरीको नेतृत्वमा पहिलो पटक विदेश भ्रमणमा निस्किएको नेपाली टोलीले गत साता इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

आफूभन्दा १०३ स्थानमा माथिको टोलीविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाली टोलीले सुरुआतमा १-२ को अग्रता लिए पनि अन्तत: ६-२ को पराजय बेहोरेको थियो ।

मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एएफसी एसिया कप छनोटका बाँकी खेल खेल्न कुवेत पुगेको नेपालले गत बिहीबार चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको थियो । नेपाली फुटबललाई नयाँ शैलीमा ढाल्ने संकल्प गरेका अब्दुल्लाहको आगमनसँगै नेपाली टोलीले पनि आक्रामक फुटबल खेल्न सक्ने अनुभूति भएको छ । नेपालका कप्तान किरण चेम्जोङले समेत टोलीको माहौल परिवर्तन भएको प्रतिक्रिया दिएका थिए ।

अप्रिलमा नेपालमै भएको थ्री नेसन्स कपको विजेता टोलीबाट १३ खेलाडी परिवर्तन गरेर ६ नयाँ खेलाडीसहित भ्रमणमा निस्किएका अब्दुल्लाहले भोलिको खेलमा पनि आक्रामक फुटबल खेल्ने बताएका छन् ।

यसअघि अब्दुल्लाहले नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले अस्ट्रेलियालाई आक्रामण गर्न सक्ने बताएका थिए । यसबाट पनि नेपालले जोर्डनविरुद्धको खेलमा आक्रामक शैली अपनाउने अनुमान लगाउन सकिन्छ ।

नेपालविरुद्ध खेल जोर्डनका लागि महत्त्वपूर्ण रहेको बताउँदै मुख्य प्रशिक्षक भिटाल बोर्केल्म्यान्सले यसका लागि कडा मेहेनत गरेको बताएका छन् ।

‘सबैले हामी तीन अंक हासिल गर्ने आशा गरेका छन्,’ उनले भने, ‘तर, यो फुटबल हो । यहाँ जे पनि हुनसक्छ ।’

नेपालले खेलेका इराक र ताइपेइविरुद्धको खेल आफूले हेरेको र नेपालको प्लेयिङ सिस्टम परिवर्तन भएको भिटालले बताए । उनले फिल्डमा प्रदर्शन गर्नुपर्ने र प्रदर्शन राम्रो भए नतिजा पनि आफ्नो पक्षमा पर्ने बताए ।

नेपालले भोलि (सोमबार) राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल्ने छ ।

बिहीबार भएको खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्दा अञ्जन विष्ट र नवयुग श्रेष्ठले १-१ गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर