‘घरमा अन्न छैन, जंगलमा कन्दमूल’

धादिङ । धादिङको दक्षिणी भेगका चेपाङहरुको घरमा चैत लागेदेखि कहिलेकाँही मात्रै घरमा खानेकुरा पाक्छ, धेरै छाक कन्दमूलको भर पर्नुपर्ने बाध्यता छ ।  यतिवेला चेपाङवस्तीमा खाद्यन्नको अभाव सुरु भएको छ ।

आफ्नो खोरियाको उब्जनीले मुस्किलले ६ महिना खान पुग्ने चेपाङ बस्तीमा चैत लागेपछि कन्दमूलले छाक टार्र्नुपर्ने वाध्यता रहेको नेपाल चेपाङ संघ धादिङ अध्यक्ष भिमबहादुर चेपाङ बताउँछन् ।

 

अध्यक्षका अनुसार ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान र सिस्नोका साथै गिठ्ठा, भ्याकुर, प्यांल्याङ, तरुल, चोया, भर्लाङ, ट्याकुना लगायत कन्दमुलको भरमा चेपाङहरु छन् ।

‘चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।’ नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष चेपाङले भन्छन, ‘मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल हरेक वर्ष चेपाङ गाउँमा भोकमरी नै हुन्छ’ ।

कूलमान चेपाङ बेनीघाट रोराङ गाँउपालिका ८ का निर्वाचित वडा सदस्य हुन । ६ जनाको परिवार भएका कुलमानको घरमा हिजोआज खाने कुराको अभाव छ । अघिल्लो बर्षमा पनि समस्या नभएको होइन ,यो वर्ष निषेधाज्ञा भएपछि झन समस्या थपिएको उनी बताउँछन् ।

ज्यालामजदुरी गरेर खानलाई बजार झर्न पाएका छैनन् । कमाई गर्ने आधार नभएपछि साहुसँग उधारो माग्न पनि अप्ठेरो भएको उनले वताए ।
जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उनले भने, ‘कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पनि राम्रोसँग पाइँदैन परिवारलाई के खुवाउने भन्ने चिन्ता गाउँलेहरुमा छ ।’

महाभारत लेकमा रहेका चेपाङ बस्तीका मानिसहरु खाने कुराको खोजी गर्न जंगल जान थालेको बेनीघाट रोराङ गाँउपालिका ८ का वडा अध्यक्ष विर बहादुर श्रेष्ठले बताए । घरमा खानेकुराको अभाव भएपछि चेपाङबस्तीमा घरपिच्छे मानिसहरु विरामी भएका छन् । वडामा तीन सय ५० चेपाङ परिवार छन् ।

जिल्लाको यारवाङ, भारिङटार, जिरवाङ, केततुङ,दुङवाङ, जिरवाङ, धाङमाङ, साचाक, मिजार गाँउ र ब्रुसबाङ लगायतका चेपाङ बस्तीमा खानेकुराको अभाव हुने थालेको छ ।

चेपाङहरुको एकै परिवार पाँच जना देखि १४ जनासम्म छन् । गत वर्ष कोरोना माहामारीको संक्रमण रोक्न गरिएको वन्दावन्दीले रासायनिक मल अभाव हुदाँ यहाँका चेपाङहरुले बारीको मकैमा मल हाल्न पाएनन् । मल नहालेका कारण मकै उव्जाउ पनि कम भयो ।

वर्षौदेखि चेपाङहरु भोक र रोगसँग मात्र लडिरहनु परेको छ । ३७ वर्षसम्म प्रजा विकास कार्यक्रम चल्यो तर ९९ प्रतिशत चेपाङहरुको अवस्था उस्तै रहेको अध्यक्ष चेपाङले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *