चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा – Nepal Press

चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ ।

पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको तयारी स्वरूप गत हप्ता भएको इराकविरुद्धको खेलमा सुन्दर फुटबल खेलेको नेपाल आजको खेलमा पनि सोही लक्ष्यसहित मैदानमा उत्रिनेमा विश्वस्त हुनसकिन्छ ।

गत चैतमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आजको खेल पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । सुरुआतदेखि नै नेपालले अब आक्रामक फुटबल खेल्ने बताएका अल्मुताइरीले इराकविरुद्धको खेलमा सावित पनि गरेका थिए ।

आफूभन्दा १ सय ३ स्थानमाथिको इराकलाई केही समय दबाबमा राखेर २-१ को अग्रतासम्म लिएको नेपालले अन्तत: ६-२ ले खेल हारेको थियो । तर, विश्वकप खेलिसकेको टोलीसँग त्यो स्तरको प्रदर्शन गर्नुलाई नेपाली फुटबल प्रेमीले सकारात्मक रूपमा  लिएका छन् । त्यसैको आधारमा आज नेपालले ताइपेइविरुद्ध शानदार प्रदर्शन गर्ने अपेक्षासमेत धेरैले गरेका छन् ।

छनोटमा यसअघिका ५ मध्ये एक खेल उही ताइपेइविरुद्ध मात्र जित निकाल्न सफल भएको नेपालले आजको खेलमा नतिजाको अपेक्षा गरेको छ । यसअघि ताइपेइविरुद्ध नेपालको जितमा अञ्जन विष्टले दुई गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *