कैलालीमा एक पुरुषको हत्या – Nepal Press

कैलालीमा एक पुरुषको हत्या

कैलाली । कैलालीमा लुटपाट गर्न एक पुरुषको हत्या भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका स्थित बसपार्कमा बिहीबार राती अन्दाजी २७÷२८ वर्षको युवकको हत्या भएको थियो ।

उक्त युवकसँग रहेको तीन सय ४० रुपैयाँ लुटपाट गर्न उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेजका अनुसार हत्यामा संलग्न चार जनालाई समेत पक्राउ गरिसकेको छ ।

‘बसपार्कभित्रै रहेको प्रतीक्षालयमा पल्टिएका युवकको खल्ती चार जना युवक चेक गर्न थाल्छन् । एउटा खल्तीमा भएको रकम लुट्छन् । पल्टिएका युवकले हलचल गरेपछि चारै युवक त्यहाँबाट भाग्छन्’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,‘खल्तीमा भएको तीन सय ४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप रकम हुनसक्ने ठानेर युवक भएकै स्थानमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ ।’

प्रहरीका अनुसार चार जना आएको थाहा पाएपछि युवक उठ्न खोज्छन् । तर, प्रतिवाद गर्न सक्दैनन् । चार जनाले पालैपालो उनीमाथि कुटपिट पछि उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् । उनीहरु चारै जना गाडीका सहचालक रहेको खुलेको उनले बताए ।

उनका अनुसार प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । घटनाको एक साता पुग्नै पुग्नै लाग्दा पनि मृतक युवकको पहिचान भएको छैन । प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगले अन्तिम संस्कार गरिसकेको उनले बताए ।

‘बेवारिसे शावलाई नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ’ उनले भने ‘यो शव पनि नगरपालिकाले अन्तिम संस्कार गरेको हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर