माधवपक्षीय नेता राईले भने- अहिले भइरहेका वार्ता व्यक्तिगत, अनधिकृत र निर्लज्ज हुन् – Nepal Press

माधवपक्षीय नेता राईले भने- अहिले भइरहेका वार्ता व्यक्तिगत, अनधिकृत र निर्लज्ज हुन्

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल पक्षका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले पार्टी एकताका लागि भनेर अहिले भइरहेका एमालेका दुवै पक्षका नेताहरूबीचको वार्तालाई व्यक्तिगत र निर्लज्ज तरिका भनेका छन् ।

राईले वार्ता टोलीका शीर्ष नेता (भीम रावल) सहितका नेता र सांसदमाथि कारवाही गरिएको अवस्थामा भइरहेका वार्ता अनधिकृत र व्यक्तिगतमात्र हुने भन्दै यसलाई निर्लज्जताको संज्ञा दिएका छन् ।

पछिल्लो समय भीम रावल र रघुजी पन्तबाहेक माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट संस्थापन पक्षसँग वार्तामा छन् । आज भोलिमै उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छन् । यो वार्ताकै कारण कारवाही प्रक्रिया समेत रोकिएको छ ।

राईले आफ्नो दुई बुँदे वक्तव्यमा भनेका छन्, ‘वार्ता आरम्भपछि आफ्ना शीर्ष नेताहरूसहित अनेक दबाबसँग जुझेर अति कठिन परिस्थितिमा आफ्ना पछि लागेका सांसदहरूलाई र खुद वार्ता टोलीका एक शीर्ष नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको, कारवाही गर्ने नियतले वार्ता टोलीका अन्य दुई सदस्यलाई स्पष्टीकरण सोध्ने र विभिन्न प्रदेशका सांसदहरूलाई कारवाही प्रक्रिया आरम्भ गरिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ ?’

प्रदेश १ को प्रदेशसभा सदस्य समेत रहेका राईले अब साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी नयाँ समिति जरुरी रहेको बताएका छन् ।

माधव नेपाललाई दबाबमा पार्न अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्किने निर्णय गर्न लागेका बेला राईको यो प्रतिक्रियालाई अर्थपूर्ण रूपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर