राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा यी तीनजनाले गरेनन् मतदान – Nepal Press

राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा यी तीनजनाले गरेनन् मतदान

रुपन्देही । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा ३ जना मतदाता अनुपस्थित भएका छन् ।

राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित धवलशमशेर राणाले अहिलेको अवस्थामा उपनिर्वाचनमा जान आवश्यक नभएको भन्दै बहिष्कार गरेका छन् भने गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपा उपेन्द्र पक्षका बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह कोरोना संक्रमित भई उपचारका क्रममा रहेकाले उपस्थित हुन सकेनन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट मतदान शुरू भएको थियो । मतदानको लागि निर्धारित ३ बजेको समय सीमाअघि नै अधिकांशले मतदान गरेका छन् ।

निर्वाचन कार्यालयले अहिलेसम्म प्रदेशसभाका ८३ मध्ये शतप्रतिशत र स्थानीय तहका २१७ मध्ये २१४ जनाले मतदान गरेको जनाएको छ । आज नै नतिजा घोषणा हुने आयोगले जानकारी दिएको छ ।

संक्रमित २४ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ३ प्रदेश सांसदका लागि अलग्गै मतदानस्थल व्यवस्थापन गरिएको थियो ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर