कर्णालीमा कोरोना नियन्त्रणका लागि खटिने स्वयंसेवक अधिकांश माओवादी कार्यकर्ता – Nepal Press

कर्णालीमा कोरोना नियन्त्रणका लागि खटिने स्वयंसेवक अधिकांश माओवादी कार्यकर्ता

सुर्खेत । कोरोना नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने कर्णाली सरकारको निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले दैनिक ५ सय भत्ता दिएर स्वयंसेवक खटाउने भएको छ । मन्त्रालय स्रोतका अनुसार नेकपा माओवादी नेता सुर्दशन श्रेष्ठको नेतृत्वमा सुर्खेतमा २८ जनालाई खटाउने तयारी गरिएको छ ।

‘उहाँहरुले शव व्यवस्थापन, अक्सिजन व्यवस्थापन तथा अन्य आवश्यक पर्ने कामहरु गर्नुहुनेछ । सुर्खेतमा त्यसका लागि २८ जना छनाट गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘नेकपा माओवादी केन्द्रको जनसंगठनका केन्द्रीय सदस्यसमेत रहेका नेताहरुको विवरण मन्त्रालयमा आइपुगेको छ ।’

स्वंयसेवक टोलीले भने विहानको खाना र खाजासहितको खर्च सरकारले व्यहोर्नुपर्ने भन्दै योजना मन्त्रालयमा पेश गरेको छ तर कर्मचारीले भने निःशुल्क रुपमा काम गर्ने स्वंयसेवकलाई त्यसरी भत्ता दिएको खण्डमा विवाद आउनसक्ने भन्दै बढिमा दैनिक पाँच सयसम्म दिन सकिने योजना बनाएको हो । सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले सम्हाल्दै आएका छन् ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सुनिल लिम्बुले भने आफूहरु छलफलकै क्रममा रहेको दाबी गरे । ‘कहाँ कति जना राख्ने र कसलाई राख्ने भन्ने बारेमा अहिले छलफल भइरहेको छ । एक दुई दिनमा टुंगिन्छ,’ उनले भने, ‘आवश्यकता हेरेर मात्रै छनोट गरिनेछ र बढीमा दैखिक पाँच सय दिने कि भन्ने बारेमा कुराकानी भइरहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर