९० प्रतिशत भन्दा बढी नेपालीले पाउनेछन् अब निःशुल्क खानेपानी – Nepal Press

९० प्रतिशत भन्दा बढी नेपालीले पाउनेछन् अब निःशुल्क खानेपानी

काठमाडौं । सामान्यतया एउटा परिवारले महिनामा कति लिटर पानी खपत गर्छ ? ५ जनासम्मको परिवारले महिनामा १५ हजार लिटर पानी खपत गर्ने गरेको खानेपानी संस्थानको तथ्यांकलाई आधार मान्ने हो भने अब ९० प्रतिशत भन्दा बढी जनताले निःशुल्क पानी पाउने छन् । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत मासिक २० हजार लिटर शुद्ध पिउने पानी निशुल्क बितरणको व्यवस्था गरेको छ ।

यो व्यवस्थाले नेपालका ९० प्रतिशत जनसंख्याले शुद्ध पिउने पानी निःशुल्क प्राप्त गर्ने अपेक्षा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको छ ।

औषत रुपमा ५ जनाको परिवारलाई १५ हजार लिटर पानी पर्याप्त भएपनि बजेट मार्फत २० हजार लिटर शुद्ध पिउने पानीको निःशुल्क व्यवस्था गरिएको छ, यो भनेको जनताको सबै पंक्तिलाई राहत पुग्ने ऐतिहासिक कार्यक्रम हो ।

हाल खानेपानीको ग्राहक रहेका र भविष्यमा बन्ने सबैले यो सुविधा पाउने छन् । २० हजार भन्दा बढी पानी खपत भएमा त्यो भन्दा माथिको पानीको मात्र शुल्क तिरे पुग्नेछ ।

काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीमा सुधार गरिने बजेटमा उल्लेख गरिएको छ । पहिलो चरणमा निर्माणाधिन चार थोक वितरण प्रणालीबाट १ सय १३ किलोमिटर नयाँ वितरण लाइन थप गरी १ लाख १० हजार घरधुरीमा मेलम्चीको पानी वितरण बताइएको छ ।

दोस्रो चरणमा चक्रपथ बाहिरका कीर्तिपुर, पेप्सीकोला, जोरपाटी, भक्तपुर लगायतका क्षेत्रमा पाइपलाइन विस्तार भएको छ । वितरण प्रणाली सुधारको लागि ४ अर्ब ७९ करोड रकम विनियोजन गरेको छ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी प्रणालीमा थप गर्न आगामी आर्थिक वर्षमा सुरुङ्ग लगायत अन्य पूर्वाधार निर्माण कार्य आरम्भ गरिने वजेटमा व्यवस्था गरिएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी मेलम्ची खानेपानी आयोजनाका लागि थप ३ अर्ब ५१ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर