१८ सार्वजनिक संस्थानको घाटा ९९.४६ प्रतिशतले बढ्यो – Nepal Press

१८ सार्वजनिक संस्थानको घाटा ९९.४६ प्रतिशतले बढ्यो

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७६/७७ पहेलो पुस्तिका अर्थात् सार्वजनिक संस्थानसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार २४ संस्थानले नाफा आर्जन गरेका छन् भने दुई संस्थानको कारोबार शून्य छ । त्यस्तै १८ सार्वजनिक संस्थान घाटामा सञ्चालनमा भएका छन् ।

नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको छ भने नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ मात्रै बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा संस्थानको कुल सञ्‍चालन आय ४ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ रहेकोमा आव २०७६/७७ मा ९.०३ प्रतिशतले कमी आइ ४ खर्ब २८ अर्ब ७१ करोड पुगेको अर्थमन्त्रालयले जनाएको छ ।

अघिल्लो आवको तुलनामा सार्वजनिक संस्थानको खुद नाफा १.२१ प्रतिशतले कमी आइ २०७६/७७ मा ४८ अर्ब २९ करोड ८२ लाख पुगेको छ ।

सार्वजिक संस्थानहरुको मुनाफामा कमी आए पनि लाभांश वितरण गर्ने सवालमा भने निकै अगाडि देखिएको छन् ।

अघिल्लो तुलनामा ४८.८७ प्रतिशतले बढी लाभांश वितरण गरेका सार्वजनिक संस्थानले गत आवका लागि १४ अर्ब ९ करोड रुपैयाँ लाभांश वितरण गरेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्‍चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भइ १ खर्ब ९ अर्ब ७४ करोड ८० लाख पुगेको छ।

त्यस्तै सञ्‍चित नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९३ प्रतिशतले कमी आइ ३४ अर्ब २३ करोड ६१ लाख कायम छ ।

सबै संस्थानको सञ्‍चित नाफा ९सञ्‍चित नोक्सान कटाएर० २९.५३ प्रतिशतले वृद्धि भइ ७५ अर्ब ५१ करोड १९ लाख पुगेको अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा शेयरधनी कोष र नेटवर्थ गत आर्थिक वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ११.८२ प्रतिशतले बढेर ५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर