डेढ दशकमा ६४ हजारले गरे आत्महत्या, लकडाउनमा झन् विकराल

१५ वर्षमा ६४ हजारभन्दा बढीले आफ्नै ज्यान लिए

काठमाडौं ।

–रुपन्देहीको सैनामैना नगरपालिका-१ वनकट्टामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका एक पुरुषले गत वैशाख १८ गते शौचालयमा झुण्डिएर आत्महत्या गरे । सैनामैनाकै रानिबगियाका ४० वर्षका ती पुरुष बिहान ४ बजे मृत भेटिएका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी त्यसै दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य थियो ।

अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले भने, ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन, एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उनमा ‘मानसिक स्वास्थ्य समस्या’रहेको थाहा भयो ।’

स्वास्थ्य खराब नरहे पनि पनि परिवारको आग्रहमा उनलाई अस्पताल भर्ना गरिएको पाण्डेले जानकारी दिए ।

-गत वैशाख २२ गते राति चितवनको माडी नगरपालिका ३ इनारबरुवा का ३५ वर्षीय कोराना संक्रमित गोविन्द शाहले झुण्डिएर आत्महत्या गरे । एक साताअघि भारतको बिहारमा सम्पन्न वैवाहिक समारोहमा सहभागी भई घर फर्किएका उनी होम क्वारेन्टाइनमा बसेका थिए ।

लगातार झाडापखाला र स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वाब परीक्षण गरियो र रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना भइसकेपछि युवकले झुण्डिएर आत्महत्या गरेका थिए ।

ईलाका प्रहरी कार्यालय माडीका अनुसार आत्महत्याको कारण अहिलेसम्म खुलेको छैन । कार्यालय प्रमुख झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा केही पनि कारण नदेखिएकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा उनको फाइल पठाइएको छ ।

– काभ्रेको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा रहेकी एक युवतीले गत वर्ष लकडाउनको समयमा आत्महत्या गरिन् । साउन २३ गते शुक्रबारका दिन २१ वर्षका युवतीले क्वारेन्टाइनमै आत्महत्या गरेकी थिइन् ।

उनी साउन १७ गते नेपाल आएर क्वारेन्टाइनमा बसेकी थिइन् । उनले किन आत्महत्या रोजिन् भन्ने कारण पनि अझै खुलेको छैन ।

–गुल्मीको छत्रकोट गाउँपालिका-४ दिगामको क्वारेन्टाइनमा बसेका एक जेष्ठ नागरिकले पनि गत वर्ष आत्महत्या गरे । स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ५६ वर्षका चन्द्रबहादुर परियारले गत वर्ष जेठ १७ गतेका दिन आत्महत्या गरेका थिए ।

केही दिनअघि भारतबाट आएका उनलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । साँझपख शौचालय गएका उनी मृत अवस्थामा फेला परेका थिए । उनले पनि आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

लकडाउनमा १९ प्रतिशत बढ्यो

माथिका यी प्रतिनिधि घटनाहरु मात्र हुन् । नेपालमा आत्महत्याको प्रवृत्ति यसै पनि चिन्ताजनक रहेकोमा कोरोना महामारी र लकडाउनपछि यो झन् विकराल बनेको छ ।

सरकारले कोरोना रोकथामका लागि भन्दै लागि २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । उक्त लकडाउन ४ महिना अर्थात असारसम्म कडारुपमा लागू भयो । लकडाउनका कारण धेरै नागरिकले समस्या भोगे । विशेषगरी श्रमिक वर्ग लकडाउनको मारमा परे ।

सोही ४ महिनाको अवधिमा मात्र २ हजार ७ सय ७ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । यी ४ महिनालाई अघिल्लो वर्षका ४ महिनासँग तुलना गर्दा १९ प्रतिशतले आत्महत्या बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को चैत, वैशाख, जेठ र असारमा २ हजार २ सय ६७ जनाले आत्महत्या गरेका थिए ।

अझ अघिल्लो असार महिनाको र लकडाउन भएको असार महिनाको तथ्यांक हेर्दा त ६० प्रतिशतले आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो असारमा ६ सय जनाले आत्महत्या गरेका थिए भने लकडाउन भएको असारमा ९ सय ६४ जनाले आत्महत्या गरेका छन् ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले पहिलो लकडाउन घोषणा भएको महिना र लकडाउन हुनुअघि एक महिनामा भएका आत्महत्याका घटनाको अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पनि आत्महत्याको दर बढेको छ ।

लकडाउन घोषणा हुनुअघि गत वर्ष फागुन महिनामा ४ सय १४ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले आत्महत्या गरेका थिए । लकडाउन भएको महिना चैतमा ४ सय ८७ जनाले आत्महत्या गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमाशंकर पञ्जियारका अनुसार यस १ महिनाको अवधिमा मात्र १७ प्रतिशतले आत्महत्याको घटनामा वृद्धि भएको छ । यसले पनि लकडाउनमा आत्महत्या गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संख्या बढेको पुष्टि हुने एसएसपी पञ्जियारले नेपाल प्रेससँग बताए ।

निर्देशनालयले गत वर्षकै चैत ११ गतेदेखि साउन १० गतेसम्म ४ महिनाको आत्महत्याका घटनाको पनि विश्लेषण गरेको छ । यस अवधिमा १ हजार ३ सय ४३ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकले आत्महत्या गरेका छन् । निर्देशनालयको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी प्रदेश १ मा १९ प्रतिशत अर्थात २ सय ६४ जनाले आत्महत्या गरेका छन् । प्रदेश २ मा २ सय ३१ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको चैतसम्ममा ५ हजार ८१ ले आत्महत्या गरे । त्यसमा झुण्डिएर ४ हजार ३८ ले तथा विष खाएर ९ सय ५७ ले गरेका छन् ।

१५ वर्षमा ६४ हजारले ज्यान गुमाए

१५ वर्षको तथ्यांक विश्लेषण गर्दा नेपालमा आत्महत्या गर्नेको संख्या डरलाग्दो अवस्थामा रहेको पाइन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यो अवधिमा ६४ हजारभन्दा बढी नागरिकले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०६३/०६४ देखि चालु आर्थिक वर्ष २०७७/०७८ को चैत मसान्तसम्ममा ६४ हजार ४ सय १७ जनाले आत्महत्या गरेका हुन् । यसरी हिसाव गर्दा वर्षेनी ४ हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको पाइएको छ । मासिक साढे ३ सयभन्दा बढीले र दैनिक १० जनाभन्दा बढीले आत्महत्या गरिरहेको तथ्यांकले देखाउँछ ।

विवरणअनुसार हरेक वर्ष आत्महत्या गर्नेको संख्या ३ प्रतिशतदेखि १३ प्रतिशतले बढिरहेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर बताउँछन् । उनका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार २ सय ४९ जनाले आत्महत्या गरेका छन् । यस वर्षको अवस्था पनि त्यस्तै छ । ३ महिना बाँकी रहँदा नै ५ हजार ८१ जनाले आत्महत्या गरिसकेको प्रवक्ता कुँवरले बताए ।

सबैभन्दा बढी प्रदेश १ मा

मुलकभरका ७ वटै प्रदेशमध्ये सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश १ मा भएको छ । पछिल्लो आर्थिक वर्ष २०७६/०७६ देखि चालु आर्थिक वर्ष २०७७/०७८ को चैत सम्मको ३ वर्षको अवधिमा मुलुकभरमा १६ हजार ७ सय ७१ जनाले आत्महत्या गरेका छन् ।

सबैभन्दा बढी प्रदेश १ मा २१ प्रतिशत अर्थात ३ हजार ६ सय २३ जनाले आत्महत्या गरेका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशमा १९ प्रतिशत अर्थात ३ हजार ३ सय २७ जनाले आत्महत्या गरेका छन् ।

३ वर्षको प्रदेशगत विवरण

शान्तिका लागि साझा अभियान (कोक्याप)ले पनि आत्महत्यालगायत विभिन्न घटनाका विषयमा नेपाल प्रहरीसँग साझेदारी गरेर अध्ययन अनुसन्धान गर्दै आएको छ । आत्महत्याका घटनाबाट सबैभन्दा बढी सिमान्तकृत समुदाय प्रभावित भएका कोक्यापका अध्यक्ष रोशना खड्काले नेपाल प्रेससँग बताइन । जसमा दलित, गरिव, अल्पसंख्यक, मधेशी तथा महिला बढी आत्महत्याका घटनाबाट प्रभावित भएका उनले बताइन । आत्महत्याका घटना बढीरहदाँ पनि सरकारले यसलाई रोकथाम गर्नेतिर सरकारले जोड नदिएको उनको बुझाई छ ।

कोक्यापले रिपोर्ट संकलन गरेर https://nepalmonitor.org मा सार्वजनिक गर्दै आएको छ । कोक्याप्ले कोभिड–१९ का लागि छुट्टै ड्यासबोर्ड पनि विकसित गरेको छ । जहाँ आत्महत्याको सम्बन्धमा जानकारी पनि प्राप्त गर्न सकिन्छ । ड्यासबोर्डबाट थप जानकारी लिनका लागि nepalmonitor.org/covid मा जान सकिन्छ ।

उनले भनिन्, ‘आत्महत्या एउटा अपराधिक घटना भए पनि यो घटनाका बारेमा सञ्चारमाध्यमले त्यति धेरै प्राथमिकता दिएको देखिदैन । अझै पनि यसलाई साधारण समस्याका रुपमा लिने गरिएको छ । अहिले नेपालमा मात्र नभएर विश्वभरमा नै यो एकदमै ठुलो समस्याका रुपमा देखा परेकाले यसलाई लुकाउनुहुदैन र खुलेर यसका बारेमा छलफल र बहस गरिनुपर्छ ।’

लकडाउनमा आत्महत्याका घटना बढिरहेको बिश्लेषण भइरहदाँ मनोविद् करुणा कुवर भने त्यसलाई अस्विकार गर्छिन । उनले भनिन्, ‘लकडाउनको बेला मात्र यसको हिसाव किताव गरिएकाले बढेको जस्तो देखिएको हो, विगत केहि वर्षको तथ्यांक केलाएर हुर्नेभयो भने हरेक वर्ष नियमित रुपमा आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।’

मानसिक स्वास्थ्य समस्या भएमा समयमा नै उपचार गर्नुपर्छ भन्ने ज्ञानको अभाव अझै कायमै रहेकाले आत्महत्या घट्न नसकेको उनले बताइन । अझै आत्महत्याका विषयमा खुलेर छलफल तथा बहस नहुनु पनि आत्महत्या बढ्नुको पछाडीको कारण रहेको मनोविद् कुवरको बुझाइ छ । उनले भनिन्, ‘अहिले पनि आफ्नो घरको कुनै सदस्यले आत्महत्या गर्यो भने पनि घर परिवारका अन्य सदस्यले आत्महत्या गरेको हो भनेर खुलेर भन्ने गरिदैन । यसले पनि लुकाउन खोज्दा झन बढीरहेको छ ।’

मानसिक स्वास्थ्य समस्याका विषयमा सरकार पनि गम्भिर नरहेको उनको भनाइ छ । वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजन हुने रकमको शुन्य दशमलव ५ प्रतिशत पनि मानसिक स्वास्थ्यको क्षेत्रमा नछुट्याइने गरेको उनले बताइन । उनले भनिन्, ‘हरेक वर्ष आत्महत्या विरुद्धका अभियान सञ्चालन गर्नुपर्छ । मानसिक स्वास्थ्य समस्या जो सुकैलाई हुन्छ भन्ने कुरा बुझाउनुपर्छ ।’

मनोविद् कुवर आत्महत्याका कारण बाहिरी रुपमा गरिवी, तनाव, पारिवारीक कलह भए पनि प्रमुख कारण नै मनोसामाजिक समस्या रहेको बताउछिन् । उनका अनुसार कतिपय अवस्थामा लामो समयसम्म यौन शोषण र हिंसामा पर्नु पनि आत्महत्याको प्रमुख कारण बनिरहेको छ । ‘अन्य जे जस्ता कारण भए पनि उसको सामना गर्ने क्षमत बढाउन सक्यो र मानसिक स्वास्थ्य समस्या समाधानका लागि पहल गर्न सक्यो भने आत्महत्या रोक्न सकिन्छ ।’ उनले भनिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *