प्रधानमन्त्रीज्यू ! यसरी गरौं मेडिकल शिक्षामा परिवर्तन – Nepal Press

प्रधानमन्त्रीज्यू ! यसरी गरौं मेडिकल शिक्षामा परिवर्तन

देश अहिले कोभिडको महामारीमा छ । सरकारी तथा निजी स्वास्थ्य संस्था र तिनमा काम गर्ने स्वास्थ्यकर्मीहरु नागरिकको ज्यान जोगाउन आफ्नो ज्यानको बाजी लगाएर दिनरात काम गरिरहेका छन् ।

महामारीमा नागरिकहरुको ज्यान जोगाउने दायित्व स्वास्थ्य संस्थाहरुको काँधमा आएको छ । महामारी न त हामीले नापेजस्तो हुन्छ, न जोखेजस्तो । महामारी कस्तो आउला र कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा विषय हामीहरु पनि सिक्दैछौं ।

अहिले अक्सिजन, शय्याको अभाव हामीले झेलिरहेका छौं । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरु अति नै कमजोर थिए । निजीहरु बामे सर्दै थिए/छन् । तर, बीचमा निजीहरुलाई निमोठ्ने प्रयास नभएको हाेइन ।

काठमाडौंमा केही मेडिकल कलेज, चितवन, नेपालगञ्ज, विराटनगर, वीरगञ्जमा मेडिकल कलेज नभएका भए यो महामारीमा के हालत हुन्थ्यो होला तपाई कल्पना गर्न सक्नुहुन्छ ? सडकमै मानिसहरु कोभिडले छट्पटाउँदै मरिरहेका हुने थिए । स्वास्थ्य क्षेत्रका बडो विज्ञ भन्नेहरु नै हैनन् १० बर्षसम्म काठमाडौंमा थप मेडिकल कलेज नखोल्ने भन्ने ?

उनीहरुले भनेको जस्तो सबै मान्दै गएको भए, न त आज हामीसँग यतिको जनशक्ति हुन्थ्यो, न संरचना नै । माइतीघर मण्डलाका ‘हिरो हिरोइन’हरुले मेडिकल Education को Irreversible  damage गरिसके भन्दा अतिशयोक्ती नहोला । भीड, हूलदंगा र चर्को आवाजका पछि राज्य र सरकार लाग्न हुँदैन भन्ने कुरा कोभिड महामारीको पाठ नै पर्याप्त छ ।

चिकित्सा क्षेत्रको विकासले हुन सक्ने फाइदा को कुरा गर्दा तपाई आफैं दुईपल्ट मिर्गौला फेरेर पनि तेश्रो पटक प्रधानमन्त्री भएर देशको बागडोर सम्हालिरहनु भएको छ । त्यसैले पनि आफ्नै देशमा राम्रो चिकित्सा शिक्षा बनाउनु पर्छ भन्ने त पक्कै पनि लाग्छ होला ।

प्रधानमन्त्रीज्यू,
मलाइ लाग्छ तपाईंजस्तो दृढ मानसिकता भएको मान्छेले एकपटक चिकित्सा शिक्षासम्बन्धी विषयमा क्रान्तिकारी परिवर्तन गर्नैपर्छ ।

चिकित्सा क्षेत्रको विकासले हुन सक्ने फाइदा को कुरा गर्दा तपाई आफैं दुईपल्ट मिर्गौला फेरेर पनि तेश्रो पटक प्रधानमन्त्री भएर देशको बागडोर सम्हालिरहनु भएको छ । त्यसैले पनि आफ्नै देशमा राम्रो चिकित्सा शिक्षा बनाउनु पर्छ भन्ने त पक्कै पनि लाग्छ होला । यदि तपाईंले यो समयमा केही न केही विशेष पहल गर्नु भएन भने केहि वर्ष पछि देशमा राम्रा गुणस्तरका चिकित्सकहरू पलायनको खतरामा छन् ।

अहिलेको महामारीले पनि सबैजसो मान्छेहरूले महसुस गरे होलान्, देशमा यस्तो हाहाकार छ, शय्या छैनन्, आईसीयू छैन, डाक्टर छैनन्, नर्स छैनन्, पीसीआर गर्ने प्राविधिक छैनन् । हाम्रो त देश हो नि कुनै एउटा गाउँ त होइन ।

विश्वका बारेमा जानकार राख्ने नेपालीहरुले पक्कै पनि आफ्नो देशको स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमा मूल्यांकन त गर्छन् । विदेशमा छ भने हाम्रो देशमा किन भएन ? कसको कारणले भएन ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । भनिराख्नु परेन– न्यूनतम सुविधा खोज्नु नागरिकको अधिकार हो भने दिलाउनु राज्यको दायित्व र कर्तब्य हो ।

चिकित्सा शिक्षाको आवश्यकता

देशभित्र जति संख्यामा स्वास्थ्य जनशक्ति तयार छ त्यो दुई दशक अघिदेखि लिएको नीतिका कारणले सम्भव भएको हो । सीटीईभीटी, विभिन्न मेडिकल कलेज तथा सरकारी तहमा पनि कोटा वृद्धि हुँदा वा थपिँदा अहिले स्वास्थ्य सम्बन्धी जनशक्ति थप भएको छ । के हाम्रा लागि यो पर्याप्त हो त ? यस्तो महामारीको बेलामासमेत स्वास्थ्य जनशक्तिको खासै कमी शहरी भेगमा देखिएको छैन । तर, ग्रामिण भेगका स्वास्थ्य संस्था र कार्यालयहरुमा जनशक्तिको चरम अभाव छ । त्यसैले देशमा स्वास्थ्य जनशक्तिको उत्पादन अझै आवश्यक छ भन्ने देखिएको छ ।

चीनमा पढ्दा पढ्दै अहिले जान नदिएर ति बच्चाहरुको बिचल्ली देखिसक्यौ । अझ यो भन्दा कैयौं गुना बढी बंगलादेशमा पढ्दै गरेका हाम्रा छोरा छोरीहरुलाई सोध्नुहोला उनीहरूले कुन हदसम्मको मानसिक यातना सहेका छन्

चिकित्सा शिक्षाका ठेक्का लिएका केही मानिसहरु जसले नेपालमा डाक्टर धेरै भएर ट्याक्सी चलाउँछन् भनेर एकातिर भन्छन् भने अर्कोतिर हाम्रा ती कलिला बच्चाहरुलाई बिभिन्न देशहरुमा पढ्न पठाउने नीति लिएका छन् ।

स्वदेशी पूँजीमा स्वदेशमा नै मेडिकल शिक्षा पढ्न नपाएर बंगलादेश, चीन जस्ता देशमा कयौं हाम्रा नानीबाबुहरु पुगेका छन् । केही बर्षअघि बंगलादेशबाट आएको जहाज दुर्घटना हुँदा चिकित्सकहरुको ठूलो समूहले मृत्युवरण गरेको देख्न पर्‍यो ।

चीनमा पढ्दा पढ्दै अहिले जान नदिएर ति बच्चाहरुको बिचल्ली देखिसक्यौ । अझ यो भन्दा कैयौं गुना बढी बंगलादेशमा पढ्दै गरेका हाम्रा छोरा छोरीहरुलाई सोध्नुहोला उनीहरूले कुन हदसम्मको मानसिक यातना सहेका छन्, एमबीबीएस पढ्न ।

समस्याहरू-
१. सरकारी अस्पतालहरूमा राम्रा भौतिक पूर्वाधारहरु आजसम्म पनि छैनन् यो तथ्यसहितको सत्य हो । जसले गर्दा गाउँ गाउँमा गएर काम गर्न् कुनै पनि बिशेषज्ञलाई निकै नै कठिन हुन्छ ।

हुन त ३०० भन्दा बढी अस्पतालको शिलान्यास प्रधानमन्त्रीज्यूले गरिसक्नुभएको छ । ती निर्माणको चरणमा होलान् भन्ने विश्वास हामीलाई छ । यसलाई प्रधानमन्त्रीज्यूले एउटा मनिटरिङ कमिटी बनाएर दौडाउनु होला । नत्र अन्य सरकारी संरचनामा जस्तै ठेकेदारको मनोमानीले जनताको चहना तुसारापात हुनेछ ।

३०० अस्पताल बनाउने कुरा राष्ट्रिय अभियान हो । यो अभियानलाई यो वा त्यो बाहानामा ढिला गर्नु अपराध सरह हुन्छ भनेर प्रधानमन्त्रीज्यूले कडा निर्देशन दिने र त्यसको निरन्तर फलोअप गर्नुपर्दछ । अनुगमन भएन भने तपाईका पार्टीका, अरु पार्टीका जनप्रतिनिधी, इन्जिनियर र कर्मचारीहरु मिलेर नै यसमा ढिलासुस्ती गर्छन् । अस्पताल बन्दैन इतिहास मात्रै बन्छ ।

२. हाल भएका सरकारी अस्पतालहरुमा राम्रो जनशक्ति छ तर काम गर्ने वातावरण छैन । त्यसैले सरकारी अस्पतालहरूको कार्यदक्षता देखिएको छैन । हालको सरकारी प्रणालीले गर्दा देशमा भएका उत्कृष्ट जनशक्तिहरु निराश छन् । राम्रोसँग काम गर्ने वातावरणको खोजीमा उनीहरु छन् । यदि सम्पूर्ण चिकित्सकहरुलाई सरकारी अस्पतालहरुमा राम्रोसँग काम गराउन चाहने हो भने यी कुराहरु अबलम्वन गराउनुहोस्-
क) सबै सरकारी चिकित्सकहरुलाई अस्पतालको कम्पाउण्ड भित्र बस्ने व्यवस्था
ख) प्राइभेट प्राक्टिस गर्नको लागि एउटा सेन्ट्रल पोलिसी बनाइ सबै अस्पतालमा EHS System लागू गर्ने
ग) चिकित्सकका बच्चाबच्चीहरूलाई पढाउनका लागि आर्मी पुलिसको जस्तै गरी बेग्लै गुणस्तरीय सरकारी विद्यालयहरु बनाउने र उनीहरूको बालवच्चालाई राम्रो स्कुल शिक्षाको ग्यारेन्टी गराउने ।
घ) सामाजिक सुरक्षा प्रणालीलाई राम्रोसँग लागू गरी निवृत भएपछि बस्नको लागि शहरभन्दा बाहिर राम्रो ठाउँमा पोस्ट रिटायरमेन्ट कोलोनीहरुको बिकास गर्ने र रिटायर भएको चिकित्सकहरुलाई दिने ।
ङ) सबैजसो डाक्टरहरू सुबिधा सम्पन्न मेडिकल कलेजहरुबाट आफ्नो बिशेषज्ञता हासिल गरेर आएका हुन्छन् र जब सरकारी अस्पतालमा काम गर्न थाल्छन् त्यहाँ नयाँ प्रविधि हुँदैन । त्यसपछि आफ्नो काम प्रति विष्तृणा जाग्ने, भनेको मागेको चीज अस्पतालले दिन सक्दैन ।
च) अहिलेको कोभिड संकटमा नै हेरौं न– सरकारी अस्पतालहरूमा आईसीयू बेडको कमी छ भेन्टिलेटर छैनन्, अनि कसरी ति डाक्टरहरुले उपचार गर्ने ? त्यसैले सरकारी अस्पतालहरुमा प्रविधीको अपग्रेडको तत्काल खाँचो छ ।

कसरी दिलाउने सर्वसुलभ चिकित्सा शिक्षा ?

बिभिन्न सरकारी अनुगमनकारी निकाय र शिक्षा मन्त्रालय मिलेर चिकित्सा शिक्षालाई धनीहरुका छोरा छोरीहरुले मात्रै पढ्ने बिषय बनाइदिए । मेडिकल शिक्षा किन महंगो भयो त भन्ने बारेमा केही तथ्यहरु छन् ।

एउटा मेडिकल कलेज खोल्नको लागि शुरुमा नै तराइमा १६ बिघा वा काठमाडौंमा १ सय रोपनी जग्गा चाहिने उल्लेख छ । आजका दिनमा काठमाडौंमा १ सय रोपनी जग्गा किन्नको लागि कम्तिमा पनि दुई-तीन सय करोड रुपैयाँ पर्छ । सोहि अनुसारको अस्पतालको भवन बनाउनु पर्‍याे र मेडिकल उपकरणहरु राख्नु पर्‍यो । जसले गर्दा आजको दिनमा एउटा मेडिकल कलेज खोल्नको लागि कम्तिमा ५ सय करोड खर्च हुन्छ ।

जसका लागि बैंकको अहिलेको नियम अनुसार पनि हेर्ने हो भने ३० प्रतिशत इक्वीटी राख्ने र ७० प्रतिशत ऋण लिएर चलाउनुपर्ने हुन्छ । वार्षिक व्याज मात्रै ३५-४० करोड रुपैयाँ हुन्छ । संचालकहरूले लगानी गरेको १५० करोडको वार्षिक १० प्रतिशत मात्रै मुनाफा राख्ने हो भने पनि वार्षिक १५ करोड रुपैयाँ त्यसका लागि चाहिन्छ ।

मेडिकल कलेजहरुमा बिरामीहरू प्रशस्त चाहिने भएकाले बिरामीको उपचार खर्च तुलनात्मक रूपमा अन्य अस्पतालमा भन्दा सस्तो बनाउँदा अस्पतालको खासै कमाई हुँदैन ।

मेडिकल कलेजमा नेपाल मेडिकल काउन्सिल र बिश्व विद्यालयका आधारहरु अनुसार फ्याकेल्टीहरु राख्ने र तलब दिने हो भने मासिक करिब ६ करोड या वार्षिक ७२ करोड त तलबमा मात्रै जान्छ । एउटा मेडिकल कलेजले सरकारलाइ करिब २५ करोड त कर मात्रै तिर्छ ।

यदि यही अवस्था रहने हो भने गाउँबाट, सरकारी स्कुलबाट पढेर आउने जेहेन्दार बिद्यार्थीहरूको पहुँचमा कहिल्यै पनि चिकित्सा शिक्षा पुग्न सक्दैन । जबसम्म गाउँ गाउँका विद्यार्थीले पढ्दैनन् तबसम्म नेपालमा बसेर काम गर्ने चिकित्सक उत्पादन गर्ने कुरा साकार हुन सक्दैन ।

अब आफैं हिसाब गरौं । मनन गरौं हामी कहाँ चुकेका छौं । वार्षिक १ सय ५० करोड त यसरी हिसाब गर्दा तिर्नु पर्ने हुन्छ । अब आजको सिट निर्धारण अनुसार यदि १ सय सिटमा भर्ना गर्‍यो भने १० जना छात्रवृत्तिमा जान्छ । बाँकी ९० जनाबाट वार्षिक १ सय ५० करोड रुपैयाँ उठाउनु पर्ने हुन्छ या त बिरामीको उपचार गर्ने दररेट निजी सरह गरेर बिरामीबाट नै पैसा उठाउनु पर्ने हुन्छ । यो समस्या आम मेडिकल कलेजको हो, यसको समाधान के हो ? कसरी यो लागतलाई घटाउन सकिन्छ ?

यदि यही अवस्था रहने हो भने गाउँबाट, सरकारी स्कुलबाट पढेर आउने जेहेन्दार बिद्यार्थीहरूको पहुँचमा कहिल्यै पनि चिकित्सा शिक्षा पुग्न सक्दैन । जबसम्म गाउँ गाउँका विद्यार्थीले पढ्दैनन् तबसम्म नेपालमा बसेर काम गर्ने चिकित्सक उत्पादन गर्ने कुरा साकार हुन सक्दैन ।

हामीलाई आजका दिनमा गाउँ गाउँमा गएर काम गर्न सक्ने चिकित्सक चाहिएको छ । शहरमा हुर्के बढेको एउटा धनीका छोरा छोरी जसले ५० लाख तिरेर पढ्छन् तिनिहरुले कहिल्यै पनि गाउँमा गएर काम गर्न सक्दैनन् ।

त्यसैले देश सुहाउँदो चिकित्सक उत्पादन गर्ने हो भने गाउँ गाउँबाट जेहेन्दार बिद्यार्थीहरुलाई छनोट गरी चिकित्सा शिक्षा पढाउनु पर्छ र यसका लागि यो शिक्षा गरिबको पहुँचमा हुनु पर्छ ।

गरिब जनताको पहुँचमा कसरी पुग्छ मेडिकल शिक्षा ?

शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय र मेडिकल कलेजहरु सबैलाई बोलाएर राय सल्लाह लिने ता कि सबैलाई आफू सहभागी भएर नियम बनायो वा परिवर्तन गर्‍यो भने कार्यान्वयन गर्न नैतिक दवाव हुन्छ ।

पहिलो विकल्प: अहिलेको जे जस्तो छ त्यस्तै चलाउने हो भने जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण दिने र चिकित्सा शिक्षामा उनीहरूको पहुँच पुर्‍याउने ।

दोस्रो विकल्प: मेडिकल शिक्षा सस्तो बनाउने विकल्पमा दीर्घकालीन समाधान यसरी गर्न सकिन्छ ।

  • मेडिकल कलेज बनाउन सरकारी जग्गा लिजमा दिने ।
  •  बेसिक साइन्स पढाउने भवन वनाउन लगाउने ।
  • सरकारी अस्पतालहरूलाई केही बर्षको लागि बिद्यार्थीको पठनपाठनको लागि मेडिकल कलेजलाई दिने जसले गर्दा सरकारी अस्पताल पनि शिक्षण अस्पतालको जस्तै गुणस्तर पनि बढ्छ । साथै सबैजसो बिशेषज्ञहरु पनि सरकारी अस्पतालमा उपलब्ध हुन्छन् ।
  • कर मिनाह गर्ने ।
  • मेडिकल इक्युपमेन्टमा कर नलगाउने ।
  • बैंकको ऋणमा ब्याज सस्तो दरमा दिने ।
  • कोटा तोकेर बिदेशी बिद्यार्थी पढाउन दिने, उनीहरुबाट रकम लिने, नेपाली विद्यार्थीहरुलाई एकदम सस्तोमा पढाउने ।

यस्तै केही सकारात्मक परिवर्तन गर्‍यो भने अहिलेभन्दा धेरै कम खर्चमा गरिबका छोराछोरीलाई डाक्टर पढाउन सकिन्छ । गाउँ गाउँमा डाक्टर अभियान चलाउन सकिन्छ ।

प्रधानमन्त्रीज्यू,
यदि हजुरले यो कदम चाल्नु भयो भने म किटानका साथ भन्छु कि नेपाली बिद्यार्थीलाई म आफैं  जम्मा दशलाख रुपैयाँमा पढाउने प्रतीज्ञा गर्छु ।

स्वास्थ्य बीमा

एकातिर गाउँ गाउँमा चिकित्सकहरु पठाउन सकिन्छ भने, अर्कोतिर स्वास्थ्य बीमा कार्यक्रम मार्फत गरीव जनताको उपचार गर्न सकिन्छ । नेपालको संबिधानले पनि लेखेको छ निशुल्क स्वास्थ्य सम्र्पूण जनताको नैसर्गिक अधिकार हो । यदि यसलाई साकार पार्ने हो भने सबै जनतालाई बीमा कार्यक्रममा समेट्ने र निशूल्क उपचार गराउने ।

जो विपन्न वर्ग छन् जसले प्रिमियम तिर्न सक्दैनन् उनीहरुलाई सरकारले विपन्न् योजना बनाएर प्रिमियम निशुल्क गर्ने हो भने सम्पूर्ण जनतालाई नि:शुल्क उपचार गर्न सकिन्छ । नेपालमा हाल भएका सम्पूर्ण अस्पतालहरुलाई बीमाको उपचार गर्न दिने हो भने जनतालाई नि:शुल्क उपचार दिने सपना पनि साकार हुन्छ ।

सरकारले हरेक स्थानीय तहमा बनाउन लागेका तीन सय अस्पताललाई यथाशीघ्र बनाउने, बीमा कार्यक्रमलाई विस्तार गर्ने, यसका कमी कमजोरीहरुलाई हटाउने, कोभिड महामारीले हामीलाई एउटा अवसर पनि दिएको छ । स्वास्थ्य सेवालाई गाउँगाउँसम्म ‘एक्सटेन्सन’ गर्ने । यसको भरपुर उपयोग सरकारले गर्नुपर्दछ ।

विभिन्न दाता देशहरुले दिएका सहयोग, उपकरणहरुको सही सदुपयोग आवश्यक छ । भेन्टिलेटर, एक्सरे मेसिन लगायतका उपकरण, अक्सिजन प्लान्टहरु बनाउने सामाग्रीहरुको सदुपयोग गरेर गाउँ गाउँका अस्पतालमा स्वास्थ्य सेवाको पहुँच बढाउने उपयुक्त समय आएको छ । प्रधानमन्त्री ज्यूको विषेश ध्यान यता पनि पुग्ने छ भन्ने विश्वास लिएको छु । सधैं चिकित्सा शिक्षामा समर्पित ।।

(लेखक चितवन मेडिकल कलेज, भरतपुरका अध्यक्ष एवम् प्रवन्ध निर्देशक हुन् )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *