लुम्बिनीमा गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी, जनस्वास्थ्यमा केन्द्रित हुन सुझाव – Nepal Press

लुम्बिनीमा गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी, जनस्वास्थ्यमा केन्द्रित हुन सुझाव

रुपन्देही । कोराना महामारीले आमनागरिकको स्वास्थ्यमा संकट पारेकाले लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

महामारीले आक्रान्त भएकाहरुलाई सान्त्वना दिने गरी कोभिडले पारेको प्रभाव र क्षतिपूर्तिका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ । उद्योगी, व्यवसायी, प्रशासन लगायतका क्षेत्रका अनुभवी तथा विज्ञहरुले भर्चूअलमा कोभिड–१९ ले सर्वसाधारणदेखि उद्योग, व्यवसाय र रोजगारमा अत्याधिक प्रभाव पारेको हुँदा त्यो क्षेत्रको पुनः सञ्चालन र व्यवस्थापनका लागि विशेष बजेटसँगै योजना ल्याउनुपर्ने निष्कर्ष निकालेको हुन् ।

आर्थिक अनुसन्धान केन्द्र नेपालले ‘लुम्बिनी प्रदेशको २०७८÷७९ को बजेटमा क्षेत्रगतरुपमा समेटिनुपर्ने पक्षहरु’ विषयमा आयोजना गरेको संवाद कार्यक्रममा सहभागीहरुले कोरोना महामारीपछिको समयलाई ध्यानमा राखेर बजेट तथा योजना तय गर्न सुझा दिएको अध्यक्ष हुमराज भुसालले जानकारी दिए ।

कार्यक्रममा सहभागी प्रतिनिधिको जवाफ दिँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी बजेट कोरोना केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘क्रमागत योजनालाई निरन्तरता दिने हो, नयाँ योजना समेट्न सकिने अवस्था छैन, बजेट गतवर्षको भन्दा ठूला ल्याउन पनि सकिने अवस्था छैन, त्यही बजेटलाई पनि स्रोत जुटाउन समस्या पर्ने देखिएको छ,’ मन्त्री चौधरीले भने, ‘यस वर्ष कोरोनाबाट प्रभावित क्षेत्रलाई राहत तथा उत्थानका लागि विशेष महत्व दिइने छ । महामारीको बेलामा साधन र श्रोतको बढी आवश्यकता पर्ने भएकोले करमा बृद्धि गर्नुपर्ने पनि देखिन्छ ।’

लुम्बिनी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारीले कोभिड ब्यवस्थापनको लागि कोभिड फण्ड स्थापना गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘कोभिडका कारण बैदेशिक रोजगारी गुमेको छ । आन्तरिक बेरोजगारी बढ्दो छ । सीप विकास तालिमलाई प्राथमिकता दिइ उपलब्धिमूलक बनाउनुपर्ने छ । र, कृषि उद्यमी तालिम दिई निब्र्याजी ऋण उपलब्ध गराउनुपर्ने देखिन्छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले रोजगारी गुमाएकालाई विशेष कार्यक्रम, बाँझो जमिनलाई उर्बर बनाउने र चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्दै स्वनिर्भर उद्योगमा जोड दिनुपर्ने बताए । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र डा. पुरनमान बज्राचार्यले कोरोनाले प्रत्यक्ष प्रभाब पारेका कृषि, रोजगारी, पर्यटन र उद्योगलाई उकास्न बिशेष पहल गर्नुपर्ने र तत्कालीन महत्वका क्षेत्रहरु पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक गुलाब धवल, लुम्बिनी प्रदेश, सहकारी विज्ञ डा. खगराज शर्मा, अर्थशास्त्री डा. राजेश केशर खनाल, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, नेपाल च्याम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, उद्योग बाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेललगायतले कोरोना प्रभावित क्षेत्र र जनजीवनलाई सामान्य बनाई पुनरुत्थानका लागि लुम्बिनी प्रदेश सरकारले विशेष प्राथमिकता दिई बजेट ल्याउन सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीको धारणा समेटेर प्रतिवेदन बनाई विभागीय मन्त्रालयमा पेश गरिने केन्द्रका कोषाध्यक्ष अमर डिसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *