ओलम्पिकका लागि निरन्तर अभ्यासमा छन् कराते खेलाडी – Nepal Press

ओलम्पिकका लागि निरन्तर अभ्यासमा छन् कराते खेलाडी

काठमाडौं । वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन् । अनु अधिकारी र नविन रसाइली अहिले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटेका छन् । उनीहरूको प्रमुख लक्ष्य नै नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा सहभागी हुनु हो ।

कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर, पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराते खेलाडीले स्वास्थ मापदण्ड पूर्ण रूपमा पालना गर्दै तयारीलाई तीब्रता दिइरहेका छन् । अनु अधिकारी र नविन रसाईली वाइल्ड कार्डमार्फत् सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनत गरिरहेका छन् ।

खेलाडीलाई अभ्यास दिइरहेका करातेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी गरिरहेको बताए ।

‘वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका छन्,’ करातेक प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्,’ नेपाली करातेले इतिहास रचेको सबैमा सर्वविदितै छ । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिएपछि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ ।’

करातेका प्रशिक्षक दीपक श्रेष्ठ ।

नेपाली खेलाडीमा पनि त्यसको असर देखिएको छ । जसका कारण अभ्यास केही समय स्थगित पनि भयो । तर, सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रूपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति दिएसँगै नेपाली खेलाडी पनि अभ्यासमा फर्किएका हुन् । तयारीमा रहेका खेलाडीलाई पारिवारिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेठले बताए ।

टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रूपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् ।

स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्य खेलाडीको हकमा भने अझै अनिश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *