मन्त्रिपरिषद् आजै विस्तार, दोहोरिए पुरानै अनुहार – Nepal Press
गण्डकी प्रदेश

मन्त्रिपरिषद् आजै विस्तार, दोहोरिए पुरानै अनुहार

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै २ बजेपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । वैशाख २९ गते पुनर्नियुक्त भएका मुख्यमन्त्री गुरुङलाई बीचमा कोरोना संक्रमण देखिएपछि मन्त्रिमण्डल विस्तारमा ढिला भएको हो ।

मंगलबारसम्म भौतिक र अर्थमन्त्रालयमात्रै विस्तार गरेर प्रि-बजेटको तयारी थाल्ने मनस्थितिमा मुख्यमन्त्री गुरुङ थिए । यसअघि उनी पूर्वमन्त्रीत्रय रामशरण बस्नेत, किरण गुरुङ र राजीव गुरुङ ‘दीपक मनाङे’ लाईमात्र दोहोर्‍याउने पक्षमा थिए ।

तर, मंगलबार साँझ भएको छलफलमा आन्तरिक विरोध भएपछि पुरानैमन्त्रीहरु दोहोरिने पक्का भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ । ‘सुरुमा २ मन्त्रीमात्रै नियुक्त गरेर नीति तथा कार्यक्रम, प्रि-बजेटको तयारी गर्ने मुख्यमन्त्री ज्यूको योजना थियो,’ स्रोतले भन्यो, ‘तर, साँझ पार्टीसँगको छलफलमा सबैले पुरानै दोहोर्‍याउन सुझाव दिएपछि सहमत हुनु भएको हो ।’

यसअघिको मन्त्रिमण्डलमा समाजिक विकास मन्त्रालय नरदेवी पुन मगर, पर्यटन विकास लम्साल, आर्थिक तथा मामिला किरण गुरुङ, भौतिक विकास रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रालय राजीव गुरुङ ‘दीपक मनाङे’ ले सम्हाल्दै आएका थिए । यी मन्त्रालयमा पुरानै मन्त्रीहरु दोहोरिने पक्कापक्की भइसकेको स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु बोलाएपछि कृषि मन्त्रालय मुख्यमन्त्री आफैंले र कानुन मन्त्रालय रामशरण बस्नेतले सम्हाल्दै आएका थिए । स्रोत भन्छ, ‘यी २ मन्त्रालय अहिले पनि खाली हुन्छ । पछि यसबारे सहमतिअनुसार कसलाई दिने छलफल जारी छ ।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त अविश्वास प्रस्ताव वैशाख १३ गते सभामा पेस भएको थियो । अविश्वास प्रस्तावउपर बैशाख १५ गते मतदान हुने कार्यसूची थियो । तर, मतदान कै दिन जनमोर्चा सांसद खिमविक्रम शाही ‘गायब’ भएपछि मतदान २७ गतेका लागि सरेको थियो ।

२७ गते हुने भनिएको आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्नुको साटो मुख्यमन्त्री गुरुङले बैशाख २६ गते नै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन गर्न ७२ घन्टे समयसीमा तोकेकी थिइन् । तर, दिएको समयसीमामा जनमोर्चाका २ सांसद तटस्थ बसिदिएपछि विपक्षी गठबन्धनको बहुमत गुमेको थियो ।

विपक्षी गठबन्धनले बहुमत दावी गर्न नसकेको भन्दै प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) बमोजिम सदनमा ठूलो दलको नेताको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका मुख्यमन्त्री गुरुङ होम आइसोलेसनबाटै वैशाख २९ गते सपथ ग्रहण गर्न प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए । मुख्यमन्त्री गुरुङले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले एक्लैले सपथ ग्रहण गरेका थिए भने मन्त्रिमण्डल विस्तार स्वास्थ्यमा सुधार आएपछि गर्ने बताउँदै आएका थिए । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उनको स्वास्थ्यमा क्रमिक रुपले सुधार हुँदै आएको छ । तर, कोरोनाको पछिल्लो रिपोर्ट भने आइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर