राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा दुईजना उम्मेदवार (भिडियो) – Nepal Press

राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा दुईजना उम्मेदवार (भिडियो)

दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनलाई एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

माओवादी कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार चयन गरेको हो । यही १७ गते तय गरिएको उपचुनावमा लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख गरी २ सय ९६ मतदाता छन् ।

प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर