गन्तव्यमा नपुग्दै दुर्घटनाग्रस्त दुई पाइलटको जेट: एउटालाई हाइसञ्चो, अर्कोलाई चोट – Nepal Press
मदन-आश्रित स्मृति दिवस

गन्तव्यमा नपुग्दै दुर्घटनाग्रस्त दुई पाइलटको जेट: एउटालाई हाइसञ्चो, अर्कोलाई चोट

काठमाडौं । तीन वर्षअघि आजकै दिन केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मदन भण्डारीको सालिकअगाडि उभिएर मुठ्ठी उज्याउँदै सग्लो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कसम खाएका थिए ।

अहिले तीन वर्षपछि बल्खुस्थित भण्डारीकै शालिकअघि उभिएर नेकपारूपी ‘जम्बो जेट’का एक पाइलट ओलीले एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेकोमा दुःख मनाउ गरेका छन् ।

आज नेपाली कम्युनिष्ट आन्दोलनका छिन्नभिन्न धारालाई एउटै प्रवाहमा बगाउनुपर्छ भन्ने मत राख्ने मदन भण्डारीको स्मृति दिवस पनि हो ।

ओलीले ‘कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलाप’ का कारण नेकपा एक रहन नसेको आरोप छन् । अर्का पाइलट प्रचण्ड भने यस विषयमा बोलिसकेका छैनन् । बोलिहाले भने उनले पनि सम्भवतः ओलीमाथि यस्तै केही आरोप लगाउलान् ।

१७ असोजमा बनेको ७ बुँदे सहमतिले एमाले र माओवादीबीच चुनावी गठबन्धन बन्यो । यसले कम्युनिष्ट पार्टीका नाममा उभार ल्यायो । २०७४ को प्रतिनिधिसभा बनेको बाम गठबन्धन र साझा उम्मेदवारले झण्डै दुई तिहाइ ठाउँमा जित हासिल गरे । साझा घोषणा पत्र र साझा उम्मेदवारका साथ अगाडि बढेको गठबन्धनलाई जनताले अनुमोदन गरिदिए, २७५ सदस्यीय प्रतिनिधिसभामा १७४ सिट दिएर । पहिलोपल्ट कम्युनिष्ट पार्टीले सुविधाजनक बहुमत पायो । ७ प्रदेश सरकारमध्ये ६ वटा त नेकपाकै अत्यधिक बहुमत प्राप्त सरकार बने ।

पार्टी एकताको उदेश्यसहित बनेको गठबन्धनलाई चुनावमा व्यापक अनुमोदन प्राप्त भएपछि ३ जेठ २०७५ मा ओली र प्रचण्डले एकताको संखघोष गरेका थिए । बालुवाटारमा बिरुवा रोपेर सँगसँगै पानी हाल्दै सायद ओली र प्रचण्डले रुख जस्तै पार्टी एकतालाई पनि हुर्काउन कमस खाएका थिए होलान् ।

अहिले बालुवाटारको त्यो रुख के छ कुन्नी, तर नेकपा चाहिँ छैन । ४४१ सदस्य लिएर उडेको जेट दुई वर्ष ८ महिना ४ दिनमै दुर्घटनाग्रस्त भइसकेको छ ।

साझा घोषणा पत्रमा देखाइएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बीचमै अलपत्र परिकसकेको छ । अब यसलाई अघि बढाउने अभिभारा एक पाइलट केपी ओलीको धाँधमा छ । मिलेर भ्रष्टाचार नियन्त्रण गर्ने र स्वाधीन नेपाल बनाउने उद्घोष पनि खण्डित भएको छ ।

‘दुई पाइलट’ को असफल परीक्षण उडान

‘सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्व’को भावसहित नेकपमा दुई अध्यक्ष हुने प्रणाली अवलम्बन गरिएको थियो । यसलाई ओलीले प्रतिकात्मक रूपमा भनेका थिए- ‘यो दुईजना पाइलटले चलाएको जेट हो, चानचुने धक्काले दुर्घटना हुन्न।’

हरेक जेटमा पाइलट-को पाइलट हुन्छन् तर नेकपारूपी जहाजमा दुवैजना पाइलट रहने व्यवस्था गरियो । अन्ततः दुई पाइलटले एउटा जेट चलाउने गरी गरिएको परीक्षण उडान असफल सावित भयो । नेकपालाई समृद्ध नेपाल सुखी नेपालीको ‘च्याम्पियन’ बनाउने योजना असफल भयो ।

दुई पाइलटको इगो, हठ र बेमेलका कारण नेकपा रुपी जेट तीन वर्षसम्म पनि उड्न पाएन । दुवै पाइलटले जेट क्रयासको दोषी एकअर्कालाई करार गरेका छन् ।

ओलीले ल्याण्ड नगर्दै पाइलटको सिटबाट प्रचण्डले फाल हानेपछि विमान दुर्घनाग्रस्त भएको आरोप लगाएका छन् । उता प्रचण्डले भने आफ्नो सिट समेत कब्जा गरेर एक्लै उडाउन खोजेका कारण दुर्घटना भएको प्रतिआरोप लगाउने गरेका छन् ।

हरेक विवादमा सिद्धान्तको जलप लगाउने कम्युनिष्टहरूको पुरानै शैली हो । तर, नेकपा भने बिना कुनै सैद्धान्तिक, वैचारिक र राजनीतिक कारण विभाजित हुन पुग्यो । हुनत: एकतापनि खास कुनै सिद्धान्तमा अडिएर भएको थिएन ।

हतार-हतार एमालेले अवलम्बन गर्दै आएको जनताको जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको २१ औं शताब्दीको जनवादलाई घोलघाल पार्दै ‘समाजवादउन्मुख जनताको जनवाद’ बनाइएको थियो ।

‘खुट्टै काटेर भए पनि जुत्ता मिलाइन्छ’ भन्ने ओलीको भनाइले पनि एमाले-माओवादी केन्द्रबीचको एकीकरण स्वभाविक गतिमा भएको थिएन भन्ने कुराको संकेत गर्थ्यो । थोरै समय बाहेक धेरै समय नेकपा विवादै विवादमा रुमल्लियो । कहिले बैठक बस्ने कुरामा विवाद भयो भने कहिले बैठकमा नआएको कुरामा विवाद भयो ।

बैठक बस्दा गरिएको कुर्सीको व्यवस्थापन पनि विवादको विषय बन्यो । आफू पनि अध्यक्ष भएको र दुई अध्यक्षको समान हैसियतका कुर्सी राख्नुपर्ने भन्दै प्रचण्डले यसमा विवाद झिके ।

पटक-पटकका भाषणमा आफ्नो कुर्सी हटाएर मानमर्दन गर्न खोजको भन्दै प्रचण्डले ओलीलाई आरोप लगाए । ओलीको सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर त्यस्तो गरिएको र त्यसमा अन्य कुरा निहित नहरेको प्रष्टिकरण दिइरह्यो ।

माधव नेपालले त प्रचण्डलाई ‘म भए त कुर्सी जुरुक्क बोकेर केपीको छेउमा लगेर छाड तिमी भन्थेँ’ भनेर उक्साएका कुरा प्रचण्ड स्वयंले भने । गत असारको स्थायी कमिटी बैठकमा त केही नेताले कुर्सी आफैं बोकेर ओलीको लहरमा राखिदिएका दृष्य पनि देखिए ।

सरकार र पार्टी एकसाथ हाँकिरहेका ओलीविरुद्ध नेकपामै समीकरण बन्यो । ९ सदस्यीय सचिवालयमा ओलीविरुद्ध प्रचण्ड, माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले समीकरण नै बनाए ।

यसले नेकपाभित्र विवादले दीर्घकालीन रूप धारण गर्‍यो र सम्हाल्नै नसकिने विन्दुमा पुग्यो । नेकपाभित्रको आन्तरिक किचलो पनि शिकार अमेरिकी सहयोग परियोजना ‘एमसिसी’समेत बन्न पुग्यो ।

पार्टीभित्रका प्रायः सबै कमिटीमा अल्पमतमा रहेका ओलीले पार्टी र सरकार संचालन गर्दा त्यो शक्ति सन्तुलनलाई ध्यान दिएनन् । र, विरोधी खेमाले पनि पाँच वर्ष पूर्णरूपमा सरकार संचालन गर्न दिएर ओलीलाई ‘पूर्ण परीक्षण’को मौका दिएन ।

विवादको उत्कर्ष ओलीमाथि १८ पृष्ठको अभियोग लगाएर टुंगियो । राजनीतिक उद्घोष प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ पुसमा भएका छुट्टाछुटै केन्द्रीय कमिटी बैठकपछि भएको भए पनि १८ पृष्ठको अभियोग पत्र सार्वजनिक भएकै विन्दुदेखि नै नेकपा विघटनको औपचारिक शुरूआत भइसकेको थियो ।

‘बुर्जुवा हेडक्वाटरमाथिको आक्रमण’ भन्दै प्रचण्डले १८ बुँदेको राजनीतिक पुष्टि गर्ने कोसिस गरे । ओलीले भने यसलाई अक्षम्य अपराध करार गरे ।

अदालतले सजिलो बनाइदिएको ‘डिभोर्स’

राजनीतिक रूपमा विभाजित भएर एक ठाउँमा बस्नै नसकिने अवस्थामा पुगेको नेकपाको कानूनी विभाजन भने अदालतले गराइदियो । सर्वोच्च अदालतको नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने र एमाले-माओवादी ब्युँताउने २३ फागुनको फैसलाले नेकपा विभाजनको सकसलाई एक हिसाबले सजिलो बिन्दुमा पुर्‍याएको हो ।

यद्यपि यसबाट एउटा पक्ष बढी लाभान्वित भयो भने अर्को पक्षलाई ठूलो क्षति पुग्यो । पार्टीको शक्ति गुमेका ओली पुन:स्थापित एमालेमा शक्तिशाली भए । बहुमतमा रहेको प्रचण्ड-नेपाल पक्ष कमजोर भयो । यद्यपि त्यो विवाद एमालेसम्मै विस्तार भएको छ ।

यो बीचको लडाइँमा प्रचण्ड-माधव ओलीविरुद्ध धेरै पटक अड्डाअदालतमा धाए । निर्वाचन अयोगदेखि सर्वोच्च अदालतसमम उनीहरुले फन्को मारिरहे । संसद विघटनको मुद्दामा ओलीले हारे भने अन्य धेरै मुद्दामा प्रचण्ड-माधव पराजित भए ।

हुन त अदालतले नेकपा ऋषि कट्टेलको हुने फैसला गरेपनि एमाले र माओवादी अलग गराएको थिएन । १५ दिनभित्र अर्को नाम लिएर जाने मौका थियो ।

केपी ओलीले चाहेकै जस्तो फैसला आएकाले उनी जाने कुरा भएन । प्रचण्ड-माधव तत्कालीन नेकपाको बहुमत सदस्यको दावी लिएर अर्को नामसहित निर्वाचन आयोग गएका भए अरु केही समय मुद्दा मामिला चल्थ्यो ।

तर, चैत २४ गते प्रचण्ड-माधव पक्षको अन्तिम स्थायी कमिटी बैठकमा माधव नेपालहरुले आफूहरू एमालेमै गएर ओलीविरुद्ध लड्ने भने । जुन लडाइँ अहिले पनि जारी छ ।

कम्युनिष्ट आन्दोलनमा धक्का

ठूलो दुःखले पुनर्गठित भएको नेकपा त रहेन नै, कम्युनिष्ट आन्दोलनमा समेत यसले ठूलो धक्का दिएको छ । पाँच वर्षका लागि जनमत पाएको नेकपा सरकारले अल्पमत बहुमतको खेलमा उल्झिनु परेको छ । नेकपा बन्दको उत्साह अहिले निरासाको चुलीमा बदलिएको छ ।

जनतलाई देखाइएका सपना कम्युनिष्ट पार्टीभित्रै आएको टुटफुटले कमजोर भएका छन् । ‘कम्युनिष्टले राजकाज सम्हाल्न सक्दैनन्’ भन्ने विरोधीको भनाइ साँच्चै पुष्टि हुने त होइन भन्ने खतरा अहिले उत्पन्न भइरहेको छ। ओलीलाई एमाले जोगाउन सकस भइरहेको छ, प्रचण्डलाई माओवादी केन्द्र ब्युँताउन महासकस छ ।

नेकपा पुनर्गठनको जस दुवैले लिएका थिए, अपजस लिन कोही पनि तयाए छैनन् । गर्नलाई त ओली र प्रचण्ड वृहत् बाम एकताको कुरा गरिरहेका छन्, तर हालसालै त्यो सम्भावना देखिएको छैन ।

प्रचण्डले नेकपाबाट माओवादीमा फर्किँदा बादल, टोपबहादुर, लेखराज,प्रभु साहजस्ता योद्दाहरू गुमाएका छन् । ओलीले भने माधव नेपालहरू प्रचण्डबाट छुट्टिएर आएपछि फरक पार्टीको व्यवहार गरिरहेका छन् ।

तत्काल नेकपा एकता त असम्भव नै छ, एमालेकै एकता पनि बन्ने निश्चित भइसकेको छैन । एउटा कम्युनिस्टरूपी जम्बो जेट ३ वर्ष नपुग्दै दुर्घटना भयो तर त्यसको जिम्मेवारी लिन कोही तयार छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *