१५ लाख खर्चेर दाङबाट पोखरा, एक सातामै संक्रमितको मृत्यु – Nepal Press

१५ लाख खर्चेर दाङबाट पोखरा, एक सातामै संक्रमितको मृत्यु

पोखरा । दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष वैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुर्ख्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकै बेला दाङमा निषेधाज्ञा जारी भयो, उनी त्यतै बसे ।

वैशाख मसान्ततिर स्वास्थ्यमा समस्या देखिएपछि उनी दाङ झरे । कोरोना शंकापछि घोराहीको राप्ती लाइफकेयर अस्पतालमा परीक्षण गरियो । नतिजा नेगेटिभ आयो । संक्रमण नदेखिएपछि आफन्त आशावादी थिए ।

तर, भइदियो उल्टो !

अवस्था बिग्रँदै जाँदा ती पुरुषलाई श्वास फेर्नसमेत गाह्रो हुन थालेपछि अक्सिजन दिएर उपचार गर्न थालियो । वैशाख २३ गते दिन उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भने, ‘फोक्सोमा पनि समस्या देखियो । अब भेन्टिलेटर भएको अस्पताल खोज्नुस् । यहाँ थप उपचार गर्न सकिँदैन ।’

दाङमा भेन्टिलेटरसहितको अस्पताल नपाएपछि उनीहरूले पोखराको अस्पतालमा उपचारको बन्दोबस्त मिलाए । तर, स्वास्थ्य गम्भीर भएकाले एम्बुलेन्सबाट समय लाग्ने भएपछि आफन्तले हेलिकप्टरबाटै पोखरा ल्याए । उपचारका लागि पोखरास्थित ग्यालेक्सी अस्पतालमा ल्याएपछि उनको पीसीआर नतिजा पोजिटिभ आयो, सँगै आइतबार उपचारकै क्रममा मृत्यु भएको छ ।

‘उपचार खर्च १५ लाख बढी, बचाउनै सकिएन’

ती संक्रमितलाई दाङदेखि पोखरा ल्याउन हेलिकप्टरमा मात्र पौने ५ लाख रूपैयाँभन्दा बढी खर्च भएको आफन्त रोमहर्ष भण्डारीले नेपाल प्रेसलाई बताए ।

‘यहाँ (दाङ) देखि पोखरा लैजान पौने ५ लाख रूपैयाँ जति खर्च लाग्यो । के गर्नु सास रहँदासम्म आश हुन्छ भन्छन् । मागेपछि दिनैपर्‍यो,’ भण्डारीले भने, ‘उहाँको उपचारमामात्रै परिवारको १५ लाख रुपैयाँभन्दा बढी खर्च गर्‍यौं । तर, बचाउनै सकेनौं ।’

शवलाई दाङसम्म लैजान एम्बुलेन्स प्रयोग गरिएको र एम्बुलेन्सले एकतर्फीमै ७० हजार रुपैयाँ खर्च लाग्ने उनले सुनाए । ती संक्रमितको शव नगरपालिकाले नै अन्त्येष्टि तुल्सीपुर ६ का वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

गण्डकीमा हिजो मात्र २४ घन्टामा २८ जना संक्रमितको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा गण्डकीका मात्रै नभइ पोखरा उपचारका लागि आएका काठमाडौं, रुपन्देही, दाङलगायत जिल्लामा संक्रमितको समेत मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर