‘नेपालमा कार्ल मार्क्स बस्छन्’ भनेर न्युजविकले छापेको त्यो चर्चित अन्तर्वार्तामा मदनले के भनेथे ? (पूर्णपाठ) – Nepal Press

‘नेपालमा कार्ल मार्क्स बस्छन्’ भनेर न्युजविकले छापेको त्यो चर्चित अन्तर्वार्तामा मदनले के भनेथे ? (पूर्णपाठ)

इटहरी । जननेता मदनकुमार भण्डारी नेपालमा सबैभन्दा बढी नाम लिइने लोकप्रिय कम्युनिस्ट नेता हुन् । राज्यको कुनै कार्यकारी भूमिकामा नपुगी विश्व चर्चित बन्ने सम्भवतः उनी एकमात्रै नेता हुन् ।

भन्डारीको व्यक्तित्वको व्याख्या गर्दा धेरैले अमेरिकी म्यागाजिन न्युजविकलाई कोट गर्छन । न्युजविकले ३० वर्षअघि मदनको अन्तरवार्ता लिँदै हेडलाइन बनाएको थियो- ‘इन नेपाल, कार्ल मार्क्स लिभ्ज’ अर्थात ‘नेपालमा कार्ल मार्क्स बस्छन् ।’

कतिपयले ‘नेपालमा कार्ल मार्क्स अझै जिवित छ’ लेखिएको भनेर पनि कोट गरेका छन् । तर, सन १९९१ को मे २७ (विसं २०४८ जेठ १३) मा छापिएको अन्तरवार्तामा भने त्यस्तो वाक्य छैन । सन १९३३ मा स्थापना भएर न्यु योर्क शहरबाट संचालित न्युजविक साप्ताहिक म्यागाजिनमा माइकेल लिट्भिनले अन्तरवार्ता लिएकी थिइन् ।

नेपाल प्रेससँगको सम्पर्कमा आएकी लिट्भिने किन ‘मार्क्स’सँग मदनको तुलना गर्नु भएको ? भन्ने प्रश्नमा केहि बोल्न चाहिनन् । कुनै बेला न्युजविकदेखि दि न्युयोर्क टाइम्ससम्ममा पत्रकार र फोटोपत्रकार भएर काम गरेकी लिट्भिनन अहिले अमेरिकाको आर्किटेक्चर फोटोग्राफरको रुपमा परिचित भएको फोटोग्राफि कोपले उल्लेख गरेको छ ।

उनै लिट्भिनले लिएको तीस बर्ष अगाडि १२ प्रश्नहरु सोधेर काठमाडाैंमा लिएको मदन भण्डारीको अन्तरवार्ताको पूर्णपाठ, मदन-आश्रित स्मृति दिवसको सन्दर्भ पारेर नेपालप्रेसले नेपाली भाषामा अनुवाद गरेको छ ।

नेपालमा कार्ल मार्क्स बस्छन्

मदन भन्डारी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का महासचिव हुन् । नेपालमा गत साल भएको प्रजातान्त्रिक आन्दोलनले राजतन्त्रलाई नहल्लाउन्जेलसम्म कुनै राजनीतिक दलहरुको कानूनी हैसियत थिएन भने भण्डारीलाई थोरैमात्रै नेपालीले चिनेका थिए ।

यद्यपि, गत साताको संसदीय चुनावमा काठमाडाैंका चुनावी मैदानहरुमा कम्युनिष्टहरुले विपक्षीलाई नराम्रोसँग हराए र देशभर राम्रो उपस्थिति जनाए । मदन भण्डारी आफैंले अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराए । आशावादी भण्डारीले चुनाव हुनु केहि दिनअगाडि न्युजविककी माइकेन लिट्भिनसँग कुराकानी गरेका थिए । कुराकानीको सारांशः

अन्य देशहरुमा कम्युनिष्टहरु असफल भइरहेको बेलामा तपाईं कसरी सफल हुने सोच्नु हुन्छ ?

साम्यवादको मुख्य उद्देश्य भनेकै समाजका अत्याचार, भ्रष्टाचार र अन्यायहरुको अन्त्य गर्नु हो । यदि विगतमा त्यो नीति कार्यान्वयनका शिलशिलामा केहि भूलहरु भए भने पनि यसको अर्थ यो हैन कि साम्यवादका उद्देश्यहरु असफल भए । जहाँसम्म हाम्रो पार्टीको सवाल छ, हामीले प्रजातन्त्र स्थापनाको निर्णय गरेका छौँ । र, हामी जनताबाट निर्वाचित भएपछि मात्रै सत्तामा जानेछौँ ।

मैले तपाईंसँग उत्तर कोरियाली नेता किम इल सुङका पुस्तकहरु देखेँ । उनको बारेमा तपाइँको धारणा के छ ?

किम इल सुङ एक सफल कम्युनिस्ट र नेता हुन्, जसले उनको देशको क्रान्ति र विकासमा योगदान गरेका छन् । म उनका सबै कुराको तारिफ गर्दिन । र, मलाई उनको बिचार नै पच्छ्याउनुपर्छ जस्तो पनि लाग्दैन ।

माओको लेखनी बारेमा ?

हाम्रो देशका दुरदराजका केहि युवाहरु चिनियाँ क्रान्तिको इतिहास अध्ययन गरिरहेका छन् र यसबाट सिकिरहेका छन् ।

नेकपा (एमाले)ले चीन, सोभियत युनियन र उत्तर कोरियाका कम्युनिस्ट पार्टीहरुसँग कसरी तुलना गर्छ ?

ती सबै पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित समाजको स्थापनामा सक्रिय भएका छन् । ती देशका कम्युनिष्ट आन्दोलनहरु विभिन्न रुपले विकसित भएका छन । चीनमा सशस्त्र संघर्षबाट उनीहरुले मुक्ति पाएका थिए भने नेपालमा हाम्रो शान्तीपूर्ण आन्दोलन भयो । चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र हस्तक्षेप सामना गरिरहेका छन् । नेपालमा पनि हामीहरुले वैदेशिक हस्तक्षेप, सम्राज्यवाद र क्षेत्रीय प्रभुत्वको विरुद्ध आवाज बुलन्द गरिरहेका छौं ।

केही गैरकम्युनिष्टहरु भन्दैछन् कि तपाँइले चीन र भारतीय कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग लिइरहनु भएको छ  ?

यो झूठ हो । हामीले चिनियाँ, कोरियाली , भारतीय कम्युनिस्ट पार्टीहरु कतैबाट पनि न आर्थिक वा भौतिक सहयोग मागेका छौं न त हामीले लिएका नै छौं । यी आरोपहरु हाम्रा विपपक्षीहरुले लाइरहेका छन् जसले वास्तवमा विदेशी सहयोग लिइरहेका छन् ।

जात व्यवस्था र धार्मिक स्वतन्त्रतामा तपाईंको पोजिसन के हो ?

हामी विभिन्न जाजजातीहरुमा हुने सामाजिक विभेद अन्त्य गर्न चाहान्छौं । तर, हामी विभिन्न जातजातीका संस्कृति, रहनसहन र धर्मको सम्मान गर्छौं । केहि पाका मान्छेहरुमा जात व्यवस्थाको भावना अझैसम्म पनि छ । हामी उनीहरु बिरुद्ध शक्ति प्रयोग गर्न चाहादैनौं ।

यदि उनीहरुको चेतना नै त्यहि हो भने हामी शिक्षित बनाउने प्रयास गर्छौं । तल्लो जातकोलाई अपमान गर्ने कसैको अधिकार हुँदैन भने कसैलाई पनि उच्च जातलाई सम्मान गर्न बाध्य गराउनु हुँदैन । हामी धर्म निरपेक्ष मुलुक बनाउन चाहान्छौं । सबैले आ-आफ्नो धर्म मान्न पाउनेछन् । राज्य सबै धर्महरुमा तटस्थ हुनेछ ।

तपाईं तपाईंको देशका जमिनदारहरुलाई कस्तो व्यवहार गर्नुहुन्छ ?

हामी अहिलेका जमिनदारहरुबाट जमिन लिन्छौं । र जस्ले खनजोत गरेको छ उसैलाई दिन्छौं । हामी अत्यन्तै शान्तिपूर्ण तरिकाले प्रयास गर्नेछौं । र, हामी पैसा नदिकनै जमिन लिने छैनौं । यदि जमिनदारले मानेनन् भने मात्रै हामी उनीहरुविरुद्ध बल प्रयोग गर्न बाध्य हुनेछौं ।

तपाई कलेक्टिभिजेसन (निजी जमिन जफत गरेर सामुहिक खेती गराउने सोभियत संघको प्रचलन)को पक्षमा वकालत गर्नुहुन्छ ?

हामी यसलाई कार्यान्वयन गर्न बल प्रयोग गर्ने छैनौं । तर, जनताको सेवा गर्न हामी नमूना सहकारीहरु स्थापनामा भने प्रोत्साहन गर्नेछौं ।

नेपालमा कम्युनिष्टको बहुमत आएमा वैदेशिक सहयोग कटौती हुने भन्ने कुरामा तपाई कत्तिको चिन्तित हुनुन्छ ?

कम्यनिष्ट सत्तामा आएकै कारणले नेपालमा वैदेशिक सहायता कटौती गर्नुपर्ने कुनै कारण नै छैन । तर, हामी हाम्रो देशको स्वतन्त्रता, मानप्रतिष्ठा र सार्वभौमसत्ताको मूल्य चुकाएर भने कुनै पनि वैदेशिक सहयोग माग्ने छैनौं । हामीलाई वैदेशिक सहयोग भन्दा यी कुराहरु महत्वपूर्ण छन् ।

भारततर्फ तपाईं कस्तो खालको पररास्ट्र नीतिको वकालत गर्नुहुन्छ?

भारतसँग विगतमा केहि असमान र अपमानजक सम्झौताहरु भएका छन् । हामी सन्धीको समीक्षा गरेर पुनरावलोकननको प्रयास गर्नेछौं । हामीलाई असमान र अपमानजनक हुने प्रावधानहरु हटाउन चाहान्छौं । हामीले चाहेको एकै कुरा भनेको चीन र भारतसँग समधुर सम्बन्ध बनाउनु हो । हामी न चीनपरस्त हुन चाहान्छौं न भारतपरस्त ।

जतिबेला नेपालमा जनताहरु राजतन्त्रबिरुद्ध आन्दोलनमा थिए, ठीक त्यति नै बेला अरु धेरै देशहरुका जनताहरु त्यहाँका कम्युनिष्ट शासकविरुद्ध उठेका थिए । यदि नेपालमा पनि यस्तै भयो भने तपाईं के गर्नुहुन्छ ?

हामी शक्तिमा हुन्जेल त्यस्तो कुनै प्रदर्शनहरु हुने छैनन् । तर, कहिलेकाही असामाजिक तत्वहरुले समाजमा भाँडभैलो मच्चाउने प्रयास गर्छन । यदि त्यस्ता प्रकारका मान्छेहरुले भाँडभैलो मच्चाउन खोजे भने हामी राज्यको शक्ति प्रयोग गर्दैनौं । तर, हामी जनताहरुलाई परिचालन गर्छौं । यदि उनीहरुले हाम्रोविरुद्ध प्रदर्शनहरु गरे भने हामी जनतालाई हाम्रो पक्षमा प्रदर्शन गर्न आग्रह गर्छौ । हामी प्रहरीको शक्ति प्रयोग गर्दैनौं ।


प्रतिक्रिया

One thought on “‘नेपालमा कार्ल मार्क्स बस्छन्’ भनेर न्युजविकले छापेको त्यो चर्चित अन्तर्वार्तामा मदनले के भनेथे ? (पूर्णपाठ)

  1. abc nepal.tv आजभन्दा ७ वर्ष अगावै प्रकाशन गरीसकेको लेख र टाईटल भएकाले खासै प्रभाव परेन।यो विषयलाई ताजकी बनाउन उठान गर्नु चै ठिकै हो है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *