नेपाल चिन्तन

जननेतासँग १४ वर्ष, १० महिना

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन लागि नै सकेको हुनुपर्छ । मध्य वर्षातमा हराभरा वनेका खेतवारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका-नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङ्को इटहरा गाउँ खोज्दै हिंडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भई ‘को-अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।

कुरा के थियो भने- पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको ‘मोर्चा संगठन’सित सम्वन्धित अधिकांश नेता-कार्यकर्ताले भर्खरै विद्रोह गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरुले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को-अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरुको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो ।

‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म वहाँलाई सम्पर्क गरी २०३५ साउन ४-९ गते हुन लागेको ‘कोके’ को ‘तेश्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै-खोज्दै, रात-साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेको थिएँ । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेलिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटेँ । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ !

०००

‘कोके’ को ‘तेश्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीचमा भइरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पन्चायती व्यवस्थाका पुलिसहरू बाहिर वाक्लो गस्तीमा खटिएका थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो त्यस्को ठेगान थिएन, कुनै पनि वेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह तहमा सुरक्षा प्रवन्ध त हामीले गरेका थियौं तर पनि पुलिसहरूको अस्वाभाविक आक्रमणको सम्भावनालाई टार्न सकिन्नथ्यो ।

हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षाको विशेष व्यवस्था गर्‍यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दुक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनेट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनु भएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो ।

रत्न र वासुका वारेमा त साथीहरूले केही केही वुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सवै चकित भए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो- बैचारिक रुपमा प्रखर नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाईँका निम्ति पनि तयार नेताका रुपमा हामीले उहाँलाई चिन्यौं ।

०००

‘कोके’ को संगठन विस्तारमा मदनको भूमिका वेगवान थियो । मेची-कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व-दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो, जसको प्रमुख स्वयम् मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुर्नव्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो ।

२०३५ साल पुस ११-१४ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदनले गर्नु भएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्‍यो भने अर्का तिर पार्टीभित्र धनुषा जिल्ला कमिटी सदस्य रामचन्द्र र अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । त्यसैको समानान्तर केही साथीहरुले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै विर्सजन उन्मुख विचार पनि अघि सारेका थिए ।

‘राष्ट्रिय सम्मेलन’ स्थलमै केही साथीहरुले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो- पर्चाको शिर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलावारी करें !’ थियो । त्यसवेला चन्द्रप्रकाश (सीपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो र, उहाँ बहुचर्चित हुनुहुन्थ्यो । हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित वनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र-अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सकृयताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निस्प्रभावी वनायौं ।

०००

२०४६ भदौमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनबाट मदन सर्वसम्मत महासचिवमा निर्वाचित हुनुभयो । त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलन पश्चात खुला भएका राजनीतिक पार्टीहरु वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेताहरूमध्ये पृथक उचाईका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको तथ्यलाई त्यसवेला सहजै वुझ्न सकिन्थ्यो ।

विभिन्न वामपन्थी समूहहरूलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो मदनको । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत वहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो- मदनको ।

छरिएका वाम पार्टीरूलाई गोलवन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो उहाँ । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालीन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो ।

मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसवेला वहाँ केवल ३९ वर्षको मात्र हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले एमाले भित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी वुझ्नसकेका छन् जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्वन्धमा आ-आफ्नै धारणा राख्नेहरूको काफी संख्या छ ।

अझ कतिपयले त वहाँलाई भावनात्मक हिसावले मात्र वुझिरहेका छन् जस्तो लाग्छ । मदन भण्डारीलाई वुझ्नु एउटा व्यक्तिलाई वुझ्ने जस्तो मात्र कुरा होइन । यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो ।

मदन कम्युनिष्ट आन्दोलन भित्रको व्यक्ति मात्र नभएर, विचार-प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो ।
पूर्वीय साहित्य, दर्शन तथा मार्क्सवादी साहित्यको गहन एव समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिवद्धताले विकसित भएको व्यक्तित्व थियो- मदन भण्डारीको । नेकपा (एमाले)को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले वहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त वेजोड मानेको छु ।

२०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर, वैठकहरूमा वहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो । २०३९ मा सिपीसँगको विवादपछि महासचिव वन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटव्यूरो र मदनको अगुवाइमा जस्तो भएको थियो केन्द्रीय कमिटी । वैठकमा वहस छलफल हुँदा म लगायतका अरू कति साथीहरू मदनले अगुवाइ गर्ने वहसमा पक्ष भएर उभिदा गौरववोध हुन्थ्यो । पछिपछि त वहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी वन्दै जानथाल्यो कि उहाँलाई पोलिट्व्युरोमा ल्याउनै पर्ने भयो ।

मदन पोलिटव्यूरोको सदस्य बनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रुपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र कार्यक्रमिक विषयहरूलाई अध्यावधिक गर्ने सवालमा वहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो ।

०००

मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामन्जस्यता, पार्टी शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका वीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले काँग्रेस र वामपन्थी वीच सहकार्यको मार्गचित तय गर्‍यो । उहाँको यहि वस्तुनिष्ट विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल वनाउन निर्णायक भूमिका खेल्यो ।

आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर, प्रकृयाको ढिलाईले र विषयलाई वोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैन्थ्यो । कतिपय वेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो ।

म त्यसवेला काठमाण्डौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २०४६ चैत्र २६ गतेको राजा, कांग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी अवसरवादी रूझान राखेको भन्ने हामीलाई लागेको थियो ।

हाइकमाण्डसँग परामर्श नगरी वा दिइएको निर्देशन विपरित सम्झौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेण्टिमेण्ट’मा चैत्र २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, बाेल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सँधै लखेटिरहन्छ- त्यसवेला मदन सहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्‍याउन सकेका थियौं कि थिएनौं ? मदन आफैं यसबेला रहनुभएको भए यो प्रशंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?

२०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादी समूहका बीचमा एकीकरण हुने स्थिति वन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पूरा गरी छाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष वनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा वहाँ संकल्पवद्ध हुनुहुन्थ्यो ।

यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सूदुर पूर्वदेखि सूदुर पश्चिमसम्म मनमोहन अधिकारी लगायतका नेताहरुलाई साथमा लिएर वहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनु भएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा एउटा अभियान बनेर देशव्यापी रुपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरंग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्‍यो ।

तीव्र वैचारिक वहसकै बीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक वहुमतले पारित गरेको थियो, त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनु भयो ।

०००

आम निर्वाचनमा भर्खरै कांग्रेसका लोकप्रिय नेता एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्ने मदनले वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।

मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र काठमाण्डौंको दशरथ रंगशालामा वीसौं हजार जनताका बीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, वहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालयित देखिन्थेँ ।

तर अचम्म ! मदनलाई हजारौंको त्यो उपस्थितिमा बाेल्न पाउनु भएन । त्यहाँ मनमोहनले बाेल्नुभो, माधव, झलनाथ र सिपीसमेतले बाेल्नुभो तर मदनले बाेल्न पाउनु भएन । मदनले बाेल्नुपर्छ भनेर मैदानमा वस्नेहरू कराइरहेका थिए, तर पनि उहाँले बाेल्ने अवसर जुरेन । यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ? उद्घाटनसभा सकेर मदन र म सँगै फर्केका थियौं । वहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि बस्न आग्रह गर्नुभयो । उद्घाटन सभामा आफूलाई वोल्न नदिएको वारेमा मुखै खोलेर त केही बोल्नु भएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दैगरेको अस्वस्थ्यताका वारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका वावजूद पनि महाधिवेशनको वन्द सत्रमा वहाँले प्रस्तुत गर्नु भएका विचार, योजना र नेतृत्वको शानदार विजय भएको थियो ।

०००

२०४८ को आम निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा वहुमत प्राप्त गरेको थियो, जसले ऊभित्र भनिनसक्नुको उन्माद जन्मायो । कांग्रेसको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने र त्यस हिसावले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति वन्यो ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् कांग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमान जी कै आग्रहमा यस मोर्चावन्दीको एउटा महत्वपूर्ण भूमिकामा मदन भण्डारी रहनु भएको थियो ।

यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भए । र, मलाई लाग्छ, केही महत्वपूर्ण योजनाहरू समेत वनेका थिए । २०५० जेठ १ गते मदन र मेरो लगभग एक घण्टा जतिको भेटमा वहाँले यही जानकारी तथा अन्य केही संभावित विषयहरू तर्फ पनि संकेत गर्नुभएको थियो ।

गणेशमानजीहरुसित त्यसवीच पटकपटक भएका भेटघाटवारे जानकारी गराउँदै आफू काठमाडाैं बाहिर रहेका वेला मलाई सम्पर्क विन्दूका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाईन टेलिफोन नम्वर गणेशमान जीलाई दिएको र कुनै पनि वेला वहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिवारे विवरण सहितको एउटा टिपोट दिनुभएको थियो । मैले त्यसवेला मदनले भन्नु भएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें, आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका वारेमा जिज्ञासा राखेँको थिए ।

मदनको निर्देशन थियो- यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन्, गोपनियता वचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चीट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशनको उद्घाटनका लागि हिड्ने तयारीमा लाग्नुभयो । म एकछिनपछि मदनलाई शुभ-यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागे ।

२०३५ असार अन्तिममा पहिलोपटक भेटेको मदनलाई २०५० साल जेठ १ गते विहान साढे आठ वजेपछि कहिल्यै भेट्न पाइनँ  । मदन भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मियतामा एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रुपमा बिताएँ । मदनसित विताएको ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन ।

हार्दिक श्रद्धान्जली जननेता मदन भण्डारी !!

(ईश्वर पोखरेलको अप्रकाशित पुस्तक ‘जननेता मदन भण्डारी’बाट साभार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *