संक्रमितको शव २१ घण्टासम्म व्यवस्थापन नगरिएको आफन्तको गुनासो – Nepal Press

संक्रमितको शव २१ घण्टासम्म व्यवस्थापन नगरिएको आफन्तको गुनासो

सुर्खेत । कोरोना संक्रमितको मृत्यु दर बढेसँगै कर्णाली प्रदेश अस्पताल कालागाउँमा २१ घण्टासम्म शव व्यवस्थापन हुन नसकेको गुनासो बढ्न थालेको छ ।

शव व्यवस्थापनका लागि अस्पतालबाहिर कुर्नुपर्ने बाध्यता रहेको बराहताल गाउँपालिका २ हरिहरपुरका कोभिड बाट ज्यान गुमाएका एक मृतकका आफन्तले बताएका छन् ।

‘हिजो बेलुका आठ बजे नै हाम्रो आफन्तको कोरोनाका कारण ज्यान गएको हो । उहाँको शव अहिलेपनि अस्पतालकै वेडमा छ । हामी भने उहाँको मृत्यू भइसकेपछि अस्पतालबाट बाहिर निस्केका थियौं । उहाँको अन्तिम संस्कार भएको हेरेर घर फर्कने भनेपनि अहिलेसम्म कुनै व्यवस्था भएको छैन ।’

प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिका सदस्य पदमा खड्कासँग गुनासो गर्दै ती आफन्तले भने, ‘बाहिर निषेधाज्ञा छ । बजार पूर्ण रुपमा बन्द छ । मृत्यू भएपछि आवश्यक पर्ने सामाग्री पनि कसरी ल्याउने भन्ने पीर बढेको छ ।’

अस्पततालको वेडमा मृत्यू भएकाहरुको समयमै शव व्यवस्थापन नगर्दा छेउछाउका शय्यामा उपचार गराइरहेका बिरामी पनि त्रसित हुने गरेका छन् । मृत्यू भएकाहरूका बारेमा सकभर थाहै नदिई व्यवस्थापन गर्नुपर्नेमा लामो समयसम्म त्यहीँ राखिदिएकोमा एक कुरुवाले गुनासो गरे ।

शवको समयमै व्यवस्थापन गर्नुपर्नेमा त्यसो नभएको अनु्गमनका क्रममा पाइएको सांसद खड्काले बताईन । ‘कम्तीमा शवको तत्काल व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले प्रदेश अस्पतालमा चारवटा शवहरु रहेको हामीले अनुगमनका क्रममा पायौं ।’ उनी भन्छिन्, ‘मृतकका आफन्तहरु अहिलेपनि अस्पताल बाहिर कुरिरहेका छन् । वेडमा शव भएका कारण स्वास्थ्यकर्मी, कोभिडका विरामीहरुमा नकारात्मक असर परिरहेको हामीले पाएका छौं ।’

समितिका अध्यक्ष देवी वलीले अस्पताल प्रशासनलाई कोरोनाका विरामीलाई एकै स्थानमा राखेर उपचार गर्न सुझाव दिएको बताईन । ‘एकै स्थानमा उपचार गर्ने, अस्पतालमा मृत्यू भएकाहरुको शव तत्काल व्यवस्थापन गर्ने र उपचारको माध्यमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव हामीले दिएका छौं ।’

प्रमुख जिल्ला अधिकारी छवि रिजालले अस्पतालमा सेनाले शव व्यवस्थापन गरिरहेको जानकारी दिए । ‘हरेक दिन दिउँसो दुई बजेपछि सेनाले शव व्यवस्थापन गर्दै आइरहेको छ ’ उनी भन्छन्, ‘अब शव गृहमा राख्ने गरी व्यवस्थापन मिलाउँछौं । स्वास्थ्यकर्मी र अन्य बिरामीमा हुने मनोवैज्ञानिक त्रासलाई कम गर्न हामी पहल गर्छौं ।’

सीडिओ रिजालले अनुसार मृत्यु भएकाहरूका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न जाँदा प्रहरीले नरोकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर