भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम – Nepal Press

भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

रुपन्देही । रुपन्देहीको बेलहिया नाका भारतसँग जोडिएको नेपालको दोस्रो ठूलो नाका हो । बीरगन्जपछिको दोस्रो ठूलो नाकाको रुपमा रहेको यो नाका गतवर्षको लकडाउनमा पनि चलिरहेको थियो अहिले पनि उस्तै भीडभाड रहेको छ ।

पूर्णरुपमा नागरिकलाई आउनजान रोकिए पनि भारतबाट नेपाल आउने नेपाली, परिचय पत्र भएका भारतीय नागरिक र भारतबाट नेपाल आउने मालबाहक सवारीसाधनलाई कुनै रोकतोक छैन ।

सीमा नाकामा भारतबाट आउने नागरिकलाई केही मात्रामा परीक्षण गरिए पनि सवारी साधनमार्फत आउने कसैको पनि एन्टिजेन परीक्षण नहुने गरेको पाइएको छ ।

नाकाबाट प्रवेश पाएका त्यस्ता सवारीसाधन माल ढुवानीका लागि मुलुकका विभिन्न सहरमा निर्वाध पुग्दा यसले कोरोना भाइरसको संक्रमण बढाएको छ । भारतबाट आउने कुनै मालबाहक सवारीसाधनलाई नेपालमा मालसामान ढुवानी गरेर फर्किन कम्तीमा पाँचदेखि १५ दिन समय लाग्छ । यो बीचमा सवारीसाधनका चालक, सहचालकको कैयौं ठाउँमा सामाजिक घुलमिल हुन्छन् ।

भारतबाट आउने मानिसको जाँच गर्न नाकामा राखिएको हेल्थडेक्सले मालबाहक सवारीसाधनमा आउनेको परीक्षण गर्दैन । स्थानीय प्रशासनले क्वारेन्टिनका रुपमा मालबाहक सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए पनि भन्सार कार्यालयले त्यो पालना गरेको छैन ।

महामारीको अवस्थामा मुख्य भन्सार नाकाहरुबाट अत्यावश्यक सामानमात्र ढुवानी हुनुपर्छ । बाँकी सबैको परीक्षणपछि मात्रै विभिन्न जिल्लाहरुमा ढुवानीको अनुमति दिए भाइरस संक्रमण जोखिम कम हुन्छ ।

संक्रमण नियन्त्रणमा गरेकोे हेलचेक्र्याइँका कारण बेलहिया भन्सारमा रहेका १९ जना कर्मचारी संक्रमित भइसकेका छन् । संक्रमित कर्मचारी बढ्दै जान थालेपछि प्रज्ञापनपत्र पास गर्न जनशक्ति अभाव देखिएको भैरहवा भन्सारका सूचना अधिकारी तीर्थराज पासवान बताउँछन् ।

बेलहिया नाका हुँदै दैनिक तीनदेखि सय मालबाहक गाडी अहिले नेपाल भित्रिरहेका छन् । यी गाडीका चालक र सहचालक गरी दैनिक सात आठ सय भारतीय विना परीक्षण नेपाल प्रदेश गरिरहेका छन् । जाँच बिना नेपाल प्रवेश गरिरहेका चालकहरु संक्रमणमुक्त छन् भन्ने कुनै ग्यारेन्टी पनि छैन ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले सीमा क्षेत्रमा राखिएका हेल्थ डेस्कले पैदलमार्गबाट आउने नेपालीको परीक्षण गरिए पनि मालबाहक सवारीसाधनका विषयमा धेरै ध्यान पुग्न नसकेको बताए । उनले यसका लागि भन्सार कार्यालयमा प्रज्ञापन पत्र लिने, जाँचपास लिने समयमा सवारीसाधन तथा यसका कर्मचारीलाई निर्मलीकरण तथा चेकजाँच गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर