बसन्ती क्षेत्रीको ‘बसन्ती अचार’ – Nepal Press

बसन्ती क्षेत्रीको ‘बसन्ती अचार’

अचार बेचेरै वर्षमा लाखौं आम्दानी

बसन्ती अचार । रुपन्देही क्षेत्रमा लोकप्रिय ब्राण्ड हो यो । यहाँका धेरै ग्राहकहरू यो अचारसँग परिचित छन् । यसका सम्झनेहरू नियमित उपभोक्ताको प्रतिक्रकिया हुन्छ– अचार भन्ने बित्तिकै ‘बसन्ती’कै सम्झन्छौं ।

‘बसन्ती अचार’को उत्पादनकर्ता भने ७० वर्षीया बसन्ती खत्री हुन् । महिला उद्यमी हुन् उनी । रुपन्देहीमा बसन्ती सफल र उदाहरणीय उद्यमीका रुपमा परिचित छिन् । उनले आफ्नै नामबाट अचारको ब्राण्ड स्थापित गरेकी छन् ।

निरन्तर उद्यमी यात्रा
साढे दुई दशकदेखि उनको यात्रा निरन्तर छ । बजारमा बसन्ती र अचारलाई पर्यायबाची शव्द जस्तै मान्ने गर्छन् । ०५३ सालदेखि बुटवलमा अचार बेच्न थालेकी बसन्ती खत्री अहिले पनि यहि पेसामा सन्तुष्ट छिन् । उनी अचार बेचेर मनग्गे आम्दानी गर्छिन् ।

बुटवलको शिवनगरमा रहेको बसन्ती उचार उद्योग सञ्चालन गरेकी बसन्तीले २०५३ सालदेखि अचार उद्योग सञ्चालनमा ल्याइन् । ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

उनी आफैंले बनाएको अचार बेचेर वार्षिक २५ लाख आम्दानी गर्दछिन् । पहिले त उनलाई दुःख थियो । ५० रुपैयाँको लगानीमा आँपको अचार बनाएर सालको पातमा २ रुपैयांको दरले बेच्थिन् । ‘सुरुमा त शिवनगरमा एक दुई रुपैयाँ लिएर सालको पातमा अचार किन्न आउँथे । त्यही देखेर आत्मबल मिल्यो र अहिलेसम्म अचारलाई निरन्तरता दिइएकी छु,’ बसन्ती सुनाउँँछिन् । पछि प्रतिकेजी ३० रुपैयाँमा पसल पसलमा लगेर बिक्री गर्न थालिन् ।

 

बसन्तीको अचार अहिले पोखरा, काठमाडौंजस्ता ठूला शहरमा पनि बिक्री हुन्छ । त्यतिमात्र होइन, विदेशका विभिन्न स्थानमा समेत उच्च माग हुने गरेको छ यो अचारको । खासगरी कोसेलीको रुपमा प्रयोग हुँदै आएका उनको अचारले सबैको मन लोभ्याउने गरेको छ ।

आँप, अकबरे खुर्सानी, लसुन, लप्सी, सिन्की, मूला, कागती, करेला, मेथीलगायत २४ प्रकारको अचार बनाउने बसन्ती बताउँछिन् ।

अचार बनाएबापत खत्रीले विभिन्न सम्मान र पुरस्कार समेत प्राप्त गरिसकेकी छन् । पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृषि, उद्योग तथा व्यापार मेला महोत्सवमा उनको अचार अनिवार्यजस्तै बनेको छ ।

बसन्ती महिला उद्यमीलाई महिला उद्यमीलाई सरकारले प्रोत्साहन गर्न जरुरी रहेको बताउँछिन् । महिलाले गरेको मेहेनत र सीपलाई सबै क्षेत्रमा लागू गर्नसके भारतबाट आउने लाखौंको अचार रोकिने छ र यहाँका महिला सीपयुक्त बन्दै आत्मनिर्भरतामा जोडिने छन्,’ बसन्ती भन्छिन् ।

स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिएमा खुला सीमाबाट आउने गुणस्तरहीन अचारलाई रोक्दै नेपाली उपभोक्तालाइ पनि स्वस्थ अचार दिन सकिने उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर