राष्ट्रिय जनमोर्चाभित्र २७ वर्षमा देखिएका गम्भीर घटना – Nepal Press

राष्ट्रिय जनमोर्चाभित्र २७ वर्षमा देखिएका गम्भीर घटना

राष्ट्रिय जनमोर्चाको २७ वर्ष लामो संसदीय इतिहासमा केही यस्ता जघन्य घटना घटेका छन्, जसको गम्भीर समीक्षा हुनु पर्ने आवस्यकता छ। ती घटनाहरूमा कुनै सामान्य आलोचना गरेर चोख्याउने काम गरिएको छ भने कुनैमा त्यसो पनि गरिएको छैन। राष्ट्रिय जनमोर्चामा देखिएका केहि राजनीतिक घटनाको यहाँ चर्चा गरिएको छ :

  • २०६३ मंसिर १० गते राष्ट्रघाती नागरिकता विधेयकको पक्षमा राष्ट्रिय जनमोर्चाका तात्कालीन संसदीय दलका नेता चित्रबहादुर केसीको नेतृत्वमा डिलाराम आचार्य र हरि आचार्यले मतदान गरे । पार्टीले राष्ट्रघाती नागरिकता विधेयकको विरुद्धमा मतदान गर्ने निर्णय गरेको थियो । हामी सडकमा उक्त विधेयकको बिरुद्धमा नाराजुलुस गर्दै थियौं । संसदभित्र हाम्रा सांसदहरुले पक्षमा मतदान गर्नुभयो। उहाँहरुले त्यसो किन गर्नु भयो ? कसको निर्देशनमा गर्नु भयो ? के उहाँहरुले त्यो विधेयकको बारेमा बुझ्नु भएको थिएन ? यसप्रकारका प्रश्नहरुको जवाफ हामीले उहाँहरुसँग गर्यौं कि गरेनौं ? सिङ्गो पार्टीपंक्तिलाई यो बिषयमा अनविज्ञ बनाएर पार्टीले उहाँहरुलाई सामान्य आलोचना गरेर मात्र उन्मुक्ति दिने काम गर्यो।
  •  २०७५ र ०७६ मा सरकारले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सांसद् दुर्गा पौडेलले संसोधन प्रस्ताव पेश गर्ने निर्णय पार्टीले गरेको थियो। तर सरकारको नीति तथा कार्यक्रममा उहाँले संसोधन प्रस्ताव पेश गर्नु भएन। पार्टीको निर्णय विपरित उहाँले संसदमा किन संसोधन प्रस्ताव दर्ता गर्नु भएन ? बिषय निकै गम्भीर थियो । तर पार्टीमा यो बिषयमा कुनै कुरा उठाउने काम गरिएन । छलफलको बिषय समेत बनेन ।
  •  पछिल्लो समयमा संसदीय अभ्यासको घिनलाग्दो अभ्यास गण्डकी प्रदेशमा देखिएको छ। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मत दिने र हस्ताक्षर गर्ने पार्टीको निर्णय बिरुद्धमा राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले हस्ताक्षर गर्नुभएको छैन। सांसद कृष्ण थापाले पार्टीको निर्णयविपरीत २०७८ बैशाख २९ गते तटस्थ बस्ने निधो गर्नुभयो। उहाँको तटस्थ बस्ने निर्णय सार्वजनिक भएपछि राष्ट्रिय जनमोर्चाको बैठकले संसदीय दलको नेताबाट हटाई सकेको छ भने पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सांसद कृष्ण थापाले दामको प्रलोभनमा परेर पार्टीको निर्णय विरुद्धमा गएको मत सार्वजनिक गर्नु भएको छ। तर सांसद थापाले दामको प्रलोभनमा परेर त्यसो गरे नगरेको प्रमाणित भने भइसकेको छैन ।

संसदीय आहालमा डुबेर राष्ट्रिय जनमोर्चामा देखिएका यसप्रकारका भूमिकाको बिषयमा गम्भीर समीक्षा तथा छलफल हुन आवश्यक छ।

-सुनार नेकपा मसाल प्युठानका नेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *