माधव पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाउने ओलीको तयारी, पदाधिकारीमा कुरा मिलेन – Nepal Press

माधव पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाउने ओलीको तयारी, पदाधिकारीमा कुरा मिलेन

काठमाडौं । चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै माधव नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने भएका छन् । ओलीले माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपालसँग बुधवार राति र आज बिहानसम्म पनि टेलिफोनमा पटक-पटक कुराकानी भएको र आजै दुई नेताबीच वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका एमाले नेता डा. राजन भट्टराईले नेपाल प्रेसलाई बताए ।

स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । एमाले स्रोतका अनुसार कारवाही फिर्तापछि बस्ने स्थायी कमिटी बैठक नेकपाकालको हुने सम्भावना छ ।

स्रोतले भन्यो, ‘अहिले कुरा अड्किएको साविक एमालेका पदाधिकारी यथावत रहने कि नरहने भन्ने हो । यसबीचमा महाधिवेशन आयोजक कमिटी बनेर अघि बढिसकेकाले साविक नेकपाको स्थायी कमिटीमा रहेका नेताहरूको बैठक बस्ने कुरा छ । त्यसमा एमालेका सबै र बादलसहित चार नेताहरू हुनेछन् ।’

तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भएका छन् । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।

तर, माधव नेपाल पक्षले साविक एमालेका पदाधिकारी पुनःस्थापित हुनुपर्ने अडान राखेको थियो । त्यो छलफलमा संस्थापन पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, भानुभक्त ढकाल, विनोद ढकाललगायत संलग्न थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत संलग्न थिए ।

अध्यक्ष ओली नेकपाकालीन स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाउन तयार भए पनि माधव नेपाल पक्षले एमालेकालकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा बादल पक्ष सहभागी गराउन नहने अडानमा रहेकाले कुरा मिलेको थिएन ।

पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले २०७५ जेठ २ अघिको कमिटी क्रियाशील गराउनुपर्ने माधव पक्षको मागबारे अध्यक्षले लिने निर्णय नै अन्तिम हुने भन्दै संकटको बेला पार्टी र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिने पूर्व माओवादी पक्षलाई अवमूल्यन गर्ने गरि कुनै निर्णय नहुने बताए ।

माधव नेपाललाई उनीनिकट नेताहरूले पनि एक कदम पछि हटेर जेठ २ को वरिपरिबाट निकास निकाल्दै पार्टीभित्रै बसेर अन्य कुरामा छलफल गर्न दबाब दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर