अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता छन् अर्थविद्को सुझाव – Nepal Press

अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता छन् अर्थविद्को सुझाव

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण अर्थतन्त्र पनि धराशायी बन्दै गएको छ । कोरोनाको पहिलो लहरमा ६ महिना नेपालको अर्थतन्त्र ठप्प प्रायः बन्यो । गत असोजदेखि तंग्रिन थालेको व्यापार व्यवसाय क्षेत्र नयाँ भेरियन्टसहितको महामारीको दोस्रो लहरले पुन: थला पर्न थालेको छ । कोरोनाको बढ्दो संक्रमणले थिलथिलो पारेको अर्थतन्त्रलाई कसरी अघि बढाउन सकिन्छ भनेर हामीले केही अर्थविद्सँग कुरा गरेका छौं ।

भाष्करमणि ज्ञवाली (अर्थविद्)

मानिसले परिकल्पना नगरेको परिस्थितिबाट अहिले विश्व गुज्रिरहेको छ । यसमा हाम्रो जस्तो सानो र गरिब मुलुकले पनि त्यहिँ परिस्थितिलाई सामना गरिरहेको छ । कोरोना माहामारीबाट पहिला त मानव जीवन रक्षा गर्न अत्यावश्यक छ । तर, मानव रक्षासँगै सबै कुरालाई ठप्प पाररे पनि अघि बढ्न सक्ने अवस्था पनि छैन । यो वेलामा देशको अर्थतन्त्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्न आवश्क छ ।

जस्तो, दैनिक जीवन निर्वाहका लागि चाहिने अत्यावश्यक कुरालाई कसरी उत्पादन गर्ने भन्ने विषयमा सरकारले सोच्नु पर्छ । हाम्रो मुलुक आयातमा निर्भर छ । यस्तो मुलुकले आफैंले उत्पादन गर्न सक्नुपर्छ ।

साना-साना उद्योग धन्दालाई सहुलियत व्याजदरमा ऋण दिएर उकास्ने । र, ठूलालाई पनि कसरी अघि बढाउने त्यसको बारेमा वृहत छलफल गरेर अघि बढ्नु पर्छ । अहिले गर्न सक्ने कुरा यी नै हुन् । पर्यटन , होटल, रेष्टुरेण्ट जस्ता कार्यलाई भने अहिले संचालन गर्न सकिँदैन किनभने यहाँ फरक ठाउँका र फरक किसिमका मानिसको भीड हुने गर्छ । साथै अहिले व्यापार व्यवसाय गर्ने मानिसले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सक्ने अवस्था पनि छैन । यस्तो वेलामा तुरुन्त त्यस्ता कम्पनीलाई कालोसूचिमा राख्नु हुँदैन । समयावधि थपिदिनु पर्छ । अहिले भनेको एकले अर्काको मार्का बुझ्ने समय पनि हो ।

दीपेन्द्रबहादुर क्षेत्री (पूर्वगभर्नर)

व्यापार व्यावसायदेखि लिएर निर्माण, आयोजना आदि सबै कुरा बन्द छन् । साथै देश महामारीको चपेटामा नराम्ररी फसेको छ । सरकारको पहिलो प्राथमिकता स्वास्थ्य प्रणाली चुस्त दुरुस्त बनाउनु नै हो । साथै, यो महमारीलाई जति सक्दो चाँडो नियन्त्रण गर्न आवश्यक छ ।

कोभिडको महमारीका कारण देशको अर्थतन्त्रमा पर्न सक्ने दीर्घकालीन असरबाट कसरी बाँच्न सकिन्छ भनेर अहिले नै सोच्न आवश्यक छ । अहिले नेपालमा आयात पनि हुन सकेको छैन । निर्यात त परको कुरा भइहाल्यो । हामी आफ्नै उत्पादनमा पनि आत्मनिर्भर छैनौं यस्तो अवस्थामा अहिले नेपाली जनताले थेग्नै नसक्ने गरी मूल्य वृद्धि हुन सक्छ ।

समयमा नै सरकारले मूल्य वृद्धि हुन नदिने उपाय खोज्नु पर्ने हुन्छ । यस्तो समयमा सरकारले खाद्यान्नलगायत अन्य अत्यावश्क सामग्रीको आपूर्तिको आफैं व्यवस्थापन गरेर मूल्य वृद्धि रोक्नु पर्ने हुन्छ । कोभिडले व्यापार व्यवासय ठप्प भएकाले यसको आँकलनसहित सरकारले नीति नियम बनाई अघि बढ्नु पर्छ । नत्र नेपालजस्तो सानो मुलुकको आर्थिक सूचकहरूमा संकुचन आई अर्थतन्त्र धराशायी बन्न सक्छ ।

डा.चन्द्रमणि अधिकारी (अर्थविद्)

अर्थतन्त्रलाई धराशायी हुनबाट रोक्नका लागि सरकारले तुरुन्त केही कदमहरू चाल्नु पर्ने हुन्छ । सरकारले अहिले महामारीको नियन्त्रण गर्दै अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका उत्पादन, पर्यटन, उद्योग, कलकारखाना, निर्माण जस्ता क्षेत्रमा कोभिडले कस्तो असर पार्‍यो भनेर यसको सूक्ष्म ढंगले मूल्यांकन गर्न आवश्यक छ ।

हामीसँग साधन र स्रोत सीमित छ । सीमित साधन र स्रोतलाई कसरी परिचालन गरेर अघि बढ्ने यो पनि अहिलेको चुनौती हो । साथै उत्पादनलाई अहिले प्राथमिकतामा राख्नु पर्छ । कोभिडको अन्त्य कहिले हुन्छ ? यसको सजिलो उत्तर हामीसँग छैन । अहिले प्राथमिकतामा परेका क्षेत्रलाई पहिलो नम्बरमा राखेर काम गर्नु पर्ने हुन्छ । अहिले सरकारले देशको सबै क्षेत्र र भौगोलिकतालाई एकै नजरले हेर्नु हुँदैन । प्राथमिकताका आधारमा कुन क्षेत्र बढी कोभिडको चपेटामा परिरहेको छ । कहाँ कोभिडको संक्रमण कम छ । ती क्षेत्र छुट्याउनु पर्छ र, त्यसै अनुरुप आफ्नो रणनीति तय गर्नु पर्छ । जस्तो अहिले पनि भारतसँग जोडिएका बोर्डर वरिपरिका क्षेत्रमा बढी नै सरकारले ध्यान दिनुपर्ने अवस्था छ । कोभिडले कम प्रभावित तुल्याएका क्षेत्रमा अझै पनि आर्थिक क्रियाकलापलाई सुरक्षाका मापदण्ड अपनाएर अघि बढाउनु पर्छ ।

प्रो. जगदिशचन्द्र पोखरेल (अर्थविद्)

गत वर्षबाट विश्वभर फैलिएको महामारी केही मथ्थर हुँदै गर्दा दोस्रो लहर देखा पर्‍यो । यसैले अहिलेको पहिलो प्राथमिकता यसलाई नियन्त्रण गर्दै अघि बढ्नु पर्ने हुन्छ । गत वर्ष पनि लामो समयसम्म लकडाउन भयो जसले देशको अर्थतन्त्रलाई ठूलो धक्का पुग्यो । विस्तारै रिभाइभ हुँदै गरेको अर्थतन्त्रमा पुन: लकडाउन सृजना भएको छ । यसैले अहिले सरकारले प्राथमिकताका आधारमा अर्थतन्त्रको क्रियाकलाप अघि बढाउनु पर्ने छ । अहिले अर्थतन्त्रका केही क्षेत्रहरु संचालन गर्न सकिने अवस्था छ । जस्तो, ठूला परियोजना, आयत र निर्यात तथा अन्य प्रयोजनका लागि ढुवानी गर्न आवश्यक यातायातहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालन गर्न सकिन्छ । ती कुरालाई सरकारले रोक्नु हुँदैन । भारतीय बोर्डर वरिपरिका क्षेत्र अहिले धेरै नै प्रभावित छ । यी क्षेत्रमा अहिले कोभिड नियन्त्रण गर्नु नै पहिलो प्राथमिकता हो । साथै यी क्षेत्रमा बढी क्षति भएको हुन सक्छ । यसलाई मूल्याङ्कन गरेर छुट्टै आर्थिक र सामाजिक रणनीति तयार गर्नु पर्ने हुन्छ । अहिले पनि हामीले कच्चा पदार्थको आपूर्ति गर्दै, कामदारलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परिचालन गर्न सक्यौ भने अर्थतन्त्रमा धराशायी हुनबाट केही जोगिन सक्छ ।

अहिलेको सबैभन्दा ठूलो कुरा ‘रिलिफ’ को पाटो पनि छ । श्रमिकको क्षेत्रलाई अहिले विषेशगरी हेर्नु पर्छ । साना–साना उद्योग धन्दा खत्तम भयो भने देशमा बेरोजगारीको संख्या बढ्न सक्छ यो राष्ट्रका लागि घातक हुन्छ । साथै ठूला लगानीमा निर्माण गरिएका सेवा प्रदायक कम्पनीलाई डुब्नबाट रोक्नु पर्ने हुन्छ । अहिले सरकारसँग चुनौतिमाथि चुनौति थपिएको छ । अहिले कोरोना नियन्त्रणमा रह्यो भने मात्र अर्थतन्त्र सुधार्न सहज हुन सक्छ तर, अवस्था अझै भयावह भयो भने त्यसको मूल्यांकन गर्न अहिलै गार्‍हो हुन्छ । यसका लागि पनि सरकार तयारी अवस्थामा रहनु पर्छ ।

पहिलो लहरमा प्रदेश सरकारहरु त्यति क्रियाशिल भएको पाइएन् । अब भने उनीहरु उम्कन पाउने छैनन् । किनभने प्रदेशको समस्या प्रदेशले जसरी अरुले बुझेको हुँदैन । उनीहरुको समस्या सामधान गर्नलाई लागि पहिला प्रदेश सरकार ‘एक्टिभ’ हुन जरुरी छ । ठूला सहर बन्द भएसँगै ग्रामीण भेगका जनताले उत्पादन गरेको सामग्री पनि नबिक्ने अवस्था आइसकेको छ । किसानको उत्पादनलाई सहरमा ल्याउने र बिक्री वितरण गर्ने कार्यलाई ब्रेक गर्न दिनु हुँदैन । यसले कृषक मर्नबाट जोगिन्छन् ।

विमल कोइराला (अर्थविद्)

महामारीले देशको अर्थतन्त्रमात्र होइन मानव जीवनलाई नै ठप्प पारेको छ । यसो भनिरहँदा अर्थतन्त्रलाई पनि त्यसै छोड्ने भनेको होइन । तर, पहिला मानव बचे मात्र अर्थतन्त्र रहन्छ । अन्तराष्ट्रिय प्राक्टिस पनि के छ भने मानव बचाउनका लागि सरकारले हरतरहको प्रयास गर्छ । चीन कै कुरा गर्ने हो भने पनि पहिलो पटक जब हुवानमा कोरोना भाइरस देखा पर्‍यो । उसले सबै शक्ति भाइरस रोक्नमा लगायो । र, चाँडै कोरोनालाई नियान्त्रण पनि गर्न सफल भयो । तर, नेपालमा अहिले त्यसो भइरहेको छैन ।

सरकारले केही प्रयास गरेको भएपनि जति गर्नु पर्ने हो त्यति हुन सकेको छैन । भारतमा केही अगाडि नै कोभिडको दोस्रो लहर फैलिएपछि नेपालले त्यसको ठीक आकलन गर्न सक्नु पर्ने थियो तर, सकेन । र, दिनानु दिन बढिरहेको माहमारी संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिनु पर्ने थियो । अझै पनि सरकारले अन्तराष्ट्रिय दात्री निकायसँग समन्वय गरी चाँडोभन्दा चाँडो माहामारी नियन्त्रणतर्फ लाग्नु पर्छ । अनि मात्र देशको वातावरण नर्मल हुन सक्छ र अर्थतन्त्रका गतिविधि पुन चलायमान हुन सक्छन् । नत्र भने नेपालको अर्थतन्त्र धेरै वर्ष पछाडि धकेलिन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर