महामारी रोक्न बुटवल उपमहानगरको यस्तो छ तयारी – Nepal Press

महामारी रोक्न बुटवल उपमहानगरको यस्तो छ तयारी

रुपन्देही । कोभिड–१९ को पहिलो लहरको सुरुआतका संक्रमितलाई परिवारमै छि :छि र हेला गर्ने खालको कहालीलाग्दो समय थियो ।
त्यस्तो बेलामा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद वितरण गर्ने र मनोबल बढाउने काम सुरु गरेर बुटवलका जनप्रतिनिधिले मुलुकमै नमुना काम गरे ।

त्यसबेलाको लकडाउनमा पैदल यात्रीलाई खाना खुवाउने, स्वास्थ्य चेकजाँच गर्ने, आवासको व्यवस्था मिलाउने र यात्राको समेत प्रबन्ध मिलाउँदै बुटवलले प्रदेश स्तरमै अभिभावकीय भूमिका निर्वाह गरेको थियो । संक्रमितलाई घरमै पुगेर भेट्ने, आयुर्वेद ओखती र स्वास्थ्य लाभसहितको सुझाव पत्र दिने र आवश्यक परेमा आइसोलेशनमा राखिएको स्वास्थ्य परामर्श केन्द्रमा पु¥याउने जस्ता पहिलो लहरका नमुना कामका केही दृष्टान्त हुन् ।

अहिलेको दोस्रो लहरमा पनि जनस्वास्थ्यका क्षेत्रमा उपमहानगरले फेरि अभिभावकीय भूमिका निर्वाह गर्न सुरु गरेको छ । कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरपालिकामा रहेका १९ वटा वडामा आइसोलेसनमा बसेका र उपमहानगरलाई जानकारी गराएका सबै संक्रमितको घरघरमा स्वास्थ्य सेवा उपलव्ध गराइएको छ ।

यसपटक बुटवलले मुलुकमै पहिलो अक्सिजन बैंक सेवाको स्थापना गरी अक्सिजन आवश्यक पर्ने संक्रमितहरुको घर–घरमै सेवा पु¥याउने तथा चिकित्सकीय परामर्शसहित औषधिहरु उपलब्ध गराउने काम जारी राखेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।
प्रमुख सुवेदीसमेत आफै संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । उनीसंगै स्वास्थ्यकर्मी र परामर्शदाताहरु पनि संक्रमितको घरदैलोमा पुगेका छन् ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजीक्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरुसंगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको बताउँदै प्रमुख सुवेदीले नागरिक समाजलाई पनि सहकार्यका लागि अपिल गरिएको बताए । नागरिक समाजले सही सन्देश प्रवाह गर्ने, संक्रमितको मनोबल उचो राख्न मद्दत गर्नुपर्नेछ’ प्रमुख सुवेदीको भनाइ छ ।

कोरोना संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनले संक्रमितको घरदैलोमा पुगेर अक्सिजनसहितको सेवा आवश्यक पर्नेलाई स्वास्थ्यकर्मीको परीक्षणपछि अक्सिजन जडान गर्ने र आपतकालीन सेवाका लागि एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने सम्मको व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताए । बुटवलले उपमहानगरसहित रुपन्देहीका पालिकाहरुमा समेत लैजान मिल्नेगरि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको प्रवक्ता रेग्मीले बताए ।

अक्सिजन बैंकबाट आइसोलेसनमा रहेकाहरुलाई सेवा

उपमहानगरपालिका भित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

अक्सिजन सेवा बैंकका लागि उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमाा कार्यदल गठन गरिएको थियो । कार्यदलमा स्वास्थ्य प्राविधिक, अस्पताल सञ्चालक, निजी क्षेत्र, व्यवसायी र नागरिक समाजका अगुवालाई समावेश गरिएको छ ।

निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत तथा कार्यदलका सदस्य सचिव रेग्मीले बताए । अक्सिजन बैंकमार्फत हालसम्म करिब तीन सय जना संक्रमितहरुले घरमै बसेर सेवा लिइरहेको उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांकमा छ । उक्त महाशाखाका प्रमुख तथा सूचना अधिकारी मित्रमणी खनालका अनुसार अहिले पनि २४० जनाले सेवा लिइरहेका छन् ।

पाँचजना स्वास्थ्यकर्मीहरुसहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको र अक्सिजन बैंकले स्थापना भएको छ दिनको अवधिमा दैनिक ५०/६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरिसकिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत उमादेवी थापाले बताइन् ।

लायन्स क्लब अफ बुटवल यरिया ४ ले सिलिण्डरहरु रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको र बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेको बुटवल नगर योजना आयोगका सदस्य सचिवसमेत रहेका युवा अभियन्ता मेघराज भट्टराईले बताए । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको उनको भनाइ छ ।

आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधि

बुटवल उपमहानगरले कोरोना संक्रमणको दोस्रो लहरसँगै आइसोलेसन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको बताएको छ । उपमहानगरले हाल बुटवल–११ देविनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेशन सेन्टर स्थापना गरी सञ्चालन गरीरहेको छ भने थप क्षमता विकासका लागि समेत तयारी अवस्थामा रहेको बताएको छ ।

उपमहानगरमा थप आइसोलेशन आवश्यक परेको अवस्थामा बुटवल–११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेशनका रुपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको प्रमुख सुवेदीले बताए । यसैगरी उपमहानगरले संक्रमितको दैलोमै भिटामिन सि, भिटामिन बि कम्प्लेक्स, जिकं, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्ण सहितका आयुर्वेद औषधि वितरण गरेको छ ।

यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

निःशुल्क पीसीआर परीक्षण तथा एम्बुलेन्स सेवा

उपमहानगरले १९ वटै वडाहरुमा संक्रमितको कन्टक्टमा रहेका नजिकका व्यक्तिहरुको निशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखाका कर्मचारी कल्पना भट्टराईले बताइन् ।

हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तो छ अक्सिजन सेवा बैंकको मापदण्ड
बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक सेवाका लागि स्पष्ट मापदण्ड बनाएको छ । कस्तो अवस्थाका संक्रमितलाई अक्सिजन आवश्यक पर्छ ?, कत्ति मात्रामा आवश्यक पर्छ ? भन्ने स्वाथ्यकर्मीबाट निक्र्यौल भएपछि मात्रै अक्सिजन सेवा उपलब्ध गराउने गरिएको छ ।

पाँचजना स्वास्थ्यकर्मीहरु समेत रहेको चारवटा समूह निर्माण गरिएको छ । स्वास्थ्यकर्मीहरुको परामर्शपछि प्राविधिक अध्यय्नका आधारमा मात्रै निश्चित मापदण्ड निर्माण गरिएको हो र घरदैलोमा सेवा पु¥याइएको हो ।

सर्वप्रथम बुटवल उपमहानगरपालिकामा अक्सिजनको माग गर्ने संक्रमितहरुको विवरण सहितको सूची तयार गरिन्छ । त्यसपछि उपमहानगरको स्वास्थ्यकर्मीहरु संक्रमितको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिन्छन् ।

संक्रमितको शरिरमा रहेको अक्सिजनको मात्रा र स्वास्थ्य अवस्थाको परीक्षण पछि अगाडिको स्टेप चालिन्छ । समग्र स्वास्थ्य स्थितीको बिश्लेषण गरेपछि अक्सिजन आवश्यक पर्ने बिरामी हो भने अक्सिजन जडान गरिन्छ र यदि होइन भने उहाँहरुलाई अक्सिजन सेवा नदिई परामर्श सेवा मात्र प्रदान गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर