युनिभर्सल मेडिकल कलेजले भन्योः थप संक्रमित भर्ना लिन सक्दैनौं – Nepal Press

युनिभर्सल मेडिकल कलेजले भन्योः थप संक्रमित भर्ना लिन सक्दैनौं

रुपन्देही । भैरहवाको युनिभर्सल मेडिकल कलेजले अस्पतालका शय्या भरिएकाले थप कोभिड संक्रमितको भर्ना लिन नसकिने बताएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै कलेजले अहिले भएका सबै शैया भरिएका र अक्सिजनको समेत अभाव हुन थालेकाले थप संक्रमितको उपचारका लागि भर्ना लिन नसकिने जनाएको हो ।

अहिले दैनिक दुई सय गम्भीर प्रकृतिका बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । अब आउने बिरामीका लागि सेवा दिन नसकिने कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उसले अहिलेको असहज परिस्थितिलाई सहज बनाउन सरोकारवालासँग माग पनि गरेको छ ।

मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले सोमबारदेखि कोभिडबाहेक अन्य बिरामीको मात्र उपचार हुने जनाएका छन् । उनले अस्पताललाई अहिले प्रति दिन ७ सय सिलिण्डर आवश्यक रहेको जनाए । स्थानीय प्रशासनले अस्पताललाई दैनिक ४ सय २० वटा सिलिण्डर दिने प्रतिवद्धता जनाएको छ । तर प्रतिवद्धता अनुसार पनि सिलिण्डर नआएको कारण उपचार गर्न नसकिएको उनले बताए ।

कलेजमा अहिले कोभिड बिरामीका लागी १० वटा आईसीयू, ९० वटा एचडीयू शय्या रहेका छन् । यससँगै थप ६० शय्याको आइसोलेसन निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए ।

लूम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभावको समस्या समाधान गरिने बताएका छन् । कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुगेको र दाङका लागि ल्याउने प्रयास भइरहेको उनले बताएका छन् । रुपन्देहीका लागि पनि अक्सिजन अभावको समस्या समाधानको प्रयास भइरहेको उनको दाबी छ ।

तर मेडिकल कलेजले भने बिरामीको भर्ना लिन रोकेपछि कोभिड संक्रमित मारमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर