आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हाे : मन्त्री गुरुङ – Nepal Press

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हाे : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोनाभाइरस विरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोनाभाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आ-आफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे ।

मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको छलफलमा उनले भने,‘यो बेला भनेको एकले अर्कालाई आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो, हामी सबै मिलेर मानवीय रुपमा एकले अर्कालाई सहयोग गर्ने बेला हो, सबैले सकारात्मक ढंगबाट सहयोग गरौँ ।’

मन्त्री गुरुङले भ्रामक समाचारभन्दा पनि कोरोनाबाट बच्न सकिने सन्देशमूलक समाचार प्रकाशन/प्रसारण गर्न आमसञ्चारमाध्यमलाई आह्वान गरे । उनले केही मिडियाले जनतालाई आतङ्कित गर्ने गरी समाचार सम्प्रेषण गर्ने गरेको बताउँदै कोरोनाबाट बच्ने विषयवस्तु सम्प्रेषण गर्न मिडियालाई आग्रह गरे ।

मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ ।

मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गर्ने भएको छ । नेपाललाई कोरोनामुक्त राष्ट्र घोषणा गर्ने गरी मिडियाले सकारात्मक सन्देश दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले सरकारले कोरोना न्यूनीकरण र बिरामीको उपचारमा सक्दो काम गरिरहेको प्रष्ट पारे ।

सो अवसरमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले कोरोनाको महामारीका समयमा कस्तो विषयवस्तु प्रस्तुत गर्ने भन्नेबारे आमसञ्चारमाध्यम प्रष्ट हुनुपर्छ भने । इकागज डटकमका सम्पादक हरिबहादुर थापाले कोरोनाबारे कस्तो विषयवस्तु दिने भन्ने विषयमा मिडिया क्षेत्र नै अन्योलमा परेको बताउँदै त्यसबारे सरकारको प्रष्ट धारणा आउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर