कोभिड-१९ बाट भारतमा एकै दिन ३ हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित – Nepal Press

कोभिड-१९ बाट भारतमा एकै दिन ३ हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड-१९ बाट कूल संक्रमितको संख्या २ करोड ७ लाख पुगेको उल्लेख छ ।

गत मे १ तारिखमा चार लाख कोभिड-१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको संख्या ३ लाख ५७ हजार रहेको भेटिएको छ ।

सरकारी विवरणमा कोभिड-१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा २ लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ ।

कोभिड–१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड-१९ को खोप अभियानलाई पनि तिब्र बनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।

कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ । नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड-१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति सहज हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा हालसम्म कोभिड-१९ बाट सात हजार ७५२ जनाको ज्यान गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर