कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् ! – Nepal Press

कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

पोखरा  । कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

अत्यावश्यक कामबाहेक सम्पूर्ण भिडभाडजन्य गतिविधिहरु बन्द गर्न आदेश दिए पनि यातायतामा भने जोरबिजोर प्रणाली लागू गरिएको छ ।

निषेधाज्ञापछि बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र पोखरा सुनसानप्रायः छ । बजारका अत्यावश्यक बाहेकका कुनैपनि पसलहरु खुलेका छैनन् । बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।

पोखराका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन् । मास्क नलगाएकालाई सम्झाउने र ‘जोर’ अंकमा सवारी साधन चलाउनेलाई कारवाही गरिएको छ । निषेधाज्ञा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ६ सय ३५ जना प्रहरी परिचालित छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डीएसपी सुवास हमालले मंगलबार बिहानमात्रै २ सय ८१ वटा दुईपांग्रे, ८४ वटा चारपांग्रे र निषेधाज्ञा अटेर गरेर खोलिएका २ सयभन्दा पसल बढी बन्द गराएको जानकारी दिए । ‘अहिलेसम्म मान्छेलाई चाहिँ नियन्त्रणमा लिएका छैनौं,’ उनले भने ।

यातायातमा जोरबिजोर प्रणाली लागू भएपछि बाटोमा फाटफुट मोटरसाइकल, ट्याक्सी, सार्वजनिक बसलगायत सवारी साधन देख्न सकिन्छ । तर, बाटोमा भिडभाड गर्ने गरी मान्छेहरु हिँड्डुल गरेको देखिँदैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार मंगलबारसम्म गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९ छ ।

त्यसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमामात्रै ७ सय २७ जना सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ । जसमध्ये कास्कीकामात्रै १ सय २० जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर