गण्डकीमा पीएसलाई गणितको डर, विपक्षीलाई छैन आफ्नै सांसदको भर – Nepal Press

गण्डकीमा पीएसलाई गणितको डर, विपक्षीलाई छैन आफ्नै सांसदको भर

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।

तीन सिट रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रले कांग्रेस–माओवादी गठबन्धनलाई साथ दिएको छ भने तीन मध्ये दुई सांसद कांग्रेसलाई मत दिन नहुने पक्षमा छन् । सांसदहरुलाई मनाउन केन्द्रीय नेताहरु पोखरा गएर बसेका छन् ।

अविश्वास प्रस्ताव पक्षधर कांग्रेस र माओवादीले आफ्ना सांसदहरुलाई दुई दिनदेखि पोखराकै महँगो कुटी रिसोर्टमा राखेका छन् । दैनिक २० हजार रुपैयाँ पर्ने कोठासहितको रिसोर्टमा सांसदलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

माओवादी नेता तथा सांसद दीपक कोइरालाले भने सल्लाह गर्न र एकैपटक निर्णय गरेर जान सजिलो हुने भएकाले सांसदहरुलाई एक ठाउँमा राखिएको बताएका छन् । एमाले नेता तथा सांसद राजीव पहारीले भने आफ्नै सांसदप्रति भरोसा नहुनेहरुले संसदीय विकृतीका रुपमा रहेको सुरा सुन्दरी प्रकरण दोहोर्याएको आरोप लगाएका छन् ।

यस्तो छ गणित

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको २७ सिट छ । दोस्रो दल नेपाली कांग्रेसको १५ र माओवादी केन्द्रको १२ सिट छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको ३,जसपाको २ र एकजना स्वतन्त्र सांसद दिपक मनाङे छन् ।

अविश्वास प्रस्ताव पारित हुनका लागि जनमोर्चाले साथ दिएपछि कांग्रेस माओवादीलाई पर्याप्त संख्या छ । ३१ भोट भए अविश्वास प्रस्ताव पारित हुन्छ । जबकि कांग्रेस, माओवादी, जसपा र राजमोसँग ३२ मत छ ।

स्वतन्त्र दिपक मनाङे जता बहुमत पुग्छ उतै जाने पक्षमा देखिन्छन् । सबै विपक्षी एक भएको अवस्थामा गुरुङको सरकार ढल्ने निश्चित छ । तर विपक्षी दलहरु आफ्नै सांसदले फ्लोर क्रस गर्ने वा अनुपस्थित हुने डरले गर्दा सांसदलाई रिसोर्टमा राख्न बाध्य छन्

यदि कुनै दुई सांसद अनुपस्थित भइदिएमा अविश्वास प्रस्ताव फेल हुन्छ र अर्को एक वर्ष अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । जनमोर्चाभित्र बागलुङका नेता कार्यकर्ताले केन्द्रको निर्णयप्रति असहमति जनाइरहेका छन् ।

जिल्लामा सधैं कांग्रेसविरुद्ध मत मागेर हिडेका र भोलि पनि एमालेसँग गठबन्धन गर्नुपर्ने भन्दै कार्यकर्ताले निर्णयलाई चुनौति दिइरहेका छन् । एमालेभित्र फ्लोर क्रसको सम्भावना भने कर्णालीमा जस्तो गण्डकीमा नहुन सक्छ ।

गण्डकी प्रदेश सभामा २७ एमाले सांसदमध्ये माधव नेपाल पक्षका एकजना इन्द्रलाल सापकोटामात्र छन् । उनले विपक्षी गठबन्धनकै बहुमत रहेका अवस्थामा फ्लोर क्रस गरेर सांसद पद गुमाउनु छैन । यदि एक मतले सरकार ढल्ने वा जोगिने अवस्था आएमा माधव नेपाल पक्षको निर्णय अनुसार अघि बढ्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर