दाङको कोरोना अस्पताल संक्रमितले भरिए, अक्सिजन अभाव – Nepal Press

दाङको कोरोना अस्पताल संक्रमितले भरिए, अक्सिजन अभाव

दाङ । कोरोना संक्रमणको दरसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या बढेपछि दाङको बेलझुण्डीमा स्थापित कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुन लागेको छ ।

अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार अहिले ४२ जना संक्रमित उपचाररत छन् । उनीहरुका लागि दैनिक १ सय २० सिलिण्डर मेडिकल अक्सिजन आवश्यक पर्छ । ‘हामीसँग अक्सिजन भण्डारण गर्ने व्यवस्था छैन । आवश्यक मात्रामा अक्सिजन आयात गर्न पनि सकेका छैनौं । अस्पताल भरिइसकेको छ, भर्ना हुनुपर्ने संक्रमित बढिरहेमा हामी उपचार गर्न असमर्थ हुन्छौं,’ उनले भने ।

व्यवस्थापक वलीले बजेट अभावका कारण अक्सिजन खरिद गर्न नसक्ने अवस्था रहेको पनि प्रष्ट पारे । स्थानीय तहले बजेट उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको उनको भनाइ छ ।

अक्सिजन मात्रै होइन, अस्पतालमा बेड राख्ने ठाउँको समेत अभाव छ । भर्ना गरेर उपचार गर्नुपर्ने संक्रमति बढ्दै गए पनि ठाउँ अभावका कारण भर्ना गर्न नसकिएको व्यवस्थापक वलीले नेपाल प्रेसलाई बताए । ‘भर्ना गरेरै उपचार गर्नुपर्ने संक्रमितलाई हामीले भर्ना गर्न सकेका छैनौं,’ व्यवस्थापक वलीले भने, ‘बेड भए पनि राख्ने ठाउँ छैन् । सिकिस्त संक्रमितलाई पनि होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता छ ।’ वलीका अनुसार १५ जना भन्दा बढी सकिस्त भएका संक्रमित अस्तालमा बेड राख्ने ठाउँ नभएका कारण होम आइसोलेसनमै छन् ।

हाल कोरोना अस्पताल संस्कृत विश्वबिद्यालयको भवनमा छ । उक्त भवनको तीन तला मध्ये माथिका दुई तलामा विश्वविद्यालयले पठनपाठन गर्दै आएको छ भने भुँइतलामा अस्पताल राखिएको छ । विश्वबिद्यालयले पूरै भवन अस्पताललाई प्रयोग गर्न दिए मात्रै बेडको व्यवस्था गर्न सकिने अस्पताल प्रशासनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *