काठमाडौंमा ‘लकडाउन’: के-के खुल्छन्, के-के खुल्दैनन् ? – Nepal Press

काठमाडौंमा ‘लकडाउन’: के-के खुल्छन्, के-के खुल्दैनन् ?

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंका तीनै जिल्लालाई एक हप्ता ‘लकडाउन’ मा राख्ने सरकारले निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णयमा ‘लकडाउन’ शब्द भने प्रयोग गरिएको छैन ।

नेपाल प्रेसलाई प्राप्त काठमाडौंका प्रजिअको लिखित आदेश अनुसार आगामी वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका हकमा सहजीकरण गर्न सकिने भनिएको छ ।

यसैगरि, सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्वन्धित मन्त्रालय वा विभागको अनुमति लिइ सवारी साधन प्रयोग गर्न पाइनेछ ।

अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भिडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्नका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम २ मिटरका भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ ।

नेपाल सरकारका कर्मचारी बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । यस्तै, सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ ।

काठमाडौं उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने छ । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने सीडिओको आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “काठमाडौंमा ‘लकडाउन’: के-के खुल्छन्, के-के खुल्दैनन् ?

  1. Bidesh jane Ko Hak ma Je bhaniyeko chha pcr test garna Ko lagi k chha rule???? Ani domestic airlines chal6 ki nai ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *