नेपाल टक

‘एमसीसी चीनको विकासविरुद्ध छ, नेपालले विचार गरेर निर्णय लेओस्’

नेपाल र चीन सम्बन्धमा नागरिक तथा प्राज्ञिक स्तरमा चिनिएको नाम हो, डाक्टर गाओ लियाङ । डाक्टर गाओले व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । हाल उनी चीनको एक प्रसिद्ध सिचुवान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थानमा पोस्ट–डक्ट्रोलको जिम्मेवारीमा छन् ।

डाक्टर गाओले सन् २०१९ जुनदेखि २०२०को फेब्रुअरीसम्म काठमाडाैंमा रहेको इसिमोडमा भिजिटिङ स्कलरको रुपमा समेत काम गरे । उनले नेपालका अंग्रेजी भाषाका अखबारमा नेपाल-चीन सम्बन्धबारे फुटकर आलेख समेत लेखेका छन् । ‘परिवर्तित विश्वमा नेपाल र यसका छिमेकीहरू’ शीर्षकमा डाक्टर गाओले प्राज्ञिक कामहरू समेत गरेका छन् । उनै डाक्टर गाओसँग नेपाल प्रेसकर्मी विराट अनुपमले नेपाल-चीन, चीन- एसियाली सम्बन्ध, चीनको सार्क र बिमस्टेक हेर्ने नजरदेखि बीआरआईहुँदै एमसिसीसम्मका विषयमा कुराकानी गरेका छन् । 

दक्षिण एसिया र नेपालबारे चीनका प्राज्ञिक तथा सर्वसाधारणको धारणा कस्तो छ ?

दक्षिण एसियाली देशहरू चीनका निकटस्थ छिमेकी हुन् । अझ नेपाल त झनै नजिकको छिमेकी हो । नेपालका नागरिक चीनसँग मित्रवत् छन् भने चीनका प्राज्ञिकदेखि सर्वसाधारणमा एकमत पाइन्छ । नेपालका बहुसंख्यक नागरिकको पनि यही धारणा छ ।

नेपाली नेताहरूले कयौंपटक चीनको भ्रमण गर्नुभएको छ । सन् २०१९मा चिनियाँ राष्ट्रपति सि नेपाल भ्रमणमा आउनुभयो । पछिल्ला दिनमा राजनीतिक तथा नागरिक स्तरको भ्रमण आदानप्रदानहरुको मात्र बढेको छ ।

नेपाल–चीनको बिआरआइको एक अभिन्न साझेदार हो । नेपाल चीन र दक्षिण एसियाली देशहरूका पुलमात्रै हैन, पश्चिम चीनको प्रवेशद्वार समेत हो । चीनको विकासको गतिबाट नेपालले पनि लाभ लिन सकोस् । त्यसबाट दुई देश मात्रै हैन सम्पूर्ण दक्षिण एसियालाई पनि प्रगति होस् भन्ने चीनको चाहना हो ।

नेपाल र चीन सम्बन्धका ‘कनेक्टर’ र ‘डिभाइडर’हरू के के हुन् जस्तो लाग्छ ?

चीन र नेपाल दुवै विकासशील मुलुक हुन् । इतिहास र संस्कृति पृथक भए पनि दुवै देशका नागरिकको राम्रो जीवन र विकासको उच्च तहको चाहना भने परस्पर मिल्ने खालका छन् । यही कुरा दुवै देशको द्विपक्षीय सम्बन्धलाई अझ गहिराइसम्म पुर्‍याउने प्रमुख शक्ति हो । सहकार्य नै दुई देशबीचको अकाट्य छनोट हो, जसले तथाकथिक डिभाइडरलाई सँगै जित्न सक्छ ।

किन दक्षिण एसियामा सार्कभन्दा बिमस्टेक ज्यादै सक्रिय भएको हो ?

बिमस्टेकले आर्थिक क्षेत्रमा सहकार्य गर्न जोड दिन्छ । सबै सदस्य राष्ट्रहरू यसैलाई जोडबल गरेर प्रवद्र्धन गर्नमा बढि लालायित छन् । यसमा सदस्य राष्ट्रहरूको मतभिन्नता सानो छ । यसको ठीकविपरीत सार्कको लामो इतिहास छ ।

राजनीतिक मतभिन्नतानै सदस्य राष्ट्रबीचको सामूहिक कदमका लागि प्रमुख समस्याको रुपमा छ । म व्यक्तिगत रुपमा बिमस्टेकलाई सार्कको प्रभावकारी परिपुरकको रुपमा हेर्न चाहन्छु, परस्पर विरोधीको रुपमा हैन ।

सार्क र बिमस्टेकबारे चीनको राजनीतिक तथा रणनीतिक दृष्टिकोण कस्तो छ ?

भूमण्डलीकरण तथा क्षेत्रीय साझेदारीको एक प्रमुख वकालतकर्ता भएकाले चीन दुवै पहलकदमीलाई दक्षिण एसियाको क्षेत्रीय साझेदारी प्रबद्र्धकको रुपमा सकरात्मक कोणमा लिन्छ । चीन यही प्रणालीमा उचित भूमिकासहित सामेल हुन चाहन्छ ।

कतिपय टिप्पणीकारले नेपाल कम्युनिस्ट पार्टीको फुट चीनलाई भएको धक्काको रुपमा व्याख्या गरेका छन् । यसमा तपाईंको धारणा के छ ?

अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नुनै चीनको कूटनैतिक सिद्धान्त हो । नेपालको आन्तरिक राजनीतिक मामिलाको आफ्नै तौरतरिका छन् । नेपालको आन्तरिक मामिलामा चीनले कुनै विशेष भूमिका निभाउँदैन । यद्यपि, एक असल छिमेकीको रुपमा चीन नेपालको आन्तरिक राजनीतिक अवस्था स्थिर भएको देख्न चाहन्छ । मलाई विश्वास छ, यो चाहना बहुसंख्यक नेपालीको पनि हो ।

तपाईंको दृष्टिकोणमा नेपालमा चीनका प्रमुख चासोहरू के के हुन् ?

चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न इच्छुक छैन । चीन र नेपालको बढ्दो सम्बन्धको कारण चीनका कूटनीतिज्ञले नेपालका सबै क्षेत्रका मानिससँग कुराकानी गर्नु सामान्य हो । खासगरी पश्चिम चीनको विकास र समृद्धिको लाागि शान्तिपूर्ण र स्थिर बाह्य वातावरणको अपरिहार्यता छ । त्यसका लागि स्थिर र समृद्ध नेपाल आवश्यक छ । जुन चीनको सबैभन्दा धेरै महत्वपूर्ण चासो हो ।

कोभिड-१९ भ्याक्सिनको लागि तड्पिरहेको नेपालले भारतबाट १० लाख डोज र चीनबाट आठ लाख जोड भ्याक्सिन पायो । विशाल अर्थतन्त्र भएको चीनले आफूभन्दा कमजोर अर्थतन्त्र भएको भारतभन्दा थोरै भ्याक्सिन नेपाललाई दिनुको कूटनीतिक अन्तर्य छ कि ?

यहाँ भ्याक्सिनको मात्राको तुलना गर्नुपर्ने कुनै कारण छैन । चीन र भारतको तुलना गर्नु पनि अर्थ छैन । चीनले सधैँभरि महामारी र भ्याक्सिनको राजनीतिकरणलाई विरोध गरेको छ । मानव जातिकै एक प्रमुख चुनौती भएकाले कोरोनासँग लड्न सहकार्यलाई अझ बढवा दिनुपर्छ । मैले जानेअनुसार कोभिड–१९ महामारीको उत्पत्तिबाटै चीनले नेपालको मेडिकल सहायताका क्षेत्रमा पूर्णरुपमा सहयोग गरेको छ । र अझै गर्दै जानेछ ।

नेपालका मूलधारका मुख्य दलहरू अमेरिकि सहयोग परियोजना एमसीसी पारित गर्नमा एकमत छन् । कसैले यसलाई चीन विरोधी र बीआरआइलाई काउन्टर दिने अमेरिकी परियोजना समेत भनेका छन् । यसलाई चिनियाँ दृष्टिकोणमा तपाईं कसरी हेर्नुहुन्छ ?

मिडियाका रिपोर्टहरू अनुसार नेपालमा एमसीसी परियोजना अमेरिकाको हिन्दप्रशान्त रणनीतिको एक अंग हो । जसको प्रमुख उद्देश्य भनेकै चीनको विकास रोक्नु हो । नेपालमा एमसीसीको प्रकृतिको बारेमा विभिन्न खालका धारणा र बुझाइ छन् । मलाइ लाग्छ, नेपालले अझ बढी छलफलका साथ आफ्नै चाहनाअनुसार यसमा निर्णय गर्नेछ ।

नेपाल र चीनले पर्यटन प्रबर्द्धनमा कसरी साझेदारी गर्न सक्छ ?

नेपालको पर्यटन क्षेत्रको विकास हुँदैछ । यसको बृहत् सम्भावना छ । वास्तवमा पछिल्ला केही वर्षमा नेपाल आउने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै वृद्धिदर चिनियाँ पर्यटकहरूको देखिन्छ । यद्यपि, कोभिड–१९ महामारीको कारणले पर्यटन आगमनको संख्यालाई पुरानै अवस्थामा पु¥याउन केही समय लाग्न सक्छ । खुलेर भन्दा नेपालतर्फका चीन जोड्ने जमिन मार्गको पहुँच विस्तार र कनेक्टिभिटी क्षेत्रका कामलाई व्यापकता दिन आवश्यक छ । प्रस्तावित चीन–नेपाल रेलमार्ग एक राम्रो विकल्प बन्न सक्छ । यसका अतिरिक्त, नेपालमा पर्यटनजन्य पूर्वाधारको निर्माणमा सुधार गर्नुपर्ने कुराहरू धेरै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *