माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने – Nepal Press

माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने भएको छ ।

अर्याल होटल बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको हो । नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई हठात् रुपमा स्पष्टीकरण सोधिनु अराजनीतिक कदम भएको बताइन् ।

‘पार्टीको विभाजनको पक्षमा स्वयं पार्टी अध्यक्ष नै हुनुहुन्छ । निरन्तर उहाँ कम्युनिष्ट आन्दोलन र पार्टी एकता धराशयी बनाउन लाग्नुभएको छ । सांसदहरूलाई सोधिएको स्पष्टीकरण त्यसैको निरन्तरता हो’, झाँक्रीले पत्रकारहरूसँग भनिन् ।

नेपाल पक्षले एमाले एकताको पक्षमा उभिएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका निर्णयहरू विधानविपरीत रहेकोले प्रतिवाद जारी रहने जनाएको छ ।

‘हामी हाम्रो स्पष्टीकरण दिन्छौं, कानूनी प्रतिवाद पनि गर्छौ र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध उभिन्छौं’, झाँक्रीले भनिन् ।

अध्यक्ष ओलीले व्यक्तिगत रुपमा पत्र काटेर सोधेको पत्र स्पष्टीकरण दिन लायक नभएपनि स्पष्टीकरण नदिँदा प्रतिरक्षा नगरेको अर्थ जाने भएकोले पत्रको जवाफ बुझाइने झाँक्रीले जनाइन् ।

सांसदलाई स्ष्टीकरण एमाले विभाजनको अर्को कदम

सांसद र वरिष्ठ नेताहरुबीच भएको सामूहिक छलफलमा २८ गते यता पार्टी विभाजनका लागि ओलीले थुप्रै निर्णय गरिसकेको र सांसदलाई स्पष्टीकरण सोधेर विभाजनलाई थप कार्यान्वयन गरेको निष्कर्ष निकालेको सांसदहरुले बताएका छन्।

‘फागुन २८ गतेको निर्णयबाट नै ओलीले एमाले विभाजनको निर्णय गरिसक्नु भएको थियो,’ छलफलमा सहभागि सांसद वेदुराम भुसालले भने, ‘सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय विभाजनको कार्यान्वयन हो।’

सांसद झपट रावलले स्पष्टीकरणका बारेमा छलफल भएको र तोकिएको समयभित्रै यथोचित जवाफ दिने निर्णय भएको बताए । ‘जुन स्पष्टीरकरणका नाममा हामीलाई सोधिएको छ,त्यसमा हामीले सामूहिक ढंगले छलफल गर्‍यौं,’ राववले भने, ‘त्यो पूर्व तयारीका साथ र रेडिमेट रहेछ । यसबारे कसरी जाने भन्ने ढंगले छलफल गर्‍यौं । र, तोकिएको समयभित्रै यसको यथोचित जवाफ दिने गरि हामी उठ्यौं ।’

स्पष्टीकरणमा नेपाल पक्षले अलग पार्टी खोलेको आरोप लगाइएको छ। त्यसको पनि नेपाल पक्षले खण्डन गरेको छ। ‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष कमरेड केपी शर्मा ओली हो,’ रावलको भनाइ छ, ‘म केन्द्रीय कमिटीको सदस्य हो र त्यही पार्टीबाट निर्वाचित सांसद म पनि । हामीले नेकपा एमालेको घोषित लक्ष्य उदेश्य भन्दा बाहिर र नबौं महाधिवेशनले पारित गरेको विधि र विधान भन्दा कही पनि बाहिर गएका छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर