जनताको सेवा गर्नुबाहेक एमालेको अर्को स्वार्थ छैन : संचारमन्त्री गुरुङ – Nepal Press

जनताको सेवा गर्नुबाहेक एमालेको अर्को स्वार्थ छैन : संचारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देश र जनताको सेवा गर्नु बाहेक नेकपा एमालेको अरु कुनै स्वार्थ नरहेको बताएका छन् ।

एमाले नेता समेत रहेका मन्त्री गुरुङले जनमतलाई ध्यानमा राखेर देश र जनताको सेवा गरेर नै पार्टी जनताको माझमा लोकप्रिय बनेको स्पष्ट पारे ।

‘देश र जनताको सेवा गरेर नै एमाले जनताको माझमा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको हो,’ नयाँ वर्षको अवसर पारेर दोलखाली समाजले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसै भएर जनताले एमालेलाई सधैं साथ दिएका हुुन ।’

मन्त्री गुरुङले पार्टी निर्देशन अनुसार देश र जनताको हितमा केन्द्रित भएर आफूले काम गरिरहेको बताए । जनताले विश्वास गरेर निर्वाचित गरेर पठाएको उल्लेख गद उनले जनमतको अपमान हुने कुनै पनि खालका गतिविधि नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री गुरुङले सांसदको रुपमा आफूले र दोलखाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले ‘समृद्ध दोलखा’को सपना पूरा हुने गरी काम गरिरहेको दाबी गरे । मन्त्री पदमा नरहँदा पनि विकास निर्माणको कामलाई अझै गतिका साथ अघि बढाउने उनको भनाई थियो ।

उनले पर्यटन क्षेत्रको विकास गरेर दोलखाको समृद्धिमा योगदान पुुर्‍याउन दोलखाली समाजले सक्दो पहल गरिरहेको भन्दै प्रशंशा गरे ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले दोलखालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न त्यहाँका सबै स्थानीय तहले पहल गरिरहेको बताए । समाजका अध्यक्ष शंकरनाथ काफ्लेले दोलखालाई समृद्ध बनाउने मन्त्री गुरुङको सपनालाई सार्थक बनाउन समाजले सक्दो सहयोग गर्ने धारणा राखे ।

कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, शैंलुुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर