सुदूरपश्चिममा नयाँ सरकार : एमाले र जसपा नै निर्णायक – Nepal Press

सुदूरपश्चिममा नयाँ सरकार : एमाले र जसपा नै निर्णायक

कैलाली । संघदेखि प्रदेशसम्म नयाँ सरकार गठनको राजनीतिक चर्चा चुलिदाँ सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सत्ता समीकरणको प्रयास थालिएको छ ।

हाल सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार छ । मुख्यमन्त्री भट्टलाई हटाउन एमाले केन्द्रीय नेताहरू प्रयासरत छन् । यद्यपि सुदूरपश्चिम प्रदेशसभामा एमाले संसदीय दलमा माधव नेपाल पक्षका सांसदहरू धेरै छन् । यहीकारण प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाका बावजुद मुख्यमन्त्री भट्टविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन सकेको छैन । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएपनि सुदूरपश्चिममा एमालेको समर्थन कायम छ ।

५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । अहिले एमालेका २५, माओवादीका १३ कांग्रेसका १२ र जसपाका २ सांसद छन् । नयाँ सरकार गठनका लागि एमालेलाई जसपामात्रैको समर्थन भएपनि पुग्छ । त्यसका लागि एमाले संसदीय दल एकढिक्का हुन भने जरुरी छ । एमालेका २५ मध्ये ओली पक्षका सांसद ६ जनामात्रै छन् । केन्द्रको राजनीतिमा माधव नेपाल र पुष्पकमल दाहालबीच समझदारी कायम रहेमा यहाँ सरकारको विकल्प तत्काल खोज्ने अवस्था बन्दैन ।

माओवादी केन्द्रका सुदूरपश्चिम सचिव नेपबहादुर चौधरी तत्काल नयाँ सरकारको सम्भावना नरहेको बताउँछन् । ‘एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको छैन । त्यसैले प्रदेश सरकार निरन्तर रहन्छ । भोलि एमालेले फिर्ता लियो भने नयाँ समीकरणका लागि पहल गर्छौ’, चौधरीले नेपाल प्रेससँग भने ।

एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेपाली कांग्रेस पनि सत्ताको दौडमा उभिनेछ । सरकार गठनमा निर्णायक हुने अवस्थामा कांग्रेसले नेतृत्वमा दावी गर्नेछ । कांग्रेस नेतृत्वमा सरकार बन्न एमालेको मात्रै समर्थन भए पुग्छ । अथवा माओवादी र जसपा दुवैको समर्थन चाहिन्छ । यसबारेमा पनि छलफल जारी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

‘नयाँ सरकार बनाउने विषयमा कांग्रेस सकरात्मक छ तर हामीले कसलाई साथ दिने भन्नेमा छलफल भएको छैन । कांग्रेसकै नेतृत्वमा पो सहमति जुट्छ कि भनेर छलफल भइरहेको छ’, कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने ।

प्रदेससभामा २ सांसद रहेको जसपा पनि नयाँ सरकार निर्माणमा एक प्रकारले निर्णायक नै छ । केन्द्रमा पनि एमाले-जसपा गठबन्धनको सम्भावना बढ्दो छ । जसपाले समर्थन गरेमा सुदुरपश्चिममा एमाले नेतृत्वमा सरकार बन्न सम्भव छ । यद्यपि सरकारमा जानेबारे पार्टीमा छलफल नभएको जसपाको भनाइ छ ।

‘हाम्रो मुख्य माग रेशम चौधरीको रिहाई हो । उहाँको रिहाई नभएसम्म हामी सरकारमा जाँदैनौ । माग पूरा भएपछि सरकारबारे सोच्ने हो’, जसपा मुख्य सचेतक मालामति रानाले नेपाल प्रेससँग भनिन् । एमाले बाहेकको सरकार गठनका लागि पनि जसपा निर्णायक रहेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको अवस्थमा सुदूरपश्चिममा एमाले सहज अवस्थामा छ । केन्द्रको विवाद अनुसार नेताहरु विभाजित नभएमा एमालेले थप २ सांसदको समर्थन जुटाए नयाँ सरकारको नेतृत्व पाउन सक्छ । ‘एमालेलाई एकताबद्ध राख्ने र जसपासँग मिलेर सरकार बनाउनेबारे हामी छलफलमा छौं । पार्टी केन्द्रको पनि निर्णय पर्खिरहेका छौ’, एमालेका एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर