चिनियाँ खोप लगाउन भारतीय व्यापारी काठमाडौंमा – Nepal Press

चिनियाँ खोप लगाउन भारतीय व्यापारी काठमाडौंमा

काठमाडौं । बीसभन्दा बढी भारतीय व्यापारीले राजधानीको टेकु अस्पतालमा कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाएका छन् । चीनमा व्यापार गरेको कार्डका आधारमा अस्पतालले उक्त खोप लगाइदिएको हो ।

तर, उनीहरु भारतीय नागरिक रहेको पुष्टि भएपछि टेकु अस्पतालले अन्य भारतीयलाई खोप लगाउने कार्यमा रोक लगाएको छ । बुधबार थप ३० जना भारतीय खोप लगाउन टेकु पुगेपनि अस्पतालले नागरिकता मागेपछि उनीहरुले नागरिकता ल्याउन नसक्ने बताएका थिए ।

टेकुसहित राजधानीका अन्य अस्पतालले पनि चिनियाँ खोप लगाएको हुनसक्ने अनुमान गरिएको छ । चीन प्रवेश गर्न चिनियाँ खोप लगाएको प्रमाण अनिवार्य हुनुपर्ने भएपछि भारतीय व्यापारी नेपाल आएका हुन् । अहिले भारतमा चिनियाँ खोप प्रयोगको लागि अनुमति छैन ।

चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी जहाज चढेर काठमाडौं आउन लागेपछि टेकु अस्पतालले गैरनेपालीलाई खोप दिन नसकिने बताएको हो । अस्पताल निर्देशक राजभण्डारीले भारतीयले खोप लगाएको पाइएपछि बुधबारदेखि अस्पतालको खोप सेवा रोकिएको बताए ।

सरकारले चीनमा अध्ययन गर्ने विद्यार्थी, सीमापार व्यापार गर्नेलाई खोपको प्राथमिकतामा राखेको छ । चीनले अनुदानमा उपलब्ध गराएको आठलाख खोपलाई अहिले सरकारले दोस्रो चरणको खोप अभियानमा प्रयोग गरिरहेको छ । बुधबारसम्म ५३ हजार ९४१ जनाले खोप लगाइसकेका छन् ।

चीनले भिसाको लागि भेरोसेल खोप अनिवार्य गरेपछि अहिले टेकु अस्पताल लगायतमा चिनियाँ खोप लगाउन जान चाहनेको भीड छ । बैशाख ५ गतेसम्म चिनियाँ खोप लगाउन सकिने तालिका छ । बैशाख ७ गतेदेखि सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाइसकेकालाई दोस्रो चरणको खोप प्रदान गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर