नयाँ वर्षमा १५ हजारले गरे लुम्बिनी भ्रमण, कोरोना शुरु भएयताकै ठूलो भीड – Nepal Press

नयाँ वर्षमा १५ हजारले गरे लुम्बिनी भ्रमण, कोरोना शुरु भएयताकै ठूलो भीड

रूपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा कोरोना महामारीको संक्रमण शुरू भएयता सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । बुधबार नयाँ वर्षमा १५ हजार आन्तरिक पर्यटकले लुम्बिनी घुमेका छन् ।

लुम्बिनी विकास कोषका अनुसार नयाँ बर्षमा लुम्बिनीमा विहानदेखि साँझसम्म घुईँचो लागेको थियो । विशेषगरी मायादेवी मन्दिर दर्शनका लागि धेरै पर्यटक लुम्बिनी पुगेको कोषले जानकारी दिएको छ ।

मायादेवीको मंदिरमा घन्टौं लाईनमा बसेर दर्शन गरेको विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । उनका अनुसार लुम्बिनीमा कोरोनापछि पहिलोपटक यत्रो संख्यामा पर्यटक आएका हुन् ।

कोरोनापछि गत बर्ष २०७६ चैत १० देखि २०७७ मंसिर ३ गतेसम्म लुम्बिनी भ्रमणमा स्वदेशी तथा विदेशी पर्यटकलाई रोक लगाइएको थियो । कोरोना सहज हुन थालेपछि मंसिर ३ गतेदेख लुम्बिनीको मायादेवी मंदिर खुल्ला गरिएको हो ।

तर, खुला भएसँगै लुम्बिनीमा टाढा–टाढादेखि पर्यटक लुम्बिनीमा पुग्ने गरेका थिए तर, नयाँ वर्षमा एकैदिन यत्रो भीड लागेको हो ।

एक्कासी विहानदेखि लुम्बिनी भ्रमणमा आउनेको संख्या अत्यधिक भएपछि कोषलाई यातायात व्यवस्थापन गर्न समेत केहि समस्या भएको थियो ।भारतमा कोरोना संक्रमण बढेसँगै लुम्बिनी आउनेको संख्या केही दिनयता घटेकोे थियो ।

वैशाख पूर्णिमासम्म आन्तरिक पर्यटक बढ्ने अपेक्षा रहेको बस्नेतले बताए । सन् २०२१ को तीन महिनामा २ लाख ५६ हजार पर्यटकले अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर