देशको राजनीतिक संकटप्रति एकै मञ्चबाट नेताहरूको चिन्ता (भिडियो) – Nepal Press

देशको राजनीतिक संकटप्रति एकै मञ्चबाट नेताहरूको चिन्ता (भिडियो)

काठमाडौं । अखिल (छैठौं) ले पूर्वअध्यक्षहरूलाई सम्मान गर्न गरेको एक कार्यक्रममा सहभागी नेताहरूले देशमा भएको राजनीतिक परिवर्तन संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरे ।

रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरूमा निरंकुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताए त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन सकेन’, रायमाझीले भने । उनले परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरू महत्वपूर्ण भए पनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने बताए ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए । अहिले समाजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरू विस्थापन नभएको गुरुको भनाइ थियो । संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरूबाट भएको उनले दाबी गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धारापमा परेको टिप्पणी गरे । ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको भन्दै केसीले चिन्ता जनाए । यसलाई संस्थागत गर्न चुनौती रहेको भन्दै उनले नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाएपनि अहिले देशी विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेको बताए ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले अझैपनि क्रान्ति सफल नभएको बताए। क्रान्ति पूरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको पोखरेलको टिप्पणी छ ।

सो अवसरमा नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं) को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर