कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च – Nepal Press

कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

बर्डफ्लूले पनि घटाएन मूल्य 

काठमाडौं । बोइलर कुखुराको मासुको मूल्य दिनप्रतिदिन बढेको बढ्यै छ । हाल बजारमा बोइलर कुखुराको मासु प्रतिकेजी ४ सय १० रुपैयाँमा बिक्री भइरहेको छ ।

लकडाउनको समयमा कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको थियो । सो समयमा मासु प्रतिकेजी एक सय ७० रुपैयाँसम्ममा बिक्री भएकाे  थियो ।  गत वर्षको भदौ महिनामा कुखुराको मासुभन्दा अन्य सागसब्जीको मूल्य बढी रहेको थियो ।

पोल्ट्री व्यवसायी संघका अध्यक्ष जंगबाहदुर बिसीले मागभन्दा ३० प्रतिशत कम कुखुरा उत्पादन भएकोले बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको बताए ।

उनले भने, ‘चिसो समयमा कुखुराको उत्पादन कम र विभिन्न रोगको कारणले चल्लामा नै कुखुरा मर्दा अहिले मासुको मूल्य आकाशिएको हो । हाल देशैभर प्रतिदिन ८ लाख केजी कुखुराको मासु माग रहेको पोल्ट्र व्यवसायी बताउँछन् ।

अध्यक्ष बिसीका अनुसार उपत्यका बाहिर प्रतिदिन ५ लाख केजी कुखुराको माग रहेको छ । तर देशैभरको मागभन्दा ३० प्रतिशतले कम कुखुरा उत्पादन भएको छ ।

गत मंसिरबाट बढेको मासुको मूल्य तत्काल नघट्ने बताउँछन् अध्यक्ष बिसी । गर्मीको समय आएपनि यस वर्ष चाँढो कुखुराको मासुको मूल्य नघट्ने उनले बताए । ‘विभिन्न रोगको कारणले देशैभर चल्ला र कुखुरा मरे जसका कारण उत्पादन न्यून छ, चाँढै मूल्य घट्ने अवस्था छैन्,’ बीसीले भने ।

केही समय अघि कुखुरामा बर्डफ्लू देखिएको थियो । जसले गर्दा बजारमा मासुको मूल्य घट्ला भन्ने थियो तर, उत्पादन कम भएको समयमा केही स्थानका कुखुरामा बर्डफ्लू देखिंदा पनि त्यसको असर मूल्य नपरेको व्यापारी बताउँछन् ।

माग महिनादेखि यता वीरेन्द्रनगरमा २७९, काठमाडौंमा ५ हजार ६ सय ५७ लेयर्स कुखुरा र ७ हजार २ सय ३६ बोइलर कुखुरा, नख्खुमा ८५४ कुखुरामा बर्डफ्लू संक्रमण देखिएको थियो ।

अघिल्ला वर्षहरुमा बल्र्डफु देखा परेपछि कुखुराको मासुको मूल्य घट्ने गरेको थियो । तर यो वर्ष भने बल्र्डफु देखिए पनि मासुको मूल्य कमी हुनुको साटो उल्टै वृद्धि भएको छ । हाल नेपालको पोल्ट्री व्यवसायमा १ खर्ब २० अर्ब लगानी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर