‘चुच्चे नक्सा’ सहितको पदकबाट ४५२ जना सुशोभित, टुंगियो विभूषणमा पुरानै नक्साको विवाद – Nepal Press

‘चुच्चे नक्सा’ सहितको पदकबाट ४५२ जना सुशोभित, टुंगियो विभूषणमा पुरानै नक्साको विवाद

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भएका विभूषणबाट ४ सय ५२ जनालाई सुशोभन गरेकी छन् ।

गत चैत २७ गते गरिएको सुशोभनमा पदकमा लिपुलेक र कालापानी समेटिएको ‘चुच्चे नक्सा’ नभएको भन्दै तीब्र आलोचना भएको थियो ।

आज वितरण गरिएको पदकमा भने संसदबाट पारित भई प्रचलनमा रहेको लिपुलेक र कालापानीसहितको नेपालको वास्तविक नक्सा प्रयोग भएको विभूषित कलाकार विल्सनविक्रम राईले जानकारी दिए ।

२०७६ सालको संविधान दिवसका अवसरमा घोषणा गरिएको पदक लकडाउनका कारण गत नयाँ वर्षमा वितरण हुन सकेको थिएन । संसदले २०७७ साल मात्र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा पारित गरेको थियो । त्यसैले २०७६ सालको पदकमा पूरानै नक्सा छापिएको र सोही यस वर्ष वितरण हुँदा विवाद भएको थियो । २०७७ सालको पदकमा नयाँ नक्सा अंकित गरिएसँगै सो सम्बन्धी विवाद टुंगिएको छ ।

यसअघि गृह मन्त्रालयले विज्ञप्ति जारी गरी २०७६ सालमै घोषणा भएका पदक संसदबाट नयाँ नक्सा जारी हुनु अगाडि नै निर्माण भएको र अघिल्लो वर्ष कोरोना महामारीका कारण वितरण हुन नसकेको स्पष्टीकरण दिएको थियो ।

राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २ सय ४२, जनसेवाश्री पञ्चम श्रेणीमा १ सय ४ तथा अलङ्कारतर्फ १ सय १४, पदकतर्फ २७ गरी जम्मा ५ सय ९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो । तीमध्ये मान पदवी प्राप्त ४ सय ५२ जनालाई नयाँ वर्षको दिन पारेर आज विभूषित गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर