एएफसी कप छनोट: बेङ्गलुरुमाथि ‘काउन्टर अट्याक’ गर्ने आर्मीको रणनीति – Nepal Press

एएफसी कप छनोट: बेङ्गलुरुमाथि ‘काउन्टर अट्याक’ गर्ने आर्मीको रणनीति

काठमाडौं । एएफसी कपको दोस्रो प्रारम्भिक चरणमा आज त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय प्रतिद्वन्दी बेङ्गलुरु एफसीको सामना गर्दैछ । नेपाली समय अनुसार साँझ ७ : ४५ बजे गोवास्थित जिएमसी रंगशालामा हुने खेलमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सम्मिलित आर्मीले भारतीय राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्रीसहितको टोलीको सामना गर्नेछ ।

प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिसविरुद्ध ५-१ को रोमाञ्चक जित निकाल्दै इन्डियन सुपर लिग साइड –आइएसएल) – बेङ्गलुरुसँगको भेट निश्चित गरेको आर्मीका लागि आजको खेल कठिन परीक्षा रहने छ । आजको खेल प्रतिस्पर्धात्म हुने र आफ्नो टोली त्यसका लागि तयार रहेको आर्मीका प्रशिक्षक नबिन न्यौपाने बताउँछन् ।

‘हामी तयारी राम्रो छ र हामी बेङ्गलोरविरुद्ध काउन्टर अट्याकमा जानेछौं,’ प्रशिक्षक न्यौपानेले नेपालप्रेससँग भने, ‘श्रीलंका पुलिसविरुद्धको टोलीमा केही परिवर्तन पनि हुन सक्छ ।’

पहिलो चरणको खेलअघि कोरोना भाइरसको परीक्षण गर्दा नतिजा पोजिटिभ आएपछि पहिलो रोजाईका गोलकिपर विकेश कुथु र नियमित सदस्य जर्ज प्रिन्स कार्की बिना आर्मी दशरथ रंगशालामा उत्रिएको थियो ।

उनीहरू आजको खेलका लागि भारत गोवा पुगेको वा नपुगेकोबारे क्लबले आधिकारिक जानकारी नदिए पनि सञ्चारमाध्यममा भने उनीहरू टोलीमा समावेश नभएको सूचना पर्वाह भएका थिए । मंगलबार भएको प्रि–म्याच प्रेस मिटमा आर्मीका प्रशिक्षक न्यौपानेले आजको खेल कठिन रहेको बताएका थिए ।

‘हामीले बेङ्गलुरु एफसीलाई आइएसएलमा हेरेका छौं’ प्रशिक्षक न्यौपानेले भने, ‘ हो, उनीहरूको ‘टप’ टोली छ… मलाई लाग्छ, हामी राम्रो प्रतिस्पर्धा दिन सक्छौं । यो प्रतिस्पर्धात्मक खेल हुनेछ ।’

भारतीय राष्ट्रिय फुटबल टोलीका सर्वकालिन सर्वाधिक गोलकर्ता तथा कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा रहेको बेङ्लुरु एफसीमा दक्षिण एसियाली फुटबलका प्रतिष्ठित नाम छन् । भारतीय राष्ट्रिय टोलीबाट ७२ गोल गरिसकेका सुनिल तथा युरोपेली फुटबलको अनुभव बटुलिसकेका गोलकिपर गुरप्रित सिंह संधु लगायतका खेलाडीरहेको बेङ्गलोरका जर्मन प्रशिक्षक मार्को पेज्ज्जाइलीका लागि मुख्य प्रशिक्षकको रूपमा यो पहिलो खेल हुनेछ ।

‘म पहिलो खेलका लागि एकदमै भोकाएको छु । हामीले राम्रो तयारी गरेका छौं,’ प्रि–म्याच प्रेस ब्रिफिङमा पेज्ज्जाइलीले भने, ‘गत सिजन हामी यसै स्टेजबाट बाहिरिनु परेको थियो । त्यसैले, यो हाम्रा लागि महत्त्वपूर्ण खेल हो । हामी समूह चरणमा प्रवेश गर्न चाहन्छौं ।’

गत सिजन भुटानको पारो एफसीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

‘हाम्रो हातमा धेरै कठिन खेल छ… तर, हामी अहिले हाम्रो बारेमा सोचिरहेका छौं,’ प्रशिक्षक पेज्ज्जाइलीले भने, ‘मलाई लाग्छ हामी उनीहरूलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सक्षम छौं ।’

श्रीलंका पुलिसविरुद्ध खेलको सुरुआतमा ०–१ ले पछि परेको आर्मीले लोभ लाग्दो पुनरागमन गर्दै ५–१ को शानदार जित निकालेको आर्मी उच्च मनोबलसहित गोवा पुगेको छ । पुलिसविरुद्धको रवाफिलो जितमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भएको आर्मीका लागि नवयुग सर्वाधिक गोलकर्ता थिए । उनले आर्मीका लागि ६ गोल गरेका थिए । श्रीलंका पुलिसको रक्षापंक्तिमाथि हाबी बनेको आर्मीदेखि हच्किएका बेङ्गलोरका प्रशिक्षक पेज्ज्जाइलीले पनि प्रशिक्षक नबिनको रणनीति बुझेको सन्देश दिन खोजेका थिए ।

‘आर्मीसँग छिटो खेल्ने खेलाडी छन्, उनीहरू बलमा पनि राम्रा छन्,’ पेज्ज्जाइलीले भने, ‘हाम्रो रक्षापंक्तिमा समस्या रहेकाले उनीहरूले काउन्टर अट्याक अपनाउँछन् । खेलमा ९० मिनेट हुन्छ, उनीहरूले एक/दुई वटा गोल गर्ने मौका सिर्जन गर्नसक्छन्, हामी त्यसलाई टार्न चाहन्छौं ।’

नेपाली विभागीय हेभिवेट आर्मी अन्तिम खेलमा विजयी भएकाले उच्च मनोबलसहित मैदानमा उत्रिनेछ भने पछिल्ला दुई खेलमा पराजित बेङ्गलुरु खराब ‘फर्म’मा पूर्णविराम लगाउने उद्देश्य लिएर उत्रिनेछ । फेब्रुअरीमा भएका आइएसलका अन्तिम दुई खेलमा बेङ्गलुरुले गोवाविरुद्ध १–२ तथा जमशेदपुर एफसीसँग ३–२ को पराजय भोगेको थियो । यद्यपि, त्यसपछि नियुक्त भएका मुख्य प्रशिक्षक मार्को पेज्ज्जाइलीको यो नै पहिलो प्रतिस्पर्धात्म खेल हुनेछ ।

आजको विजेताले अहबानी ढाका र एफसी इगलबीचको विजेतासँग अप्रिल २१ मा खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *