अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम आयोजना – Nepal Press

अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम आयोजना

रासस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ ।

अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि गोवर्धन पूजा र कवि तथा समालोचक महेश पौड्याललगायतले शुभकामना मन्तव्य र्दिए ।

कार्यक्रममा कवि रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन, कपिल अञ्जान, दिलु थापामगर, प्राञ्जल, रामचन्द्र शर्मा, ऋद्धिमा रिजाललगायतले आ–आफ्ना कविता, गजल, मुक्तक वाचन गरेका थिए । अतिथि स्रष्टा तथा रचना वाचकरूलाई च्याप्टरले सम्मानपत्रसमेत वितरण गरेको थियो ।

कार्यक्रममा केही महिनाअघि अनेसास कोरियाले आयोजना गरेको कोरियाव्यापी खुला कविता प्रतियोगिता, २०७७ मा विजयी भएका कविलाई पुरस्कार वितरणसमेत गरेको थियो । प्रतियोगितामा कविहरु युवराज फुयाल, निर्दोष शिव र माधव लम्साल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

लामो समयदेखि अनेसास कोरियाले कविता, गजल, मुक्तकजस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रम गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराइएको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा केही न केही सहयोग पुग्ने अपेक्षा लिइएको संस्थाका अध्यक्ष सारङ्गले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर