पर्यटनमा कोरोनाको दोस्रो प्रहार, नयाँ वर्षमा आन्तरिक पर्यटकको बहार – Nepal Press

पर्यटनमा कोरोनाको दोस्रो प्रहार, नयाँ वर्षमा आन्तरिक पर्यटकको बहार

काठमाडौं । नेपालमा आजदेखि नयाँ वर्ष २०७८ सुरु भएकाे छ । कोरोनाको बज्रपातले घाइते बनेको पर्यटन उद्योगमा नयाँ वर्षले क्षणिक रौनक ल्याइदिएको छ । तर, कोरोनाको दोस्रो लहरको हल्लाले फेरि व्यवसायी चिन्तामा परेका छन् ।

सरकारले गत वर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ अभियान सुरु गर्दा पर्यटन व्यवसायमा ठूलो उमंग थियो । व्यवसायीहरु धमाधम लगानी थपिरहेका थिए । कोरोनाले भिजिट नेपाललाई मात्रै निलेन, नेपालको सम्पूर्ण पर्यटन क्षेत्रलाई पक्षघात अवस्थामा पुर्‍याइदिएको छ ।

गत वर्ष चैतदेखि भदौसम्म ६ महिना पर्यटन क्षेत्र ठप्प नै बन्यो । असोजबाट खुल्न थालेको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटकहरुले केही हदसम्म धानिरहेका थिए । व्यवसायीले पनि आन्तरिक पर्यटनलाई जोड दिन थाले । तर, कोरोनाको दोस्रो लहरको हल्लाले आन्तरिक पर्यटनलाई समेत प्रभावित बनाइदिएको छ ।

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी पर्यटन व्यवसायमा फेरि चिन्ता थपिएको बताउँछन् । आन्तरिक पर्यटकको केही चहलपहल भए पनि यसले पर्यटन उद्योग धान्न नसक्ने उनको भनाइ छ ।

‘पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेट आवश्यक छ,’ उनले भने ।

नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको रेग्मीले जानकारी दिए । यसका लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने उनको धारणा छ ।

बोर्डका पूर्वकार्यकारी निर्देशक दिपकराज जोशी सरकारले मन्त्रालयगत हुने कतिपय बजेट कटौती गरेर पनि पर्यटन क्षेत्रको पुनरुत्थानलाई बजेट बिनियोजन गर्नुपर्ने बताउँछन् ।

अहिले नेपालमा न्यून संख्यामा भारतीय पर्यटक आउने गरेका छन् भने तेस्रो मुलुकका पर्यटकको आगमन झन् नगण्य छ । भर्खरै सरकारले विदेशी पर्यटक नेपाल आउँदा अराइभल भिषा दिने घोषणा गरेको छ । यसले पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाउने आशा राखिएका बेला दोस्रो लहरको हल्लाले त्यो आशामा तुषारापत गरेको छ ।

समग्रमा २०७७ साल पर्यटन व्यवसायीका लागि अत्यन्त कठिन बन्न पुगेको बताउँछन् होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह । उनका अनुसार पर्यटन क्षेत्र व्यूँतिने प्रयासमा रहेका बेला पुनः कोरोनाको दोस्रो लहरले अन्योल बढाएको छ ।

‘यदि कोरोनाको दोस्रो लहर भयावह भएन र चाँडै नै नियन्त्रणमा आयो भने पुन पर्यटनले गति लिन्छ । नभए यसले धेरै वर्ष उठ्न नसक्ने गरी पछार्ने छ,’ उनले भने ।

नेपालमा विदेशी पर्यटक

गत वर्षदेखि बन्द रहेको नेपालको पर्यटनलाई गत सेप्टेम्बरमा खुला गरेपछि केही विदेशी पर्यटक नेपाल आएका छन् । गत अक्टोवरमा ३ हजार विदेशी नेपाल आएको रेकर्ड छ ।

यसैगरी नोभेम्वरमा ४ हजार, डिसेम्बरदेखि जनवरीमा ८ हजार र फ्रेवुअरीमा ९ हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन विभागले जानकारी दिएको छ । यही स्प्रिङ सिजनमा सगरमाथासहित अन्य हिमाल आरोहणका लागि ३०३ आरोहीले अनुमति लिइसकेका छन् । यसले पनि नेपालमा अब पर्यटन क्षेत्र अघि बढ्न सक्ने संकेत देखिए पनि कोरोनाको दोस्रो लहरले धक्का दिने निश्चितप्राय छ ।

कहाँको अवस्था के छ ?

सामान्यतया नयाँ वर्षको छेकोमा नेपालका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु भरिभराउ हुन्छन् । तर, गत वर्षको नयाँ वर्षमा पर्यटन उद्योग नै ठप्प भयो । यसपाली केही चहलपहल भए पनि पहिलेको जस्तो रौनक छैन ।

चितवन

चितवनमा अहिले विदेशी पर्यटक छिटफुटरुपमा देखिन थालेका छन् । आन्तरिक पर्यटकले नै धानिरहेको चितवनमा आगामी दिनमा विदेशी पर्यटक बढ्ने संकेत देखिएको छ ।

चितवन सफारी ट्राभलका सञ्चालक विकास न्यौपानेका अनुसार विदाका दिनमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ चितवन । उनको ट्राभल बसले गत शुक्रबार मात्रै १३ जना विदेशी पर्यटकलाई चितवन लिएर गएको थियो । उनले लगेका पर्यटकमध्ये आधाजसो भरतपुरको मेघौली गएका थिए ।

‘चितवनमा अहिले पर्यटनको अवस्था सुधार भएको छ । यहाँ विदेशी पर्यटक छिटफुट रुपमा आउन थालेका छन् भने आन्तरिक पर्यटकको अवस्था राम्रो छ,’ उनले भने ।

तर, कोभिडमो दोस्रो लहरले समस्या निम्त्याउन सक्ने उनको बुझाइ छ । यहाँका होटलको अकुपेन्सी ४० प्रतिशतको हाराहारीमा रहेको छ । काठमाडौंका ठूला होटलहरुको अकुपेन्सी १० देखि २० प्रतिशत रहेकोमा चितवनमा ४० प्रतिशतभ हुनु राम्रो भएको बताउँछन् ग्रीन पार्ककै होटल म्यानेजर राधाकृष्ण श्रेष्ठ ।

पोखरा

आन्तरिक तथा विदेशी पर्यटकको पहिलो रोजाइका रुपमा रहेको पोखरामा पनि नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । विदेशी पर्यटक भने छिटफुट मात्र छन् ।

नयाँ वर्षका लागि पोखरामा आन्तरिक पर्यटकले होटल बुक गरिसकेका छन् । पश्चिमाञ्चल होटल एसोसिएसनका प्रथम उपाध्यक्ष तथा साकुरा होटलका सञ्चालक लक्ष्मण सुवेदीका अनुसार पोखरामा आन्तरिक पर्यटकले होटल बु्क गराए पनि कतिपयले धमाधम रद्द पनि गर्न थालेका छन् । यो नयाँ वर्षमा ५० देखि ५५ प्रतिशतसम्म आन्तरिक पर्यटक पोखरामा भित्रनेमा भने उनी ढुक्क छन् ।

नेपाल पर्यटन बोर्ड पोखराका अनुसार अहिले पोखरामा आन्तरिक पर्यटकको राम्रो अवस्था रहेको छ । उनका अनुसार पोखराले कोभिडपछिको समयलाई सदुपयोग गर्दै विभिन्न नयाँ रुट खोल्ने, पोखरालाई छुट्टै किसिमले ब्राण्डिङ गर्ने, डिजिटल प्रविधिमार्फत प्रचारप्रसार गर्ने, वेगनास ताललाई परिक्रमा गर्नका लागि वकिङ रुट तयार पार्नेलगायतका विभिन्न काम गरेको छ ।

उनका अनुसार पोखरामा गत मार्चमा ३४ हजार पर्यटक आएकोमा यो वर्षको मार्चमा १५ हजार पर्यटक पोखरा आएका छन् । यसमा आधा भारतीय पर्यटक रहेको छन् ।

पूर्वी क्षेत्र

पछिल्लो समय प्रदेश १ मा पनि विभिन्न साहसिक तथा धार्मिक पर्यटन बढ्दै गएको छ । सप्तकोशी नदीमा २०७४ सालबाट सञ्चालित जेट बोटले पूर्वीय आन्तरिक पर्यटकको मन जित्न सफल भएको छ ।

मोरङ पथरी घर भएकी मुना अधिकारी यो नयाँ वर्षमा सप्तकोशीको जल यात्रामा निस्कन लागकी छन् ।

उनले भनिन्, ‘हामी साथीहरु मिलेर सप्तकोसी जाने योजना बनाएका छौं ।’

धरानमा रहेको प्याराग्लाइडिङ, जिप लाइन, धनकुटाको मूलघाटदेखि चतरासम्मको तमोर ¥याफ्टिङ, माउन्टेन बाइकका लागि पनि प्रदेश १ प्रसिद्ध बन्दै गएको छ । धरानदेखि भेडेटार बसन्तपुर हुँदै गुफापोखरी सम्मको कोशी क्षेत्रको रुटमा माउन्टेन बाइकको मज्जा लिन सकिन्छ । साथै प्रदेश १ मा जंगल सफारी पनि गर्न सकिन्छ ।

प्रदेश १ को धरानस्थित पर्यटन क्षेत्रमा काम गर्दै आएकी एलिना मगरका अनुसार यो वर्ष कोरोना महामारीपछि अझै यहाँको पर्यटन उठ्न सकेको छैन । आफ्न दुई होटलमध्ये एउटा कारण पर्यटक नआएपछि बन्द गर्नु परेको उनी बताउँछिन् । यसैगरी, उनीहरुले चलाइरहेको कोशी कोरिडोर, सगरमाथा कोरिडोर तथा मेची कोरिडोर यात्राका लागि पनि कोशी कोरिडोरमा मात्र केही आन्तरिक पर्यटक आउने गरेका छन् ।

लुम्बिनी

कोभिड महामारीपछि सुनसान बनेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो ५ महिनामा आन्तरिक पर्यटकको संख्या केही बढेको छ ।

२०७६ चैत महिनाको ११ गतेदेखि बन्द रहेको लुम्बिनी क्षेत्र ९ महिनापछि खुलेको हो । लुम्बिनी विकास कोषले २१ गतेदेखि मायादेवी मन्दिर खुला गरेपछि यस क्षेत्रको चहलपहल बिस्तारै बढ्न थालेको हो । नौ महिनासम्म बन्द रहेको यो क्षेत्रमा अहिले बौद्धमार्गी मात्र नभएर आन्तरिक पर्यटक बढ्न थालेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए ।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२० को नोभेम्बर र डिसेम्बरमा ३६ हजार ७७५ जना आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । त्यसैगरी सन् २०२१ को जनवरी, फेबु्रअरी र मार्च तीन महिनामा १ लाख ५६ हजार ६०१ जना आन्तरिक पर्यटक लुम्बिनीमा आएको सूचना अधिकारी बस्नेतले नेपाल प्रेसलाई बताए ।

पछिल्लो तीन महिनामा भारतबाट पनि ८ हजार ४ सय ७३ जना पर्यटक लुम्बिनी आएका छन् । भारतमा दोस्रो लहरको कोरोना संक्रमण बढेपछि भने बिस्तारै यो क्रम रोकिएको छ । नेपालमा पनि संक्रमण बढ्न थालेपछि पछिल्लो सातादेखि आन्तरिक पर्यटक पनि घट्दै गएको बस्नेतले बताए ।

पर्यटक घुम्न आउने सिजन भएपनि बाहिरी मुलुकबाट लुम्बिनीमा आउने विदेशी पर्यटक आउन पाएका छैनन् । वैदेशिक उडान रोकिनु र स्थलमार्ग हुँदै आउनेहरु पनि भारतबाटै आउन नपाएका कारण विदेशी पर्यटकको संख्य शून्यजस्तै रहेको बस्नेतले बताए ।

ईलाम

पर्यटकीय क्षेत्र ईलाम पछिल्लो समय भारतीय र नेपाली पर्यटकका लागि एउटा सुन्दर गन्तव्यका रुपमा उदाइरहेको छ । प्रदेश १ मा रहेको पूर्वी क्षेत्रको रानी भनेर चिनिन ईलामको सौन्दर्यले जोकोहीको मन लोभ्याउँछ । यहाँको चियाबारी, सूर्योदयका लागि प्रशिद्ध अन्तु डाँडा, माईपोखरीलगायतका ठाउँले प्रत्येक पर्यटकको मन जित्न सफल छ ।

लक डाउनपछि पनि ईलाममा पर्यटकको आगमनमा कुनै कमी नभएको बताउँछन् समिट होटल ईलामका प्रोपाइटर तुलवहादुर देवान । उनका अनुसार ईलाममा भारतीय र नेपाली पर्यटक आउने गरेका छन् ।

अहिले कोरोना भाइरसका कारण नाका बन्द हुँदा भारतीय पर्यटकको संख्यामा केही कमी आएको छ । तर, आन्तरिक पर्यटकले ईलामलाई चाँढै नै रिभाइभ गरेको देवान बताउँछन् ।

‘अहिले यहाँ धेरै नै आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँका साना र मध्यम खालका होटल त कहिल्यै खाली हुँदैनन् । यसले पनि यहाँ पर्यटकको संख्या धेरै छ भन्न मिल्छ,’ उनले भने । उनका अनुसार ईलाममा आउने दुई प्रकारका पर्यटक छन् । एउटा ईलाम घुम्नैका लागि आउँछन् भने अर्का चाहिँ ताप्लेजुङमा रहेको पाथिभरा माताको दर्शनका लागि जाने दर्शानार्थी ईलाममा एक रात बस्छन् ।

मनकामना

नयाँ वर्षमा मनकामनालगायत देवीका शक्तिपिठहरुमा जाने चलन छ । देवीको दर्शन तथा घुम्नका लागि नै नेपालीहरु मनकामना जाने गरेका छन् ।

पछिल्ला वर्षहरुमा जस्तो मनकामनामा भिडभाड नभए पनि शनिबार भने भक्तजनको भीड नै लाग्ने गरेको बताउँछन् स्थानीयबासी शशी मगर । उनका अनुसार देशका विभिन्न भागबाट सयौंका संख्यामा मनकामना जाने भक्तजनका कारण मनकामनास्थित होटल तथा अन्य व्यवसायको राम्रो व्यापार हुने गरेको छ ।

धार्मिक पर्यटनका रुपमा मनकामना क्षेत्रका वासिन्दा तथा होटलहरुले राम्रो आम्दानी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर