चुनावी टिकटबारे ओली-नेपाल जुहारी : केपीले नदिए हामी दिन्छौं- नेपाल, माधवले दिने बसपार्कको टिकट- ओली (भिडियो) – Nepal Press

चुनावी टिकटबारे ओली-नेपाल जुहारी : केपीले नदिए हामी दिन्छौं- नेपाल, माधवले दिने बसपार्कको टिकट- ओली (भिडियो)

काठमाडौं । नेकपामा विभाजत आएसँगै केपी ओली र प्रचण्ड-माधव पक्षका नेताहरुबीच आरोप-प्रत्यारोप र घोचपेचको श्रृंखला सुरु भयो । नेकपा भंग भएर एमाले बनेपछि ओली र माधव नेपाल एकै ठाउँमा आए । तर, एक-अर्कामाथि उनीहरुको दन्तबझान भने रोकिएको छैन ।

पछिल्लोपटक चैत २९ गते वीरगञ्जमा पुगेर माधव नेपालले आफ्ना कार्यकर्तालाई भने- चिन्ता केही लिन पर्दैन, हामी छौं । कसलाई के-के टिकट दिनुपर्छ हामी छौं ।’

वीरगञ्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले टिकट केपी ओलीले नदिए आउने चुनावमा कार्यकर्तालाई आफूहरुले टिकट दिने भन्दै छाति पिटे । छेउमा रहेका नेता घनश्याम भुसालले पनि तिघ्रा पड्काउँदै नेपालको समर्थन गरे ।

पत्रकारले नेपाललाई यो के नयाँ पार्टीको तयारी हो ? भनि प्रश्न गरेका थिए । यसको जवाफमा नेपालले मुस्कुराउँदै भने- बुझ्नेले के-के बुझ्नु हुन्छ, यो तपाईंहरुको कुरा हो । अन्यायमा परेकाहरुलाई हामी त टिकट दिन्छौं-दिन्छौं ।

माधव नेपालको यो भनाईको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलाइ गरेनन् । भोलीपल्ट चैत ३० गते सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जवाफ फर्काए ।

ओलीले माधव नेपाललाई जवाफ यसरी दिए : केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुस्, म दिन्छु भनेको सुनियो । टिकट त बस पार्कमा बाँडेको बाँड्यै छन् त ।’

कार्यकर्ताको हाँसोबीच उनले थपे, ‘माधव नेपालले टिकट बाँड्न सक्नु हुन्छ । तर अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफैँ बन्नुहुन्न, अरुलाई के बनाउनु ?’

ओलीले फेरि नेपाललाई आग्रह गर्दै भने, ‘म उहाँहरुलाई फेरि भन्न चाहन्छु, पार्टीबाट यति उपद्रो गर्दा पनि निकालिएको छैन । आत्मालोचना गरेर फर्केर आउनुस् । आफ्नै पार्टी हो । आउनुस् तपाईंहरुलाई आफ्नै पार्टीका रुपमा व्यवहार गछौं ।’

‘व्यक्तिगत तवरमा माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गर्नुस् । मसँग पर्दैन । यता फर्केर पनि पर्दैन । उता फर्केर गर्नुस् । जनतातिर फक्रेर गर्नुस् । नेपालभरिका, देशभक्तहरुतर्फ फर्केर गर्नुस् आत्मालोचना ।

भिडियो हेर्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *