अबदेखि ब्रिटिस गोर्खा र सिंगापुर पुलिसको भर्ती पोखरादेखि – Nepal Press

अबदेखि ब्रिटिस गोर्खा र सिंगापुर पुलिसको भर्ती पोखरादेखि

काठमाडौँ । अबदेखि ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिष्ट्रेसन, क्षेत्रीय र केन्द्रीय छनौट पोखरामा हुने भएको छ । ब्रिटिस आर्मीको मुख्यालयले बेवसाइटमार्फत यस्तो जानकारी दिएको हो ।

यसअघि पूर्वको धरानबाट गर्ने गरिएको छनौट पनि पोखराबाटै गरिने भएको छ । आर्मीमा भर्ती हुने बढेपछि बेलायतले भर्ना प्रक्रियामा कडाइ गर्न थालेको छ । सूचनाअनुसार ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० जना छनोट गरिनेछ । ब्रिटिसतर्फ पहिलेभन्दा १ सय १० जनाको कोटा घटाइएको हो ।

अब भने नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्ने भएको छ । साथै, १२ पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर उचाल्नुपर्ने र दौडनुपर्ने दौड १ मिनेट ४६ सेकेन्डमा पुरा गर्नुपर्ने भउको छ ।

मेडिकल चेकअप गरिनुका साथै न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइका प्रतिस्पर्धी बडी मास इन्डेक्स (बीएमआई)का आधार छनोट हुन हुनेछन् । एसईईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ ।

भाग लिन इच्छुकले नागरिकता र पासपोर्ट, बाबु-आमाको नागरिकताका साथै गाउँ र नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस बुझाउनुपर्नेछ ।

नाम दर्ता गराउन आगामी जेठ १० देखि साउन १४ सम्मको समय तोकिएको छ । प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र दस दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ ।

भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ । यसै गरी २ मिनेट ३० सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो । अब दायाँ–बायाँ हातमा २०–२० किलोका जेरिक्यान बोकेर २ सय ४० मिटर दुरी दुई मिनेटमा पार गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *