मन्त्रिपरिषद बैठक : कुनै पनि क्षेत्र तत्काल बन्द नहुने, उप-प्रधानमन्त्रीले भाेलि देशबासीलाई अपील गर्ने – Nepal Press

मन्त्रिपरिषद बैठक : कुनै पनि क्षेत्र तत्काल बन्द नहुने, उप-प्रधानमन्त्रीले भाेलि देशबासीलाई अपील गर्ने

काठमाडौं । मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सोमबार साँझ बसेको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने भएको छ ।

उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट भाेलि मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपील गर्ने भएका छन् । साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उप-प्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्ने एक मन्त्रीले बताए । 

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलनसहितको छलफल मन्त्रिपरिषदमा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।

संक्रमणको परिस्थिति हेरेर सरकारले निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दवाव भए पनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

सोमबार मात्रै मुलुकमा ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ । विज्ञहरुले कोरोनाको दोस्रो लहर थप जोखिमपूर्ण हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार संक्रमित हुनेमा २४ जना १८ वर्षमुनिका बालकबालिका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर